१४ वर्षीय बालकलाई टिकटक बनाउन भन्दै बोलाए, खोलामा लगेर गोली हानी हत्या गरे-Sutra News

१४ वर्षीय बालकलाई टिकटक बनाउन भन्दै बोलाए, खोलामा लगेर गोली हानी हत्या गरे

सोमबार, १५ बैशाख २०८२

सोमबार, १५ बैशाख २०८२

काठमाडौं । रौतहटमा १४ वर्षीय बालकको गोली हानेर हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्।



वृन्दावन नगरपालिका-७ का १४ वर्षीय कृष्णप्रसाद यादवको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २५ वर्षीय नागेन्द्र सहनी, २२ वर्षीय साधु भन्ने नागेन्द्र सहनी, गौर नगरपालिका-४ का विकास पटेल र वडा नम्बर ८का अनिल साह छन्।

नागेन्द्र सहनी यस घटनाका मुख्य अभियुक्त हुन्। साधु भन्ने यसमा सहायक भूमिका खेल्ने व्यक्ति हुन्।

विकासले मृतकको मोटरसाइकल पाँच हजारमा किनेका थिए। अनिल साह भने ग्यारेज पसल भएका व्यक्ति हुन्।

वैशाख ६ गते घरबाट निस्किएका कृष्णप्रसाद केही दिनसम्म पनि घर नफर्किएपछि परिवार इलाका प्रहरी कार्यालय गरूडा पुगेर निवेदन दिएका थिए।

खोजीकै क्रममा गरूडा नगरपालिका-८ स्थित चाँदी खोलामा वैशाख ११ गते शव फेला परेको थियो। छाती र पेटमा गोली लागेको, सडिगलेको र बिभत्स शव फेला परेको थियो।

शव फेला परेको खबरपछि अनुसन्धानको क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको कार्यालय प्रमुख एवं एसपी दिलीप घिमिरेले जानकारी दिए।

एसपी घिमिरेका अनुसार कृष्णप्रसाद र नागेन्द्र सहनीको परिवारबीच पुरानो रिसिइबी थियो।

वैशाख ६ गते टिकटक बनाउने भनेर नागेन्द्र र साधुले कृष्णप्रसादलाई फोन गरेर बोलाएका थिए। उनले चाँदी खोलामा जाने भनेर बोलाएका थिए।

मोटरसाइकल चलाएर आउँदै गरेका कृष्णप्रसादलाई रोकेर उनीहरूले नियन्त्रणमा लिएको एसपी घिमिरेले बताए।

‘कृष्णप्रसादलाई रोकेर नियन्त्रणमा लिए। मोबाइल पनि खोसे। त्यसपछि मोटरसाइकलमा तीन जना बसेर चाँदी खोलामा गएका थिए,’ उनले भने।

घटनास्थल पुगेपछि साधुले कृष्णप्रसादलाई धकेलेर लडाएका थिए। नागेन्द्रले भने उनको छातीमा दुई राउण्ड गोली हानेर हत्या गरेका थिए।

उनीहरूमाथि कर्तव्य ज्यान कसुर मुद्दामा सात दिन म्याद थपेर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार