

काठमाडौं । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेकपा (एकीकृत समाजवादी)का नेताहरू अपमानित शैलीमा फर्किएका छन् । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसहितका नेताहरू आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका थिए ।
तर, आन्दोलनलाई ऐक्यबद्धता जनाउन पुगेका नेताहरू आन्दोलनरत शिक्षकहरूकै विरोधपछि फर्किएका हुन् । नेताहरू आन्दोलनरत शिक्षकहरूलाई सम्बोधन गर्ने तयारीमा त्यहाँ पुगेका थिए ।
तर, आन्दोलनरत शिक्षकहरूले नाराबाजी गर्न थालेपछि उनीहरू फर्किन बाध्य भए । एसका नेताहरू विरुद्ध शिक्षकहरूले ‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै नारा लगाएका थिए ।
नेताहरू विरुद्ध शिक्षकहरूले नाराबाजी गर्न थालेपछि प्रहरीले स्कर्टिङ गरेर गाडीसम्म पुर्याएको थियो । शिक्षकहरूले ‘पञ्चायती ऐन खारेज गर, शिक्षा ऐन जारी गर’ जस्ता नाराबाजी गरेका थिए ।
शिक्षकहरू विगत २७ दिनदेखि आन्दोलनमा छन् । २७ दिन पुग्दासमेत सरकारले माग सम्बोधनमा ठोस पहल गरेको छैन ।