

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग भएका वार्ताहरू सकारात्मक नभएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ।
महासंघको आज बिहान बसेको बैठकमा शिक्षक नेताहरूले सरकार आफूहरूको मागप्रति गम्भीर नभएको निष्कर्ष निकाल्दै आन्दोलनलाई थप चर्काउने निर्णय गरेका छन्।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले सरकारले माग सम्बोधनमा चासो नदेखाएको बताउँदै आन्दोलनलाई सशक्त बनाएर दबाब बढाउने बताए। उनले भने, “वार्तामा खासै प्रगति भएन, सरकार विगतका सहमति कार्यान्वयनबाट समेत पछि हट्न खोज्दैछ। प्रधानमन्त्री स्वयं नकारात्मक देखिए।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासंघबीचको पछिल्लो वार्तामा सरकारले बजेट अभावका कारण मागहरू सम्बोधन गर्न कठिनाइ हुने जनाएको छ। महासंघले प्रस्तुत गरेका ९ बुँदे मागहरू पूरा गर्न १३ अर्ब रुपैयाँ आवश्यक पर्ने शिक्षकहरूको दाबी छ। तर, शिक्षा मन्त्रालयका एक अधिकारीले सबै माग सम्बोधन गर्न ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेका छन्।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली लगायतका नेताहरूले हिजो राति १२ बजेसम्म शिक्षामन्त्री रघुजी पन्तसँग छलफल गरेका थिए। तर, सिंहदरबारस्थित मन्त्रालयमा भएको वार्तामा ठोस सहमति हुन सकेन। मन्त्रालयले आज फेरि वार्ताका लागि तयारी गर्ने जनाएको छ।
शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अघि बढेको दाबी गरेका छन्। उनले केही विषय टुंगो लगाउन बाँकी रहे पनि सरकार यथाशीघ्र सहमति जुटाउन प्रतिबद्ध रहेको बताए। साथै, कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने पक्षमा सरकार रहेको उनको भनाइ छ।
तर, महासंघका अध्यक्ष सुवेदीले धेरै विषयमा छलफल बाँकी रहेको र सहमति नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारे। मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षामन्त्री पन्तलाई वार्ता र सहमति जुटाउने जिम्मेवारी दिएको छ। सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म माग सम्बोधन हुने आशा व्यक्त गरेका छन्।
शिक्षकहरूले विद्यालय शिक्षा ऐनलगायतका माग राख्दै चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन्।