

पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
यसैगरी दुई जना घाइते भएका छन् । गएराति लु१ज २३७७ नम्बरको जिप पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा–१ सिद्धेश्वका ३६ वर्षे दीपेन्द्र बुढा, ३१ वर्षे चेतनारायण विक र २३ वर्षे जनक रेगामी छन् ।
दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएकोमा तीन जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घाइते भएका जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको अहिले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप सडकबाट २०० मिटर तल खसेको थियो ।