

हजुरआमा पूजा कोठामा घन्टौं बिताउनु हुन्थ्यो। आमाले पनि त्यसै गर्नुभयो। हजुरआमा र मेरी आमाको जीवनमा खास परिवर्तन भएन। भगवानको भक्ती गर्दा ठूलै उपलब्धि हुनु पर्ने, तर केही भएन। जस्तो आउनु भएको थियो, त्यस्तै जानु भयो। सानो हुँदा शुरु-शुरुमा भगवान मानिस जस्तै हुनुहुन्छ जस्तो लाग्थ्यो। उमेर बढ्दै जाँदा भगवानप्रतिको धारणा फेरियो। मलाई भगवान कहाँ हुनुहुन्छ भन्ने प्रश्न संधैं आइरह्यो।
अहिले पनि अन्यौलमा छु। भगवान् हुनुहुन्छ या हुनुहुन्न ! अनि जीव पहिला कि भगवान पहिला? घोत्लिरहन्छु। यो विवाद पृथ्वी लोकमा सधै रहने नै देखियो। भगवानले मानिसको श्रृष्टि गरेका हुन् वा जीव कोषीय बिकासको परिणाम हो ? बुझाई फरक-फरक छन्। त्यसलाई आ-आफ्नै ढंगमा ब्याख्या विश्लेषण गरिएका छन्। मेरो दृष्टिकोण भने फरक छ।
बिज्ञानलाई आधार मान्ने हो भने, जीव (मानिस) पहिला र भगवान पछि हुन्। मानिसले नै भगवान बनाएको विज्ञानको दाबी छ। नत्र कोही हिन्दु, कोही बौद्ध, कोही मुस्लिम अनि कोही क्रिश्चियन किन हुन्थे ? सबै एउटै हुनुपर्ने होइन र ! धार्मिक दर्शन अनुसार विश्वास पनि फरक-फरक, भगवान पनि फरक-फरक ! त्यतिमात्र हैन, सन्तुष्टि लिने तरिका पनि फरक-फरक। कोही व्रत बस्ने, कोही पूजाआजा गर्ने, कोही प्रार्थना गर्ने, कोही ध्यान गर्ने….. जे होस्, भगवानको नामबाट सन्तुष्टि लिने तरिका जसले, जसरी बुझ्दा पनि मिल्ने रहेछ।
भगवान छन् भन्ने आम मानिसको बुझाइलाई म ‘हुँदैन/होइन’ भन्ने दृष्टता राख्दिन। तर पनि हालसम्म कसैले साक्षात्कार गरेको आधिकारिक पुष्टि गरेका छैनन्। त्यसैले भगवान भनेको विश्वास हो, भरोसा हो। यो तर्क मेरो हो। कसैको आस्था माथी प्रहार गर्नु मेरो लक्ष्य हुँदै होइन।
कुनै समय थियो, देशहरुले संविधान, कानुन र नियम बनाएका थिएनन्। शान्ति, सुब्यवस्था कायम गर्न प्रहरी-प्रशासन थिएनन्। राज्य अनि समाज धर्म अनुसार चल्नु पर्ने थियो। समाजमा बेतिथी र बिकृती रोक्नु पर्ने थियो। त्यो रोक्ने माध्यम भगवानलाई मानियो र विश्वास पनि गरियो।
पाप-पूण्य, स्वर्ग-नर्क भन्ने कुरा त्यही समयबाट बिकास भएको हुनुपर्छ। अपराध र बेथिति नियन्त्रण गर्ने अरु उपाय थिएनन्। एक मात्र उपाय अदृश्य शक्ति भगवानलाई पालनकर्ता र संहारकर्ता मानियो। त्यसबेलाको परिस्थिति मान्दा, यदि आम मानिसलाई भगवान छैन भन्ने लागेमा दुनियाँमा अपराध र बेथिति बढ्ने निश्चित थियो। त्यसैले भगवान सुब्यवस्था मिलाउने र सन्तुलन गर्ने माध्यम बने। मैले भगवानलाई यसरी नै बुझें।
वास्तवमा भगवान कहाँ छन्, कस्तो स्वरुपमा छन्, भगवानसग साक्षात्कार अहिलेसम्म कसले कसले गरेको छ, भगवानले कसैलाई काखा र कसैलाई पाखा गर्छन् नाई, भगवानले आफ्नो भक्ती गर्नेलाई मात्र फल दिन्छन् कि अरुलाई पनि, भगवान मानिसका लागि मात्र होकि अन्य प्राणीका लागि पनि ? यी तमाम प्रश्नको जवाफ हालसम्म कसैले दिन सकेका छैनन्। त्यसकारण भगवान/इश्वर भनेको विश्वास र भरोसा मात्र हो। आत्मा शुद्धि गर्ने प्रक्रिया हो। दुनियाँमा विश्वास र भरोसा नै सबैभन्दा ठूलो शक्ति हो। भनिन्छ- संसार टिकेको नै विश्वास र भरोसाले हो।
-बिदुर दाहाल