

काठमाडौं । दिग्गज कलाकार हरिवंश आचार्यको फिल्म ‘भूठान’ बहिष्कार गर्ने चेतावनी दिइएको छ। हिन्दूवादी समर्थक फेसबुक पेज ‘सनातन चौतारी’ले फिल्म बहिष्कार गर्ने बताएको हो।
उक्त पेजमा उल्लख भए अनुसार फिल्ममा गाईको हत्या भएको र त्यसैले हिन्दूहरूको भावानामा ठेस पुर्याएको कारण फिल्म बहिष्कार गर्नुपर्ने बताइएको छ।
‘नेपाली र भुटानी समुदायमा गाईलाई पवित्र जीवको रूपमा मानिन्छ, गाई हत्या गर्नु हाम्रो धर्म, संस्कार र परम्पराविपरीत कार्य हो। यस्तो संवेदनशील विषयलाई चलचित्रमा प्रस्तुत गर्नु हाम्रो धार्मिक आस्थामाथि गम्भीर प्रहार हो, जसले करोडौं हिन्दूहरूको भावनामा चोट पुर्याएको छ’, पोस्टमा भनिएको छ।
त्यस्तै, फिल्ममा कलाकार हरिवंश आचार्यजस्ता व्यक्तिहरूमार्फत क्रिश्चियन धर्म र संस्कृतिको प्रचार गरिएको आरोप छ। फिल्ममा चुम्बन, नग्नता र यौनिकतासम्बन्धी दृश्यहरू अनावश्यक रूपमा समावेश गरिएको भन्दै यस्ता दृश्य नेपाली समाजको मूलधार संस्कृतिको प्रतिनिधित्व नगर्ने पोस्टमा उल्लेख छ।
‘हामी सनातन चौतारीका तर्फबाट फिल्ममा समावेश गरिएका गाई हत्या गरिएको दृश्य तत्काल हटाउन, धर्मान्तरणको प्रचार गर्ने दृश्य र संवादहरू हटाउन, अनावश्यक चुम्बन, नग्नता र यौनिकतासम्बन्धी दृश्यहरू हटाउन माग गर्दछौं,’ पोस्टमा भनिएको छ।
त्यसअघि फिल्म ‘भूठान’ सेन्सर पास भएको थियो। फिल्मले चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्रदर्शनमा लागि अनुमति पाएको हो
‘भूठान’लाई अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’नाम दिइएको छ। यो फिल्ममा हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीको अभिनय फिल्ममा देख्न सकिन्छ।
हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन्।
भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थाकथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ। वैशाख १२ गतेबाट प्रदर्शनमा आएको यस फिल्मका निर्देशक विनोद पौडेल हुन्।