सुरक्षाको पक्षमा स्टाटस लेखेपछि ॠचालाई राजावादीको अश्लील गाली, सार्वजनिक गरिन् स्क्रिनशट-Sutra News

सुरक्षाको पक्षमा स्टाटस लेखेपछि ॠचालाई राजावादीको अश्लील गाली, सार्वजनिक गरिन् स्क्रिनशट

शनिबार, १३ बैशाख २०८२

शनिबार, १३ बैशाख २०८२

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको अभिव्यक्तिमा ऐक्यबद्धता जनाएपछि अर्की अभिनेत्री ऋचा शर्माले आलोचना भइरहेको छ। गणतन्त्रको पक्षमा बोल्ड अभिव्यक्ति दिएकी सुरक्षामा अभिव्यक्तिमा समर्थन गरेपछि ॠचालाई राजावादीहरूले आलोचना गरेका हुन्।



केही दिनअघि एक टेलिभिजन अन्तवार्तामा सुरक्षाले पूर्वराजपरिवारको विषयमा दिएको अभिव्यक्तिका विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको छ। राजावादीहरूले उनको फिल्मलाई बहिष्कार गर्ने सम्मको चेतावनी दिएका छन् भने उनका समर्थकले सुरक्षाको तारिफ गरिरहेका छन्।

त्यही विषयमा सामाजिक सञ्जालमार्फत ऋचाले लेखेकी छिन्, ‘आजभोलि केही मानिसहरूलाई लागिरहेको छ कि तिमीले जे भन्यौ, त्यो सधैँ उनीहरूको पक्षमा हुनुपर्छ। तर म तिमीलाई सम्झाउन चाहन्छु तिमीले आफ्नो विचार राख्नु, प्रश्न उठाउनु, असहमति जनाउनु एकदम ठीक कुरा हो। तिमी आफ्नो आवाज हो, अरूको प्रतिध्वनि होइनौ।’

कसैलाई मन नपर्ने कुरा भन्नु गलत कुरा नहुने भन्दै ऋचाले थपेकी छिन्, ‘जो तिमीलाई सधैँ आफूअनुकूल बोलोस् भन्ने सोच्छन, उनीहरूलाई बुझ्न जरुरी छ, विचार राख्नु अभिमान होइन, चेतनाको संकेत हो ।’

त्यसपछि राजावादीले ॠचालाई पनि अश्लील गाली गैरहेका छन्। यसैमध्येको एक गाली ॠचाले फेसबुकमार्फत् शेयर गरेकी छन्। उनको नाम हो- बाबुराम धिताल।

बाबुराम धिताल नामका ती फेसबुक प्रयोगकर्ताले मेसेजमा अत्यन्तै आपत्तिजनक र तुच्छ शब्दहरू प्रयोग गर्दै गालीगलौज गरेको पाइएको छ। शर्माले सार्वजनिक गरेको स्क्रिनशटमा उनलाई व्यक्तिगत रूपमा मात्र नभई समग्र अभिनय क्षेत्रलाई नै लक्षित गरी निकृष्ट भाषा प्रयोग गरिएको देखिन्छ।

त्यसपछि शर्माले अभद्र गालीसहितको उक्त स्क्रिनशट आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेकी छन्। उनले क्याप्सनमा ‘बाबुराम धिताल, यो तिम्रो परिवार, तिम्रो छोरी, आमा र तिम्री श्रीमतीलाई’ भन्दै गहिरो कटाक्ष गरेकी छिन्।

शर्माको पोस्टमा धेरैले उनलाई साइबर ब्युरोमा उजुरी दिन सुझाव दिएका छन्। त्यस्तै, कतिपयले सामाजिक सञ्जालमा अभद्र व्यवहार गर्नेहरूलाई सार्वजनिक गर्नु जरुरी रहेको टिप्पणी गरेका छन्। यो घटनाले सामाजिक सञ्जालमा हुने अभिव्यक्ति स्वतन्त्रताको बहस र अनलाइन दुर्व्यवहारको मुद्दालाई फेरि सतहमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार