

काठमाडौं । जब कांग्रेस सभापति शेरबहादुर देउवा उपचार गर्न भन्दै थाइल्यान्ड लागे, तब नेपालमा सत्ता राजनीति निकै तात्तियो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले दिन गन्न थाल्दा सत्तारुढ कांग्रेसभित्र पनि एकपछि अर्को गरी शीर्ष तहका नेताहरूबिच भेटवार्ता र छलफल बाक्लिए ।
जसमा सत्ता संयन्त्रभित्रकै नेताहरूले दिएको अभिव्यक्ति पनि असामान्य खालको बन्यो । संयन्त्रका सदस्यसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर कार्की र महामन्त्री गगन थापाले सरकार सहज अवस्थामा नभएको अभिव्यक्ति दिएका थिए ।
वैशाख ६ मा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएसँगै सत्ता संकटबारे थप चर्चा चुलियो । जसमा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को वैशाख १० को बर्खास्तीले विवाद बढाउन भरथेग गर्यो ।
हुन पनि शिक्षक आन्दोलन उचाइमा हुँदै गर्दा शिक्षामन्त्रीबाट भट्टराईले राजीनामा दिएकी थिइन् भने सत्ता साझेदारका बिचमा समस्या चुलिएको चर्चाका बिच कांग्रेसको तर्फबाट ऊर्जा राज्यमन्त्री बनेका तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए ।
समग्र घटनाका बिच देउवा भने बैंककमा थिए ।
देउवा ६ दिनपछि शुक्रवार काठमाडौं फर्किए । उनले विमानस्थलबाटै सञ्चारकर्मीहरूमार्फत ‘सत्ता गठबन्धन तलमाथि नहुने’ अभिव्यक्ति दिए । सोअघि पनि देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन संवादमार्फत सरकारबारे आश्वस्त पारेको पनि निकटस्थ नेताहरू बताउँछन् ।
शुक्रवार काठमाडौं ओर्लिएका देउवाले शनिवार ओलीलाई भेटेका छन् । शनिवार साँझको छलफलसँगै सत्ताभित्र देखिएको समस्याहरू तत्काललाई सुल्झिएको प्रतिक्रिया नेताहरूले दिएका छन् ।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विवादित विषयमा सहमति बनेको नेताहरूको दाबी छ । छलफलमा सहभागी अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएअनुसार दुवै नेता गठबन्धनलाई अगाडि बढाउने विषयमा स्पष्ट छन् ।
“बाहिर आएका हल्लामा सत्यता छैन, गठबन्धनलाई नै बलियो गरी अगाडि बढाउने विषयमा दुवै नेता सहमत हुनुहुन्छ”, बैठकबारे सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै पौडेलले भनेका छन् ।
२ घण्टा जति चलेको छलफलमा विशेषगरी शिक्षकहरूको आन्दोलन, गभर्नर नियुक्तिलगायतका विषयमा मोटामोटी सहमति बनेको बताइएको छ ।
विशेषगरी गठबन्धनभित्र पेचिलो बनेको गभर्नर नियुक्तिमा पूर्वसहमतिअनुसार प्रक्रिया अघि बढ्नेछ । जसमा एक साताको समय सीमा तोकिएको नेताहरूले बताएका छन् ।
असन्तुष्टि भने कायमै
शीर्ष तहमा सहमति जुट्दै गर्दा कांग्रेसभित्र असन्तुष्टि भने कायमै देखिएको छ । शनिवारको सहमति पछि पनि नेताहरूले गठबन्धन सरकारबारे असन्तुष्टि पोखेका छन् ।
आइतबार दाङ पुगेका कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले प्रधानमन्त्रीकै कार्यशैली उचित नभएको भन्दै गुनासो गरे । शिक्षक आन्दोलनलाई सम्बोधन गर्न र केन्द्रीय बैंकलाई समयमै नेतृत्व दिन ओलीले नसकेको धारणा महतको छ ।
“ठूला दल मिल्दैमा देश बनिहाल्छ भन्ने हुँदैन, अहिले मिल्दा पनि धेरै कुरा हुन सकिरहेको छैन, सामान्य कुरामा अल्झिने अवस्था बनिरहेको छ”, महतले भनेका छन् ।
महतलाई देउवा निकटस्थ नेताको रूपमा चिनिन्छ । यद्यपि, सहमति भएको भनिए लगत्तै उनले किन असन्तुष्टि पोखे ? प्रश्न देखिन्छ ।
यसअघि असन्तुष्टि प्रकट गरिरहेका कतिपय नेताहरूले पनि सरकारबारे धारणा बदलेका छैनन् । जसलाई हेर्दा, गठबन्धनभित्रको विवाद सामान्य भइसकेको मान्न सकिन्न ।