विवादित बनिरहेको काठमाडौं टावर भत्काउन बालेन र सुनिताको मन मिल्यो-Sutra News

विवादित बनिरहेको काठमाडौं टावर भत्काउन बालेन र सुनिताको मन मिल्यो

मंगलबार, १६ बैशाख २०८२

मंगलबार, १६ बैशाख २०८२
file

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल महानगरको विवादको इपिसेन्टर बनिरहेको काठमाडौं भ्युटावर अनावश्यक भएको बताएकी छन्।



पुरानो बसपार्कमा निर्माणाधीन उक्त टावरको विषय थप पेचिलो बन्दै गएपछि महानगरपालिकाका मेयर बालेन्द्र शाहले टावर भत्काइदिने योजना बनाइरहेका छन्। यसैबीच यस विषयमा उपमेयर सुनिताले पनि बालेनलाई साथ दिने भएकी हुन्।

पत्रकारहरूसँगको भेटघाटमा उपमेयर डंगोलले काठमाडौं भ्यूटावर औचित्यहीन रहेको बताइन्। प्रयोजन र उद्देश्यका लागि लिइएको हो त्यसैका लागि प्रयोग हुनुपर्ने भन्दै उपमेयर डंगोलले जनतालाई ढाँट्न नहुने उनको तर्क छ।

सटर बनाएर महानगरले व्यापार गर्न जरुरी नभएको भन्दै उनले बिल्डिङ र सटर बनाएर महानगरले जनतासँग व्यापार गर्नु जरुरी नभएको धारणा राखिन्।

उनले भनिन्,‘ जहिले पनि म पिपुल्स फस्टको पक्षमा हो। जनतासँग जे गर्छु भनेर लिइएको हो, त्यसैमा प्रयोग हुनुपर्छ मेरो स्पष्ट मान्यता छ। हिजोका मान्छे छैनन् भन्दैमा आजको पुस्तालाई थाहा छैन भनेर ढाँट्न पाइँदैन।’

ठमेलको छाया सेन्टर पनि आवश्यक अध्ययन गरेर निर्णय लिन आवश्यक रहेको उल्लेख गरिन्। होटल हिल्टनको विषयमा पनि अध्ययन गरिने उनले बताइन्।

उनले भनिन्, ‘मुद्दा चलिरहेको बेला मैले बोलिरहन त मिल्दैन। तर, मेरो व्यक्तिगत विचार भनेको पोखरीमा बनेको त्यो संरचना भत्काएर पोखरीलाई जीवन्त दिइनुपर्छ।’

उनले सम्पदा संरक्षणको कुरा मात्रै नभएर अब सम्पदालाई मास्दै जान नहुने बताइन्। ‘अहिले बनाउँदा यति खर्च भयो उति खर्च लागो भनिएला । तर, हाम्रा सम्पदा जोगाइराख्न सके सयौं वर्ष जीवन्त राख्न सक्छौं,‘ उपमेयर डंगोलले भनिन्,‘ त्योभन्दा ठूलो सम्पत्ति केही हुन्न। त्यहाँ पुरानै अवस्थामा फर्काउन सकेको दिनमात्र सम्पदा संरक्षणमा लागिरहनु भएकाहरूले न्याय पाउनु हुनेछ।’

मेयर शाहले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले अनियमिता गरेर काठमाडौं टावरको नक्सापास गरिदिएको आरोप लगाउँदै कारबाही गरेका थिए। उक्त विवादसँगै टावरमा नीतिगत भ्रष्टाचार समेत भएको बालेनले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार