

काठमाडाैं । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएको देश हो- यो फ्याक्ट हो, यसमा मत विभाजन हुन सक्दैन। तर, संघीय लोकतान्त्रिक गणतन्त्र नै सर्वोत्कृष्ट व्यवस्था हो- यो पर्सेप्सन हो, यसमा दुई वा दुईभन्दा बढी मत हुनसक्छ। यसलाई मान्न पनि सकिन्छ, नमान्न पनि पाइन्छ।
तर, कलाकार तथा निर्देशक दीपाश्री निरौलाले भने आफ्नो व्यक्तिगत विचार अथवा पर्सेप्सन पनि राख्न पाइनन्।
सन् २०२० को मध्यतिर, दीपाको एक टेलिभिजन अन्तर्वार्ता बाहिरिन्छ। ‘रजतपट अंकल’ नामको त्यस कार्यक्रममा दीपाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि उनको चर्को आलोचना सुरू हुन्छ। तर, खासमा त्यहाँ भएको केही पनि होइन।
कोरोना संक्रमणले लकडाउन भइरहेका बेला सिनेक्षेत्र ठप्प थियो। दैनिक काम गरेर खाने प्राविधिकहरू समस्यामा थिए। उनीहरूलाई राहत प्रदान गरिनु त्यस बेलाको आवश्यकता थियो।
त्यही मेसोमा केही कलाकारसहित चलचित्र प्राविधिक संघले राहत वितरण गर्यो पनि। तर, राजेश हमाल कहिंकतै देखिएनन्। दीपाको असन्तुष्टि यत्ति हो।
उनले ‘राजेश हमालले महानायकको भूमिका निर्वाह गर्न नसकेको’ बताएकी थिइन्। प्राविधिकले खाना खान नपाइरहेको अवस्थामा राजेशले सहयोग नगरेको भन्दै आलोचना गरिन्। बदलामा उनले भद्दा गालीदेखि बहिष्करणसम्म व्यहोर्नु पर्यो।
पछि दीपाले माफी मागिन्। राजेश आफैंले पनि आफूविरुद्ध बोल्ने कसैलाई पनि गाली नगर्न आग्रह गरे।
तर, यति भइसक्दा पनि दीपालाई काममा फर्किन सहज भने भएन। दर्शकले गाली गरेकै कारण उनलाई ‘मुन्द्रेको कमेडी क्लब’बाट हटाइयो। ‘छक्का पञ्जा–४’ हेमराज बिसीले निर्देशन गर्नुपर्यो। त्यसअघि ‘छक्का पञ्जा’का सबै श्रीङ्खला दीपाले नै निर्देशन गरिरहेकी थिइन्।
अघि हामीले माथी फ्याक्ट र पर्सेप्सनको कुरा गरेजस्तै, राजेश हमाल महानायक हुन् वा होइनन् भन्नेबारे कुनै फ्याक्ट छैन। महानायक मान्ने मापदण्ड पनि केही छैन। दीपाले त केवल निजी विचार राखेकी थिइन् तर भिडको सिकार बनिन्। समाचारहरूका अनुसार, लामो समयसम्म उनी डिप्रेसनकै तहमा पुगिन्।
त्यसपछि गएको जेठ महिनातिर सामाजिक संजालमा एउटा ट्रेन्ड चलाइन्छ, जहाँ उल्लेख गरिएको हुन्छ- म त रवि लामिछानेको पक्षमा थिएँ, मह जोडीले कैलाश सिरोहियाको समर्थन गरेछन्, अब यिनीहरूको कार्यक्रम बहिष्कार गर्ने हो।
त्यसबेला पनि भएको केही होइन। नागरिकता दुरुपयोगको आरोपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका थिए। जनमत विभाजित थियो, एक पक्षले त्यसको समर्थन गरेका थिए भने अर्को पक्षले तत्कालीन गृहमन्त्री रवि लामिछानेको विरुद्वमा समाचार लेखेकै कारण प्रतिसोध साँध्नको लागि उनको पक्राउ गरिएको र त्यसले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई कुण्ठित गरिएको भन्दै त्यस कदमको आलोचना गरे।
यही सन्दर्भमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले पनि, सिरोहिया पक्राउ गर्नु गलत भएको अभिव्यक्ति दिन्छन्। अनि सामाजिक संजालमा रवि समर्थकहरूले मह जोडीको चर्को आलोचना गर्न थाल्छन्। त्यो पनि बहिष्करणकै तहमा।
