

‘गुरु ब्रह्मा, गुरुर्विष्णु, गुरुर्देवो महेश्वर : गुरुः साक्षात परब्रह्म तस्मैः श्री गुरुवेः नमः’ अर्थात् गुरु नै ब्रम्हा हुन्, गुरु नै विष्णु हुन् र गुरु नै भगवान शंकर हुन्, गुरु नै साक्षात परब्रम्हा हुन्, यस्ता गुरुलाई प्रणाम गर्दछु ।
गुरु अर्थात् शिक्षकको महिमा अपार छ । जसलाई कुनै शब्दमा वर्णन गर्न सकिँदैन । शास्त्रमा ‘गु’को अर्थ अन्धकार या मूल अज्ञान र ‘रु’को अर्थ त्यसको निरोधक भएको कुरा उल्लेख छ । जसको समग्रतामा अर्थ अन्धकारबाट प्रकाशतर्फ लैजाने, अज्ञानतालाई हटाएर ज्ञानको मार्ग देखाउने सम्मानित दर्जालाई लिइएको छ ।
तर, यति सम्मानित क्षेत्रलाई आज हाम्रो मुलुकमा भने निकै अपमानित हुनुपर्ने अवस्था छ । समाजलाई उज्यालोतर्फ डोर्याउने शिक्षकहरू झन्डै महिना दिनदेखि सडकमा छन् । आत्मसम्मान हुने परिपाटी मिलाउन माग गर्दै शिक्षकहरूले सरकारविरुद्ध शालीन प्रदर्शन गरिरहेका छन् । शिक्षकको पदीय जिम्मेवारी बुझाउने ऐन–कानुन खोजेका छन् ।
तर, यसरी आत्मसम्मान खोजेका गुरुहरूमाथि सरकारले भने लाठी बर्साएको छ । पानीको फोहोरा हानेको छ । अन्य राजनीतिक स्वार्थ प्रेरित आन्दोलनकारीलाई जस्तै सरकारले अपमान र दमन गरेको छ । सरकारलाई झकझकाउने गरी थालिएको आन्दोलनको २६औँ दिन दर्जनौँ शिक्षकहरू प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन् ।
हुन त शिक्षकप्रति सरकार कहिल्यै उदार देखिएनन् । आन्दोलनको पछिल्लो चरणसम्म आइपुग्दा पनि सरकारले निरन्तर बेवास्ता गरिरह्यो । योबिचमा शिक्षकको मागमा सहमति जुटाउन कसरत गरेकी स्वयं शिक्षामन्त्री विद्या भट्टराई पनि पदबाट बाहिरिन बाध्य भइन् । उनले शिक्षकहरूको मागलाई सम्बोधन गर्ने गरी ७ बुँदे प्रस्ताव तयार गरेकी थिइन् । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओली उनको प्रस्तावमाथि छलफल थाल्नुभन्दा उनकै विकल्प खोज्नतर्फ देखिए । जसका बिच नैतिकता देखाउँदै भट्टराई जिम्मेवारीबाट बाहिरिइन् ।
भट्टराई बाहिरिएको पनि एक साता बितेको छ । योबिचमा शिक्षामन्त्रीको जिम्मेवारीमा पाका पुराना नेता रघुजी पन्त आएका छन् । तर, उनले सुरुवातीदेखि नै शिक्षकका मागलाई सम्बोधन होइन, अपमानित गर्दै आन्दोलनलाई तुहाउने शैली अपनाएका छन् । शुक्रवार वार्तामा बोलाउनु र वार्तामा बस्नेको नाम मनमौजी बनाएर वार्ता टोलीलाई नै अपमानित गर्दै पठाउनुले नै उनको सुरुवाती रवैया स्पष्ट पार्छ । जसमा आइतबारको घटनाले उनी कसरी अगाडि बढ्दैछन्, भन्ने देखाउँछ ।
प्रधानमन्त्री उखानमा महारथ हासिल गरेका व्यक्ति हुनुहुन्छ । यदि उहाँले ‘झिँगाको सरापले डिँगो मर्दैन’ भन्दै एकोहोरो शैली अपनाउनु भएको छ भने यो निकै प्रत्युत्पादक बन्न सक्छ । प्रधानमन्त्रीले बुझ्नुपर्छ, उहाँ एमालेको मात्रै होइन, यो देशकै अभिभावक हो । अभिभावकीय भूमिका के हो ? आमलाई गर्ने उहाँको व्यवहार के हो ? उहाँ जानकार हुन आवश्यक देखिन्छ ।
अहिले सडकमा शिक्षकहरू मात्रै छैनन्, विद्यार्थीहरू पढ्न नपाएर अलपत्र छन् । महिनौँदेखि शैक्षिक गतिविधि बन्द हुँदा विद्यार्थीकै भविष्य के हुने अन्योल छ । यस्तोमा समग्र शैक्षिक गतिविधि नै ठप्प पार्दै भइरहेको आन्दोलनलाई तमासा देख्ने र आनन्द मान्ने प्रवृत्ति बदल्नुपर्छ । नत्र, यसको राजनीतिक मूल्य पनि असामान्य हुन सक्न भन्ने चेत प्रधानमन्त्रीमा हुनुपर्छ ।