

काठमाडौं । पछिल्लो समय राजवादीहरुले अभिनेत्री सुरक्षा पन्तको फिल्म बहिष्कार गर्ने भनेर अभियानै चलाइरहँदा अभिनेता तथा निर्माता दीपकराज गिरीले दिक्दारी प्रकट गरेका छन्।
बहिष्कार नेपाली समाजको परम्परा बन्दै गइरहेको भन्दै उनले यसले समाजलाई विस्तारै असहिष्णुतातर्फ धकेल्ने बताए। सुरक्षाको पक्षमा उभिरहँदा उनले दशैंताका आफैँले बनाएको फिल्म ‘छक्का पञ्जा’ सिरिज र केही समयअघि केपी शर्मा ओलीको आलोचना गर्दा प्रकाश सपूतको फिल्म ‘वसन्त’ बहिष्कार भएको घटना समेत स्मरण गरेका छन्।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘दशैंमा हाम्रो फिल्म चल्दा सामाजिक सञ्जालमा यसको फिल्म नहेरौँ भन्दै बहिष्कारको नारा गुन्जिएको सम्झन्छु। बहिष्कारको बहाना फरक-फरक भए पनि त्यो नारा विस्तारै प्रकाश सपूत हुँदै सुरक्षा पन्तसम्म आइपुग्यो।’
कलाकारहरू मात्र नभएर अहिले एकले अर्काको अस्तित्व नै स्वीकार्न नसकेर बहिष्कार गरिरहेको उनले बताए।
‘कसैले कसैको तारिफ गरे बहिष्कार, कसैले तारिफ गरेन बहिष्कार! बहिष्कारै बहिष्कार! हामी कलाकार त बहाना मात्रै हौ! बास्तवमा अहिले राजावादीले गणतन्त्रवादी बहिष्कार! गणतन्त्रवादीले राजावादी बहिष्कार! यो विचार राख्नेले त्यो विचार राख्नेलाई बहिष्कार! यो समूहले त्यो समूह बहिष्कार। एकले अर्काको अस्तित्व नै बहिष्कार! बहिष्कार त हाम्रो परम्परा नै बन्दै गइरहेको छ! बिस्तारै बिस्तारै असहिष्णुतातिर बढ्दै छ कि हाम्रो समाज?’, उनले प्रश्न गरेका छन्।