आफूलाई ‘प्रमाण मात्र हेर्ने’ दाबी गर्थे टंक, ‘प्रेम आलेले अश्लील बोलेको’ विषयमा यसरी चिप्लिए-Sutra News

आफूलाई ‘प्रमाण मात्र हेर्ने’ दाबी गर्थे टंक, ‘प्रेम आलेले अश्लील बोलेको’ विषयमा यसरी चिप्लिए

मंगलबार, १६ बैशाख २०८२

मंगलबार, १६ बैशाख २०८२

काठमाडौं । युट्युबमा आफूलाई ‘नो बकवास ओन्ली प्रुफ’ भनेर दाबी गर्ने कन्टेन्ट क्रियटर टंक दाहाल यसपटक नराम्रोसँग चिप्लिएका छन्। एकीकृत समाजवादीका सांसद प्रेम आलेले संसद्को रोष्ट्रममै अश्लील बोलेको भन्ने विषयमा क्रश चेक नगर्दा उनी चिप्लिएका हुन्।



पूर्वमन्त्री समेत रहेका आलेले संसद्को रोष्ट्रममा अश्लील शब्द बोलेका भन्ने समाचारहरू यतिबेला सामाजिक संजालमा भाइरल छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पार्टीको दबाबमा नियुक्त गर्नुपरेको बताउँदा अश्लील शब्द प्रयोग गरेको कान्तिपुरलगायतका मिडियाहरूको दाबी छ।

कान्तिपुरका अनुसार प्रतिनिधिसभाको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद आलेले अश्लील शब्दको उच्चारण गरेका हुन्।

‘माननीय अमरेशकुमार सिंहले पनि भन्नुभयो, जुनियर मान्छेलाई ल्याएर डीजी बनाइयो, मेरै पालामा बनेको हो। तर निधारमा लेखेको हुँदैन कि यो चोर हो कि साधु हो भनेर थाहा त हुँदैन,’ त्यो बेलामा मैले धेरै पटक भनेको हो, जुनियर मान्छेलाई नबनाऊ, नबनाऊ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो (अश्लील शब्द) डीजी बनाइयो,’ आलेलाई उधृत गर्दै कान्तिपुरले लेखेको छ।

यही विषयमा आफूलाई कन्टेन्ट क्रियटर बताउने दाहालले पनि मङ्गलबार उक्त भिडिओ क्लिप राखेका छन्। क्याप्सनमा पूर्वमन्त्री आलेको भनाइलाई व्यङ्ग्य गर्दै उनले यसरी लेखेका छन्, ‘पार्टीको दबाब झेल्न नसकेर, मेरै पालामा त्यो मु* लाई डिजी बनाइयो – मा. प्रेम आले।’

*मु = मुख्य जिम्मेवार ? कि के हो ? संसद भित्रै छाडा त बोलेको होइन होला है?

त्यसपछि उनले चार पल्ट नै एडिट गरेका छन्।

पछिल्लो पोस्टमा उनले सच्याएर लेखेका छन्, ‘पार्टीको दबाब झेल्न नसकेर, मेरै पालामा त्यो मु* लाई डिजी बनाइयो – मा. प्रेम आले।

*मु* = मुख्य जिम्मेवार ? कि के हो? तर कडा (त्यसपछि हाँसेको इमोजी)

धेरै साथीहरु ले यहाँ ‘मुन्छे’ नै भनेको हो भन्नु भएकोले मैले पनि ‘मुख्य जिम्मेवार’ नभएर ‘मुन्छे’ नै हो भन्ने निस्कर्षमा पुगेको छु।

आफू कुनै पनि विषयमा प्रमाण नभई केही पनि कन्टेन्ट नबनाउने उनको तर्क सुन्दै आएको हो। तर भिडले जसो भन्यो, त्यतैतिर लाग्दा उनले यस प्रकरणमा चार पटक पोस्ट इडिट गर्नु परेको छ।

यता, यो समाचार सार्वजनिक भएपछी पूर्वमन्त्री समेत रहेका आलेले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै आफूले संसद्‌मा अश्लील नबोलेको बताएका छन्। भिडिओ र समाचार अत्यधिक आएपछि मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद आलले आफैँले ‘मुन्छे’ भनेको शब्दलाई फेसबुक पेज र समाचार माध्यमले बङ्ग्याएर अश्लील शब्द बोलेको भनी भ्रम फैलाएको स्पष्टीकरण दिएका छन्।

‘हिजो संसद्‌मा बोल्दा पार्टीको दबाब झेल्न नसक्दा त्यो मुन्छेलाई डीजी बनाउनुपर्‍यो भनेर बोलेको थिएँ ,’ आलेले भने। नभन्दै, संसद् भवनको आधिकारिक युट्युब च्यानलमा संसद बैठकको प्रत्यक्ष प्रसारण भएको भिडिओलाई ०.५ एक्स स्पिडमा सुन्दा पनि ‘मुन्छे’ भनेको सुनिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार