शिक्षक-प्रहरी झडप : पत्रकारसहित २७ घाइते, आन्दोलनलाई थप सशक्त बनाउने महासंघको चेतावनी-Sutra News

शिक्षक-प्रहरी झडप : पत्रकारसहित २७ घाइते, आन्दोलनलाई थप सशक्त बनाउने महासंघको चेतावनी

आइतबार, १४ बैशाख २०८२

आइतबार, १४ बैशाख २०८२

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपमा कम्तीमा २७ जना शिक्षक र विद्यालय कर्मचारी घाइते भएका छन्। प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेपछि २६ दिनदेखि जारी शान्तिपूर्ण आन्दोलन तनावग्रस्त बनेको हो।



नेपाल शिक्षक महासंघका उपमहासचिव रामप्रसाद ढकालले प्रहरीले नियोजित रूपमा आन्दोलनमाथि आक्रमण गरेको आरोप लगाए। “साढे १२ बजे प्रहरीले एकाएक लाठी र पानीको फोहोरा प्रहार गर्‍यो। हालसम्म २७ जना शिक्षक घाइते भएका छन्,” उनले भने।

उनका अनुसार घाइतेमध्ये दरबार हाइस्कूलका प्रिन्सिपल पदम बर्तेला पनि छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइतेहरूको सिभिल अस्पताल, एभरेस्ट अस्पताल, ट्रमा सेन्टर र तिलगंगा आँखा अस्पतालमा उपचार जारी छ। केहीको अवस्था गम्भीर रहेको महासंघले जनाएको छ।

झडपमा प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की पनि घाइते भएकी छन्। उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ। काठमाडौं उपत्यका प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहोराले २० जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिए।

महासंघका अनुसार, बानेश्वरको निषेधित क्षेत्रभन्दा अगाडि भाषण मञ्च बनाइएको थियो। भीडलाई संयमित राख्न स्वयंसेवक परिचालन गरिएको थियो। तर, स्वयंसेवक पदम पटेलामाथि प्रहरीले कुटपिट गरेको र उनको आँखामा गहिरो चोट लाग्यो।

सोही क्रममा हेलमेटधारी केही व्यक्तिले प्रहरीमाथि ढुंगा प्रहार गरेको तर ती व्यक्ति शिक्षक नभएको महासंघको दाबी छ। “आन्दोलनलाई भड्काउन घुसपैठ पठाइयो,” ढकालले भने।

महासंघले शनिबार शिक्षामन्त्रीसँग भएको छलफलमा सात बुँदे सहमति हुने संकेत देखिए पनि बजेटले माग सम्बोधन नगर्ने देखिएको जनाएको छ। “राज्यले शान्तिपूर्ण आन्दोलनलाई दमन गरेर कमजोर बनाउन खोजेको छ,” ढकालले भने।

महासंघले आन्दोलनमा घुसपैठ भएको निष्कर्ष निकाल्दै थप सशक्त बनाउने चेतावनी दिएको छ। “सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन रोकिँदैन,” ढकालले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार