

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई विद्यालय शिक्षा विधेयकमा आफैँले राखेको संशोधन पल्टाएर अध्ययन गर्न सुझाव दिएका छन् ।
शिक्षकहरू विद्यालय शिक्षा ऐन माग गर्दै आन्दोलनरत छन् । शिक्षकहरूको माग सम्बोधन गर्नुपर्ने अवस्थामा पुगेका मन्त्री पन्तलाई शर्माले सांसद हुँदा विधेयकमाथि राखिएको आफ्नै संशोधनहरू पढ्न आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘अहिले शिक्षामन्त्री बन्नुभएका रघुजी पन्तले सांसद हुँदा शिक्षा विधेयकमाथि जे संशोधन हाल्नुभएको थियो, त्यही पल्टाएर पढ्न आग्रह गर्छु । मन्त्री भएको भन्दैमा संशोधनको मर्म त फेरिएको छैन नि।’
शर्माका अनुसार, पन्तले सांसदको हैसियतमा विधेयकमाथि राखेका संशोधनहरू अहिले शिक्षकहरूले उठाएका मुद्दाहरू सुल्झाउन पर्याप्त छन्।
शर्मासहित कांग्रेसका अर्का महामन्त्री गगन थापाले पनि शनिवार नेपाल शिक्षक महासङ्घका नेताहरूसँग संवाद गरेका थिए । संवादका क्रममा दुवै पक्ष सरकार र शिक्षक महासङ्घले केही सहमति गर्नुपर्ने प्रस्ताव अगाडि सारेका थिए ।
काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरू चैत २० गतेदेखि आफ्ना माग पूरा नभएसम्म विद्यालय नफर्कने अडानमा छन् । नयाँ शैक्षिक सत्र सुरु भइसके पनि आन्दोलन जारी रहेकाले सर्वोच्च अदालतले समेत सरकारलाई विद्यालय फर्कने वातावरण बनाउन आदेश दिएको छ ।