

काठमाडौं । गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको हिंसात्मक आन्दोलनपछि भएको लुटपाटमा नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवका छोराले भाटभटेनीमा रक्सी चोरेको विषयले अहिले राजनीतिक वृत्तमा चर्चा पाएको छ।
शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त प्रकरणलाई संघीय संसद्को वर्षे अधिवेशनको पहिलो बैठकमा लगेका थिए।भाटभटेनी लुटपाटमा संलग्न सह-महामन्त्री पुत्रलाई माथिको दबाबमा छाडिएको प्रमाण पनि आफूकहाँ आइपुगेको उनको दाबी थियो।
‘हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटभटेनीको लुटपाटमा सत्तारुढ पार्टीको, तपाईंकै पार्टीको सह-महामन्त्रीको छोरा पक्राउ परेको छ’, लिङ्देनले सदनमा भने, ‘किन छोड्नुभो तुरुन्तै ? तपाईंको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको ल्याएको अर्को मान्छेले ‘म रक्सी खान्नँ, मलाई कपडा काम लाग्छ’ भनेर कपडा लिएर गयो।’
लिङ्देनले कांग्रेस सह-महामन्त्री मात्रै भने तर उनले यादवको नाम लिएनन्। लिङ्देनको सचिवालयले भने यादव पुत्रलाई पक्राउ परेर कानुनी कारबाहीबिनै छाडिएको सूचना प्रहरीले नै पुर्याइदिएको भन्यो। तर लिङ्देनसहित उनको सचिवालयले अहिलेसम्म यस आरोपलाई पुस्टि गर्न सकेको छैन।
त्यस्तै, केही सञ्चारमाध्यमसँग कुरा गर्दै स्वतन्त्र सांसद् डा. अमरेशकुमार सिहंले विभिन्न सञ्चारमाध्यमसँग कुरा गर्दै आफूसँग कांग्रेस सहमहामन्त्रीका छोराले भाटभटेनीबाट रक्सी चोरेको भन्ने प्रमाण भएको दाबी गरे। तर, उनले पनि आफूसँग भएको भन्ने प्रमाण सार्वजनिक गरेका छैनन्।
सह-महामन्त्रीका छोराको चुनौती पनि पुष्टि गरेनन् लिङ्देनले
भाटभटेनी लुटपाट प्रकरणमा आफ्नो नाम जोडेको भन्दै शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ राख्दै सह-महामन्त्री यादवका कान्छा छोरा डा. विकास यादवले आरोपको खण्डन गरे। उनले भिडिओमार्फत आफ्ना दाजु डा. आकाश यादव एमडी अध्ययनको सिलसिलामा भारत रहेको र आफू एमडी तयारीको सिलसिलामा घरमै बसी अध्ययन गरिरहेको बताए।
प्रमाण भए सदनबाटै सार्वजनिक गर्न उनले चुनौती दिंदै कारबाहीको माग गरेका थिए। अध्यक्ष लिङ्देनलाई प्रमाण सार्वजनिक गर्न, यदि पुष्टि नभए कारबाहीको भागिदार हुन उनको चुनौती छ। तर, प्रतिनिधिसभा बैठकपछि राप्रपा अध्यक्ष लिङ्देनले यस विषयमा थप बोलेका छैनन्।
प्रहरीको पनि खण्डन
यस प्रकरणपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार विज्ञप्ति जारी गर्दै खण्डन गरेको थियो। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जारी गरेको विज्ञप्तिमा सह-महामन्त्रीका छोरालाई पक्राउ गरी छोडिएका भन्ने समाचारमा कुनै सत्यता नरहेको उल्लेख छ।
हेर्नुहोस् विज्ञप्ति :
अरूकै फोटोलाई ‘कांग्रेस सह-महामन्त्रीको छोरा’ भनेर झुटो प्रचार
विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कांग्रेस सह-महामन्त्री महेन्द्र यादवका छोरा भन्दै विभिन्न मिडियासहित राप्रपा समर्थकहरूले अनेकन फोटोहरू सार्वजनिक गरेका छन्। टेकपानासहितले गरेको फ्याक्टचेकमा भाटभटेनीबाट ‘रक्सी चोरेको’ देखिने कुनै पनि भाइरल फोटोसँग सह-महामन्त्री यादवका दुबै छोराको अनुहार मिल्दैन।
हेर्नुहोस् भाइरल झुटा तस्बिरहरू
…त्यसपछि कांग्रेस पनि बोल्यो, राप्रपाले के भन्यो ?
प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले लिङ्देनले भाटभटेनी लुटपाट प्रकरणमा सह-महामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति झूठो भएको भन्दै क्षमायाचना गर्न माग गरे।
बैठकको आकस्मिक समयमा प्रमुख सचतेक घिमिरेले नेपाली कांग्रेसको मानमर्दन गरिएको भन्दै लगाइएको आरोपको प्रमाण दिन अथवा क्षमायाचना गर्न माग गरेका हुन्। उनले सांसद लिङ्देनको अभिव्यक्ति ‘रेकर्ड’ बाट हटाउन सभामुखसमक्ष आग्रह गरे।
त्यस्तै, कांग्रेस सांसद नागिना यादवले पनि लिङ्देन र सांसद अमेरकुमारले कांग्रेस सह-महामन्त्रीको छोराको नाम चोरीको संलग्न भन्दै लगाएको आरोप पुष्टि गर्न चुनौती दिइन्। उनले भनिन्, ‘यदि त्यो आरोप सही होइन भने उहाँहरूले सदनबाट माफी माग्नुपर्छ।’
यता, राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले पार्टी अध्यक्ष लिङ्देनको अभिव्यक्तिलाई गलत ढंगले प्रचार गरेको भन्दै आपत्ति जनाए। प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले सदनमा बोलेको र अमरेशकुमारले वैशाख ८ गते मिडियामा दिएको अन्तर्वार्ताको विषय फेरि हेर्न माग गरे।