

काठमाडौं । भारतीय संगीत उत्पादन कम्पनी ‘टि सिरिज’ले नेपाली गायक सुशान्त केसीको चर्चित गीत ‘बार्दली’लाई हिन्दी भाषामा सार्वजनिक गरेको छ।
टि-सिरिजले सोमबार आफ्नो युट्युब च्यानलबाट दर्शकमाझ ल्याएको हिन्दी भर्सनमा गीतको बोल ‘उफ’ राखिएको छ।
गीतको भिडियोमा सुशान्त र स्वस्तिमा खड्का फिचर्ड छन्। इन्द्रकला राईको नेपाली गीतलाई भने जस्ताको तस्तै राखिएको छ।
गीतको रचना र संगीत सुशान्त केसीकै हो।
नयन राईले निर्देशन गरेको म्युजिक भिडिओलाई कृतिका बरालले कोरियोग्राफी गरेकी हुन्। नयन राईले छायांकन गरेको गीतलाई अशोक अधिकारीले सम्पादन गरेका हुन्।
गीतको नेपाली संस्करण निकै हिट भएको थियो। यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत स्ट्रिमिङ भएको थियो।
टि-सिरिजले यसअघि पनि केही नेपाली संगीतकर्मीसँग सहकार्य गरिसकेको छ। तथापि शुसान्तको भिडियो भने मुख्य च्यानलमा राखिएको छ।
यसअघि टि-सिरिजले नेपाली कलाकारहरूसँग सहकार्य गर्दै ‘शाम से हे दिल’ नामक गीत सार्वजनिक गरेको थियो। यस गीतमा अभिनेता सुनिल थापा, निरजन थापा र अभिनेत्री धराना शर्मा फिचर्ड छन्। गीतको छायांकन नेपालका रमणीय स्थलहरू, जस्तै रारा ताल, स्वयम्भू र चितवन राष्ट्रिय निकुञ्जमा गरिएको छ।
स्मिता दहालले पनि आफ्नो पहिलो हिन्दी गीत ‘इबादत बन गए हो’ २०२१ मा रिलिज गरेकी थिइन्। यो गीतमा उनी भारतीय टेलिभिजन अभिनेता अर्जुन बिजलानीसँग देखिएकी छन्।