त्यस बेला अस्ट्रेलियामा ‘महजात्रा’ हुन लाग्दै थियो। यही बीचमा सिरोहिया पक्राउबारे अभिव्यक्ति दिएपछि उक्त कार्यक्रमको टिकट फिर्ता गर्ने अभियान चल्छ। नेपालमा मात्र हैन, विदेशमा समेत उही प्रकृतिको बहिष्कार अभियान चलाइन्छ। धन्न, मह जोडीले बेलैमा माफी मागेर थप क्षति हुन भने दिंदैनन्।
उनीहरूले फेसबुकबाट एक भिडियो सार्वजनिक गर्दै आफ्नै मान्छे सम्झिएर माफी दिन आग्रह गर्छन्। बुढो अनुहारमा पिर र ग्लानी बोकेर दुवै हात जोड्दै हरिबंशले भन्छन् ‘अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो, हामीबाट त्रुटि भयो। त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर माया गरिदिनुभयो। यो पटक पनि सबै कुरा बिर्सिदिएर हामीलाई माफ गर्दिनुहोला।’
दीपाश्री देखि मह जोडी हुँदै विचार राखेकै कारण कलाकारहरूमाथि सामाजिक संजालमा लखेट्ने शिलशिला अहिले झन् तिखो हुँदै आएको छ। त्यसको पछिल्ला उदाहरण हुन्- अभिनेता तथा निर्देशक प्रकाश सपूत र अभिनेत्री सुरक्षा पन्त।
गत फागुनमा प्रकाशले ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकर्पणमा प्रधानमन्त्री ओलीको जीवन प्रेरणादायी भएको भन्दै प्रशंसा गरेकै कारण उनले गालीगलौज व्यहोरे। सामाजिक संजालमा जातीय विभेदजन्य गाली सहे। रिलिजको मुखमा रहेको फिल्म ‘वसन्त’ लाई बहिष्कार गर्ने अभियान चल्दा त्यसको प्रभाव कहीं न कहीं व्यापारमा समेत पर्यो।
त्यतिसम्मलाई त सामान्य मान्न सकिएला। तर प्रकाशले भने व्यक्तिगत तहमै अनेकन् अप्ठ्यारा गुजार्नु पर्यो। उनले घरमा बुवा-आमालाई टिभी नहेर्नु भने, पूर्वमा तय भएको साहित्यिक महोत्सव पनि अन्तिम समयमा आएर ‘क्यान्सिल’ गरे। अझ उनकै शब्दमा भन्दा ‘सृजनशीलता र कामको कुरा त छाडदिनुस्, आफैंभित्रका समवेदनाहरू पनि थिचेर राख्नुपर्ने स्थिति आयो। आफैंसँग लुकेर बसेको डरले ऐनासम्म पनि हेर्न सकिनँ।
अहिले एक टेलिभिजन अन्तर्वार्तामा गएर गणतन्त्रको पक्षमा बोल्ड अभिव्यक्ति दिएपछि अभेनेत्री सुरक्षाको आलोचना भइरहेको छ। जहाँ उनले पूर्वनवयुवराज हृदयन्द्र शाहको विषयमा टिप्पणी गर्दै उनलाई फिल्म क्षेत्रमा लाग्न सुझाएकी छन्। त्यसपछि उनको प्रदर्शनरत फिल्म ‘खेल’ बहिष्कार गरेको राजावादीको सामाजिक संजालमा देखिन्छ।
भनिन्छ- लोकतान्त्रिक शासन व्यवस्थाको सबैभन्दा बलियो पक्ष अभिव्यक्ति स्वतन्त्रता हो। तर, पछिल्लो समय आफूलाई लागेको विचार राखेकै कारण कलाकारहरू सामाजिक संजालमा ‘साइबर बुलिङ’को सिकार भइरहेका छन्। आफूलाई लागेको विचार अभिव्यक्त गर्न पनि डराउनुपर्ने अवस्था आएको कलाकारहरूको बुझाई छ। महजोडी, प्रकाशहरूलाई हेरेर अब धेरै कलाकारले कहिल्यै, कुनै विषयमा आफ्नो मत नराख्ने हुन् कि भन्ने चिन्ता देखिएको छ।
हास्य कलाकार मनोज गजुरेलको शब्दमा भन्दा, ‘आफ्नो विचार राख्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हो। सभ्य ढंगमा राखिएका विचारमा पनि सामाजिक सञ्जनालमा आउने नेगेटिभ गालीले हाम्रो समाज कतातिर गइरहेको छ भन्ने प्रश्न उठ्छ।’
हुन पनि एउटा विषयमा विनम्र भएर आफूलाई लागेको विचार राख्न नपाउने भए लोकतन्त्र अथवा गणतन्त्र भन्नु र मसानघाटमा भन्नुमा के फरा रह्यो र !