बुद्ध, कार्ल मार्क्स र नेपाली-Sutra News

बुद्ध, कार्ल मार्क्स र नेपाली

मंगलबार, १६ बैशाख २०८२

मंगलबार, १६ बैशाख २०८२

बुद्ध मानव शान्तिका अजेय आकाश हुन् । बुद्ध मौन देखिन्छन्, जस्तो मौन देखिन्छ महासागर । यता, मार्क्स सर्वहाराका गुरु हुन्, युग युगान्तर यिनी लाल झन्डा मुनि बाँचिरहने छन् । बुद्ध तिनै सर्वहारालाई बाँच्न अभिप्रेरणा दिने सर्वोच्च गुरु हुन्, जसका बचना र देशनाद्वारा पनि विश्वमा शान्तिको किरण मुस्कुराइरहन्छ ।



अहिलेको नेपाली समाजले धनका लागि धर्म बेचिरहेको छ । आफ्नो प्रगतिशीलताका लागि आफू जागरूक नहुने बरु आफूसँग भएको आफ्नो इमान बेच्ने, धर्म बेच्ने काममा सक्रिय भएर लागेका छौं हामी । धर्म पनि नमान्ने र कर्म पनि नगर्ने ढुंगा हुँदै छौं हामी । धर्म र कर्म दुवैबाट मुक्त हुन खोज्दै छ हाम्रो अहिलेको पुस्ता ।

विश्वमा गरिबी रहेसम्म मार्क्स जीवित रहनेछन् भने बुद्ध पृथ्वी रहेसम्म बाँचिरहने छन्, फरक यति छ मार्क्स र बुद्धमा । बुद्धलाई बुझ्न गाह्रो छैन । बुद्ध सजिला छन् । बुद्ध असाधारणमा साझा र साधारण छन् । बुद्ध एउटा बाटो हुन्, सतपथका जहाँ तिमीले केवल हिँडिदिए मात्रै पुग्छ अरू केही गर्न पर्दैन ।

बुद्ध जति सहज शायद तिमी अगाडि उभिएको एउटा लाटो पहाड पनि छैन होला । बुद्धका उपदेशनालाई पछि पछिका उपबुद्धहरू (कौन्डन्य, सारिपुत्र, मौदगल्यान र महाकश्यप)ले जटिल बनाउँदै गए । मार्क्स पनि सजिला थिए, उनको थ्यौरी सजिलो थियो तर, पछि लेनिन र एंगेल्सलगायतले अनेकन पुछारहरू थप्दै गए । धेरै पुच्छर थपिदिए पछि एउटाले निर्माण गरेको बाटो आफै असजिलो र असहज हुँदै जान्छ । कालान्तरमा हामीले बुद्धलाई पनि जटिल बनाउँदै गयौँ ।

अहिले मार्क्सवाद र मार्क्सवादीहरू पनि जटिल बन्दै गएका छन् । एउटा बाटोमा अरू धेरै बाटो घुम्ती र मोड उपमोड जोडिन थालेपछि, त्यहाँ एक प्रकारको भ्रम सिर्जना हुन थाल्छ । नेपाली राजनीतिमा माक्र्सवाद एउटा कन्फ्युजन हो । अहिलेको नेपाली कम्युनिस्ट राजनीतिले बाटो बनाउन होइन, बाटोलाई धेरै असहज र असहमत बनाउँदै लागिरहेछ । सजिलोलाई जटिल बनाउन हामी सिपालु छौं । गरिबी रहेसम्म बाच्ने कार्ल मार्क्स र जीवन रहेसम्म बाचिरहने बुद्ध फरक चाहिँ यति मात्र हो ।

सजिलोसँग भनिने कुरालाई जब विद्वत्ताको भ्रमले त्यसलाई जटिल बनाइन्छ अनि यो विषय नै मानिसलाई बोझिलो लाग्न थाल्छ । नेपाली राजनीतिको समस्या पनि यही हो कि हामी सहजताबाट असहज र असहमतिको ढोकातर्फ जान्छौं, जुन ढोका खोल्ने चाबी नै हामीले बनाउन सकिरहेका छैनौ ।

युग परिवर्तनसँगै कतिपय सिद्धान्त र विचार धाराहरू परिवर्तन हुन्छन् । यसलाई समयले परिवर्तन गराउँछ । जुनसुकै विचारधारा पनि सार्वकालिक हुँदैनन् । भोगाइको अनन्ततासँगै यसको अपरिसीमता क्षय हुन्छ अर्थात् यो परिवर्तन हुन्छ । महाभारतको युद्धमा कृष्णले अर्जुनलाई कर्मका लागि उत्प्रेरित गर्दा पनि यही कुरा भनेका छन्– कि परिवर्तन अवश्यम्भावी छ र यसलाई सबैले स्विकार्नुको विकल्प छैन ।

परिवर्तन स्वीकार गर्नु भनेको नै प्रगतिशीलता हो । जिन्दगीमा आउने उतारचढाव अनेकन चुनौती घुम्ती र अगाडि आएका विकल्पहरू मध्य सहीलाई छानेर अगाडि बढ्नु नै प्रगतिशीलता हो । हामी इतिहास भइसकेको कुरालाई फेरि जीवित गराउन प्रयत्न गर्छाैं भने त्यो सिसिफसको ढुंगाको कहानी मात्रै हुन्छ । राप्रपाले राजसंस्था पुनर्स्थापितको हेतु राखेर गरिरहेको सडक आन्दोलनले के सिकाइरहेको छ भने हामी नेपालीहरू कति फुर्सदिला रहेछाैं कि काम धाम, घरबार कर्तव्य छोडेर सडकमा उद्देश्यहीन यात्रामा छौं ।

गणतन्त्रका कारण विकास नभएको होइन, मात्रै गणतन्त्रका पात्रहरू ठिक नभएका हुन् । बुद्ध आगजनीमा मार्क्सवादले परेड खेले पनि मार्क्सवादी पात्रहरू चाहीँ भोका परे । त्यसैकारण जनअसन्तोष बढिरहेको हो । व्यवस्था स्वयंमा खराब र असल भन्ने हुँदैन । केवल व्यवस्थालाई ह्यान्डिल गर्ने व्यक्ति कुशल हुनुपर्छ । पञ्चायती राजा महेन्द्र पात्र ठिक थिए र त व्यवस्था पञ्चायत भए पनि त्यतिबेला नेपाल आधुनिक युगमा प्रवेश गर्‍यो । डुंगा चलाउने नाउ खराब छ भने डुंगा अत्याधुनिक भएर के काम ? जो खराब चालकको कारण समुन्द्रमा डुब्न सक्छ । शासन खराब होइन, शासक खराब छन् नेपालमा । मूल समस्या यही हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार