

काठमाडौं । ‘नेपाल–चीन बौद्ध संस्कृति र कला’ विषयक अन्तराष्ट्रिय सेमिनारको उद्घाटन गर्न लुम्बिनी पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बहिष्करणमा परेका छन्। प्रदेशका मन्त्री र सांसदहरूले ओलीलाई बहिष्कार गरेका हुन्।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिबल र सेमिनारको उद्घाटन कार्यक्रम बहिष्कार गरेका हुन्।
कार्यक्रममा आफूहरुलाई बस्ने व्यवस्थासमेत नगरी अपमानजनक व्यवहार भएकाले भन्दै मन्त्री ढकाल र आफूले कार्यक्रम बहिष्कार गरेको सांसद गुप्ताले बताए।
लुम्बिनीकै स्थानीय बासिन्दा सांसद गुप्ता जनमत पार्टीका हुन्। उनी पूर्वसामाजिक विकास मन्त्रीसमेत हुन्।
एमाले नेता समेत रहेका मन्त्री ढकालले बहिष्कार भन्दा पनि प्रदेशका मन्त्री र सांसदलाई बस्ने ठाउँ समेत व्यवस्था नभएको देखेपछि उभिएर बस्न सम्भव नदेखेर कार्यक्रम स्थलबाट हिँडेको प्रतिक्रिया दिए।
सांसद गुप्ताले भने संघीय सरकार मातहत रहेकाले लुम्बिनी विकास कोषले प्रदेशका मन्त्री, सांसद र स्थानीयलाई बारम्बार उपेक्षा गर्ने गरेको बताए।
‘लुम्बिनीका स्थानीयले आफ्नो जग्गा दिएर संरक्षण गरेर विकास कोष बनेको हो, यति धेरै संरचना बनेका हुन् तर कोषले स्थानीयलाई न अपनत्व दिलाएको छ न सम्मान दिएको छ’, ‘ गुप्ताले भने अब हामी स्थानीयको सहयोगमा आफ्नो अधिकार स्थापित गर्न लाग्छौं।’
लुम्बिनी बचाउ संघर्ष समितिका रामविकास चौधरीले कोषको व्यवहारबाट स्थानीय सन्तुष्ट नभएको र कोषलाई प्रदेश सरकार मातहत ल्याई पदाधिकारी स्थानीय हुनुपर्ने माग विगत देखि राख्दै आएको बताए।
वैशाख १३ र १४ गते हुने यो कार्यक्रम नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि आयोजना गरिएको हो।