

हामी सबैले बुझेको यही हो कि देश भनेको मातृभूमिको सार्वभौम अस्तित्व हो । जबसम्म देश छ तबसम्म किल्ला र सीमाभित्र हामी छौँ, सुरक्षित छौँ । जुन दिन देश हुँदैन अनि हामी हुँदैनौ, हुन्छ त केवल हाम्रो भौतिक अस्तित्व मात्रै, त्यो पनि कोही कसैको दासताबाट नियन्त्रित ।
देशको महिमा र महत्व भगवान् रामले पनि गाएका थिए ‘जननी जन्मभुमिश्चः स्वर्गादपी गरियसी’ । देशलाई र जन्मदिने आमालाई हामीले सर्वोच्च स्थानमा राखेका छौँ किनभने देश बिना जनता हुँदैनन् र आमा बिना सन्तान हुँदैनन् । स्वर्ग चाहिन्न बरु देश चाहिन्छ र आमा चाहिन्छ । संसारका महान् कविहरूले देश र आमाको बारेमा जति पनि सिर्जना गरेका छन्, तिनै सिर्जनाहरू आज महान् रचना बनेका छन् ।
महान् सर्जकहरूले कि देशको बारेमा लेखे कि युद्धको बारेमा लेखे कि प्रेमिकाको बारेमा लेखे । विश्वकवि होमरका सिर्जना इलियड र ओडिसि हुन् वा पूर्वीय कवि वाल्मीकिकृत रामायण हुन वा बेदब्यासकृत महाभारत हुन्, तिनले माटो युद्ध र प्रेमकै बारेमा लेखे र अमर बने ।
मानिस कि आमाको नियन्त्रणमा हुन्छ कि देशको नियन्त्रणमा हुन्छ कि वा युद्धकै त्रासदीमा हुन्छ । योभन्दा परको अस्तित्वको बारेमा त्यति चर्चा नै हुँदैन । अमेरिकी नेपाली हुन् वा बर्मेली नेपाली हुन् वा कालिङ्पोङ्गदेखि ब्रह्म पुत्रको आसपास छरिएका नेपाली हुन्, तिनको सम्झनामा सधैँ नेपालभूमी हुन्छ । तिनको हृदयभित्र नेपाल गुन्जिरहन्छ ।
जिन्दगीको लयमा हामी सबैले देशको गीत गाइरहेका छौँ । देश त भुल्दैनन् कसैले पनि जसरी आमालाई भुल्दैनन् ती सन्ततिले । जसै आमा बिनाको घर सुनसान रहन्छ, जसै देश बिनाको जिन्दगी बाँचिरहेका विश्वका करोडौँ शरणार्थीहरूको मातृत्व भोकको बारेमा हामी अनुमान लगाउन सक्छौँ ।
हिजोको दिनमा सिरियाबाट आफ्नो भूमि छोडेर निस्कन बाध्य सिरियाली नागरिक हुन् वा भेनेजुएलाबाट अन्यत्र देशमा शरण पर्न गएका भेनेजुयली नागरिक हुन्, तिनका छातीमा लागेको देशको घाउको पीडा कति दर्दनाक थियो होला ! अहिले भइरहेको युक्रेन र रसियाबिचको युद्धमा हजारौँ युक्रेनीहरू युरोप र अमेरिकाको शरणार्थी बनिरहेका छन् । भुटानका हजारौँ नेपाली भाषीलाई भुटानले देश निकाला गरेको थियो र ती भाषा मिलेकै भरमा नेपालको शरण पर्न आएका थिए । अहिले पाकिस्तान र भारतबिच पनि सम्बन्ध चिसिँदै गएको छ । संसारमा आतंकवादले फेरि मुन्टो उठाउँदै छ ।
राजनीति गर्ने नेताहरूको सन्काहा प्रवृत्तिले जब निर्दोष नागरिकहरूले देश गुमाउनु पर्ने अवस्था आउँछ, त्यो विक्षिप्त अवस्था कस्तो भयंयर हुन्छ, त्यसको कल्पनासम्म पनि गर्न सक्दैनौ हामी । केवल राजनीतिक प्रतिशोध र नेताहरूको जुँगाको लडाइँका कारण एउटा मुलुकका निर्दोष जनता अनाहकमा बरबाद हुन्छन् । लठैत र विवेकहीन नेताका पागलपन र पावरका घमन्डका कारण अनाहकमा जनता अर्काको देशमा शरणार्थी भएर, जीवनको भिख मागिरहेको उदाहरण आज दिनानुदिन बढिरहेको छ ।
विवेकहीन नेताहरूको छातीमा देश हुँदैन, देश रुँदैन, देश दुख्दैन । उनीहरू देशसँग होइन, सत्ता प्राप्तिसँग मात्रै केन्द्रित हुन्छन् । अहिले नेपालको राजनीतिको केन्द्रमा रहेका अधिकांश नेताहरूलाई नियाल्दा, यस्तै बिम्ब कोरिन्छ ।
नेपालको राजनीति यति धमिलिएको छ कि केवल एक जना प्रधानमन्त्रीले मुलुक नै अन्धकार बनाउँदै छन् । एकातिर शिक्षक आन्दोलन चर्किँदै गएको छ, अर्कोतिर पेसाकर्मी डाक्टरहरू आन्दोलित छन् । अर्कोतर्फ विपक्षी पार्टीहरू क्रमशः सडक आन्दोलनमा होमिँदै छन् । एकै पटक यति धेरै समस्याहरूको थुप्रो लागिरहेको छ, यो केवल प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भका कारण हो भन्ने कुरा बुझिँदै छ । उनी आफू बाहेक र आफ्नो पार्टी बाहेक अरू सबैलाई घाँस-पराल सम्झिनछन् ।
यो अन्धोपन उनको लागि मात्र होइन, यो देशको लागि पनि घातक सिद्ध हुँदै छ भन्ने कुरा आम जनताले सोचिरहेका छन् । समस्याको चुरो नेताको घमन्ड र बहुलट्टीपनमा अड्किएको छ । नेताको सन्कीपनका कारण इतिहासमा थुप्रै देशहरू बरबाद भएको उदाहरण हामी समक्ष छ । जब पेसाकर्मीहरू नै आन्दोलनमा उत्रन्छन्, त्यसको असर सेवाग्राहीमा पर्छ, जब सेवाग्राहीहरू असन्तुष्ट हुन्छन् अनि तिनीसँग आश्रित परिवार असन्तुष्ट हुन्छन् ।
अहिले भइरहेको शिक्षक आन्दोलनलाई सही ढंगबाट सम्बोधन हुनु जरुरी छ किनकि यो आन्दोलन लाखौँ विद्यार्थीको भविष्यसँग पनि जोडिएको छ । शिक्षाको महत्व त विद्वानले अथवा पढेलेखेको व्यक्तिले मात्रै बुझ्न सक्छ । हामीले राजनीति जान्यो, बुझ्यो भन्दैमा त्यस्तै व्यक्तिलाई मात्रै हरेक पटक भोट दिएर सत्तामा पुर्याइरहेका छौँ । विद्वान विद्वत वर्गमाथि मूर्खहरूले रजाइँ गरिरहने अवस्थाको अन्त हुनु जरुरी छ अब ।