

काठमाडौं । शिक्षक आन्दोलनमाथि दमन गरिएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले शिक्षक आन्दोलनमाथि दमन गरिएको भन्दै सरकारप्रति खेद व्यक्त गरेको छ । बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारको रवैया आन्दोलनलाई सम्बोधन नभई भड्काउने खालको भएको बताए । उनले शिक्षकका मागलाई तत्काल सम्बोधन गर्न माग गरे ।
“शान्तिपूर्ण शिक्षकको आन्दोलनमा दमन गरियो, दर्जनौँलाई घाइते बनाइयो, यो अवस्था किन बनाइएको छ ? यो खेदयुक्त कुरा हो”, शर्माले भनेका छन्, “शिक्षकको माग जायज छन्, तत्काल सम्बोधन गरियोस् ।”
सरकारसँग सहमति पालना गर्न शर्माको माग छ । “संविधान निर्माणसँगै नयाँ ऐन बनाएर शिक्षालाई नयाँ गति दिनुपर्थ्यो । तर, हामीले त्यसो गर्न सकेनौँ । शिक्षकहरू नै समयानुकूल ऐन देऊ भनेर सडकमा आइरहेको सन्दर्भमा हामी सुन्न खोजेनौँ । ३÷३ वटा सरकारसँग सहमति हुँदा पनि ऐन नल्याउनु यो दुःखद छ”, उनले भनेका छन् ।
बैठकमा सम्बोधन गर्दै रास्वपाकी सांसद सुमना श्रेष्ठले शिक्षकको आन्दोलनप्रति सरकारले देखाएको रवैया निकै नसुहाउँदो भएको टिप्पणी गरिन् । “लोकतन्त्रको सुन्दर पक्ष भनेको नागरिकले आफ्नो अभिमत स्वतन्त्ररुपले व्यक्त गर्न पाउनु हो, तर सरकारको शैली हेर्दा अधिनायकवादतर्फ हिँडिरहेको जस्तो देखिन्छ”, उनले भनेकी छिन्, “यो आपत्तिजनक छ, शिक्षकका जायज माग सम्बोधन गरी उहाँहरूलाई घर फिर्ता गरियोस् ।”
उनले शिक्षकलाई पनि दलीय आबद्धता त्यागेर साँच्चिकै शिक्षक हुन आग्रह गरेकी छिन् ।
बैठकमा बोल्दै रास्वपाकी सांसद रोशन कार्कीले सरकार फेरि दमनमा उत्रिएको भन्दै विरोध जनाइन् । शिक्षकको आन्दोलनमा सरकारबाटै घुसपैठ गराइएको उनको आरोप छ ।
“सरकार फेरि दमनमा उत्रिएको छ । शिक्षक आन्दोलनमा आफैं घुसपैठ गराएर लाठी चार्ज र पानीको फोहोरा बर्साएको छ । दर्जनौँ शिक्षकलाई घाइते बनाएको छ । यो सरकारले के चाहेको हो ?”, उनको प्रश्न छ ।
बैठकमा बोल्दै सत्तारुढ नेकपा (एमाले)का सांसद सूर्य थापाले समेत शिक्षक आन्दोलनमा सरकारले बल प्रयोग गर्नु उचित नभएको बताए । तत्कालै शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गर्ने वातावरण मिलाउन उनको माग छ ।
“शिक्षक आन्दोलनमा हिजो भएको घटनाप्रति दुःख व्यक्त गर्न चाहन्छु, यस्तो हुनुनपर्ने हो, प्रहरी पनि राष्ट्रसेवक हुन्, शिक्षक पनि राष्ट्रसेवक हुन्। राष्ट्रसेवकमाथि आन्दोलनका नाममा गरिने व्यवहार होस् या जेसुकै होस्, यस्तो गर्नु दुःखद हो। यस्तो गर्नु उचित होइन”, बैठकलाई सम्बोधनका क्रममा उनले भनेका छन्, “शिक्षकहरूलाई संयमित भएर आफ्नो घोषित आन्दोलन अनुसारलाई नै सरकार, संसद्, समाज र देशको जुन ध्यानाकर्षण गराइराख्नु भएकोछ, त्यो प्रक्रियालाई नै अगाडि बढाउन आग्रह गर्न चाहन्छु।”
२७ दिनदेखि शिक्षकहरु शान्तिपूर्ण आन्दोलनमा छन् । आन्दोलनको २६औं दिन आइतबार शिक्षकहरुमाथि प्रहरीले बल प्रयोग गरेको थियो । जुन घटनामा दर्जनौं शिक्षक घाइते भएका छन् ।