सेनाका प्रवक्ता सहायकरथी पौडेललाई जिम्मेवारी सुम्पियो-Sutra News

सेनाका प्रवक्ता सहायकरथी पौडेललाई जिम्मेवारी सुम्पियो

शुक्रबार, २ साउन २०७७

शुक्रबार, २ साउन २०७७

नेपाली सेनाका प्रवक्तामा नियुक्त सहायकरथी सन्तोषबल्लभ पौडेललाई आजदेखि जिम्मेवारी सुम्पिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित कार्यक्रममा पौडेललाई जिम्मेवारी दिइएको थियो।



जङ्गी अड्डामा बिहीबार भएको भेटघाटमा उनले सेना र आमसञ्चारका माध्यमबीच जनताको सुसूचित हुने अधिकारको रक्षा र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा सन्तुलन बनाइराख्न जोड दिए। 

‘जनताको सुसूचित हुने अधिकारको रक्षा गर्छौं, राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई समानान्तररुपमा लैजाने विषयमा सन्तुलन कायम हुनुपर्छ, हामी दुवैको मिलन बिन्दु र प्रस्थान बिन्दु त्यही नै हो,’ उनले भने। यसअघि उनी जङ्गी अड्डास्थित १५ नं बाहिनी र आपूर्ति तथा परिवहन निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए।

यसअघिका प्रवक्तामा सहायकरथी विज्ञानदेव पाण्डे थिए। उनी करिब १५ महिनाको प्रवक्ताको जिम्मेवारी पूरा गरी सुर्खेतस्थित उत्तर–पश्चिम पृतनाको नेतृत्व सम्हाल्न जाँदैछन्।

भेटघाटमा उनले सेना र प्रेसजगत् कार्य प्रकृतिका हिसाबले दुई भिन्न क्षेत्र भए पनि अखण्ड, समृद्ध, शान्त राष्ट्र नेपाल निर्माणमा दुवैको भूमिका र जिम्मेवारी उच्च र अन्योन्याश्रित हुने बताए।

‘आम जनतालाई सुसूचित पार्दै समृद्ध समाज निर्माणका लागि खबरदारी गर्ने प्रेसजगत् तथा जनता र देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको रक्षा गर्ने सेनाबीच कार्य प्रकृतिका हिसाबले भिन्न मान्यता रहे पनि राष्ट्रिय स्वार्थ र राष्ट्रियहित दुवै निकायको सर्वोपरी लक्ष्य हो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट