‘के घर के डेरा : घर नं २’मा को हुन् घरबेटी र डेरावाल ?-Sutra News

‘के घर के डेरा : घर नं २’मा को हुन् घरबेटी र डेरावाल ?

मंगलबार, १६ बैशाख २०८२

मंगलबार, १६ बैशाख २०८२

काठमाडौं । ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’जस्ता रुचाइएका फिल्म निर्देशन गरेका निर्देशक दीपेन्द्र के खनालको आगामी फिल्म ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तयारीमा छ ।



जेठ २ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा घर र डेरामा बस्नेहरूको कथा समावेश छ । घर र डेराका कारण समाजले मूल्यांकन गर्ने सामाजिक प्रतिष्ठाको कथा यसमा छ ।

घर र डेरा कै कारण जतिसुकै उचनिच व्यवाहार भए पनि अन्ततः त्यसको प्रभाव जीवनको अन्त्यमा के पर्छ यसबारे पनि फिल्मले दर्शाउने निर्देशक खनालले बताए ।

यो फिल्ममा डेरामा बस्ने र घरबेटी को हो भन्नेबारेमा खुलाइएको छैन । फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् ।

फिल्म ‘के घर के डेरा : घर नम्बर २’को एक दृश्यमा उपासनासिंह ठकुरी ।
पोस्टरमा सबैको उस्तैउस्तै लुक्स छ । एउटा पोस्टरमा खगेन्द्र साइकल डोर्‍याउँदैछन् । टिजरले पनि खगेन्द्रलाई दुःखी पात्रको रुपमा देखाएको छ ।

त्यसैले खगेन्द्र डेरावाल हुन् कि भन्ने अनुमान गर्न सकिन्छ । यदि, उनी डेरावाल हुन् भने घरबेटी आर्यन हुन् कि निश्चल यसबारे निर्देशकले केही जानकारी दिएका छैनन् ।

निर्देशक खनालले ‘के घर के डेरा : घर नं २’ सिक्वेल नभएको बताए पनि कथा घर र डेराको रहेको बताउँछन् । पटकथा बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो लेखकीय फिल्म हो ।

यो फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको छायांकन छ । निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार