शिक्षकसँगको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सामेल-Sutra News

शिक्षकसँगको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सामेल

मंगलबार, १६ बैशाख २०८२

मंगलबार, १६ बैशाख २०८२

काठमाडौं । आन्दोलनरत शिक्षकहरूसँगको वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका छन् ।



सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघका प्रतिनिधिसँग वार्ता जारी राखेका छन् । जारी वार्तामा अर्थमन्त्री पौडेल र गृहमन्त्री लेखक पनि सहभागी भएका हुन् ।

शिक्षामन्त्री पन्त मंगलबार दिउँसोदेखि नै शिक्षकहरूसँगको वार्ताको पर्खाइमा थिए । तर शिक्षकहरू दिउँसो आन्दोलन र महासंघको आन्तरिक बैठकका कारण शिक्षामन्त्रीसँगको वार्तामा सहभागी भएनन् । अहिले साँझदेखि सुरु भएको हो ।

महासंघको बैठक सकिएपछि शिक्षक प्रतिनिधि वार्तामा गएका हुन् । संघीय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षक महासंघ विगत २८ दिनयता निरन्तर सडक आन्दोलनमा छ ।

रघुजी पन्त शिक्षामन्त्री बनेर आएपछि उनले शिक्षक महासंघका प्रतिनिधिसँग केही चरणमा वार्ता गरे पनि शिक्षक–सरकार वार्ताले सार्थकता पाउन सकेको छैन । सोमबार अबेरसम्म पनि वार्ता चलेको थियो तर निष्कर्षविहीन भएकाे थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार