कठमाडौं- थापाथलीस्थित बागमती नदीको किनारामा १ सय ३५ भन्दा बढी टहरा लहरै बसेका छन् । जसलाई सुकुम्बासी वस्तीको रुपमा चिनिन्छ । यतिबेला ती टहराहरूलाई नजिकबाट कसैले नियाँल्यो मात्र भने त्यहाँ भीमकाय दुःख भेटिन्छ ।
मनसुनको समय, जति–जति बागमतीको बहाब बढ्दै जान्छ, त्यहाँको पीडा पनि उति उति बढ्छ । उर्लिएको बागमतीले सारा टहरा नै बगाउने हो कि भन्ने भयले बस्तीका मानिसहरूलाई अहिले पिरोलेको छ ।
सोमबार लगातार परेको पानीले हिरा हजर दुसदलाई ठूलो फसाद पार्यो । दिउँसो एक बजे उनी घरभित्र बसिरहेका थिए । अचानक बाहिर सुसाइरहेको बागमतीको पानी उनको घरभित्र छिर्यो । ‘म भित्र बसिरहेको थिएँ, पानी घरभित्रै छिरिसकेछ । बाहिरको चर्पी पुरिदियो । भान्छाकोठा र सुत्नेकोठा हिलाम्य बनाइदियो,’ हिरा दुःखी मुद्रामा भन्छन् ।
एकछिन पछि पानी त रोकियो । तर, उनको मनमा अत्यासको हुरी चल्न थाल्यो । हेर्दाहेर्दै भित्र पसेको पानीले सबै लैजान्छ कि भनेर उनी आत्तिरहे । बहाब घटेपछि बाबु र छोरा मिलेर पानी त पन्छाए । तर, मनमा लागिरहेको डर पन्छाउन हिराले अझै सकेका छैनन् ।
‘मलाई रातभरि निद्रा लागेन, घरि घरि आँखा बागमतीमा मात्र पुगिरह्यो,’ उनी सुनाउँछन् । केही भइ नै हाले पनि सरकारले हेर्छ भन्ने आश उनमा फिटिक्कै छैन । ‘अघिल्लो वर्ष पनि डुबानमा परेको थियो, सरकारले खासै सहयोग गरेन,’ उनले थपे ।
हिरा मजदुरी गर्थे । चार महिनायता कोरोनाको कारण काम ठप्प छ । सुरुमा त राहत आउँथ्यो । तर, अहिले त्यो राहत पनि पाएका छैनन् ।
१३ वर्षअघि बारा जिल्लाबाट सपरिवार काठमाडौं आएका उनी हरेक वर्ष उस्तै दुःख काट्न बाध्य छन् ।
‘बारामा पनि जग्गाजमिन छैन । यहाँबाट त उम्कन मन छ । तर, जाने कहाँ ?,’ सुस्केरा काढ्दै उनी बोल्छन् ।
बारामा हिराको बुबाको २ कट्ठा जमिन रहेछ । दाजुभाइलाई बाँड्दा भागमा एक कट्ठा आएछ । ‘तर बुबाको ऋण थियो । त्यही जग्गा बेचेर तिरियो,’ उनी सुनाउँछन् ।
अहिले हिराको ऋण ५ लाख पुगेको छ । त्यो ऋण पनि छोरीको बिहे गर्दा लागेको उनले सुनाए । ‘ छोरीको बिहे त गरियो । दहेज पनि दिनुपर्यो, त्यसैले ऋण लाग्यो । बिहेको ५ दिनपछि ज्वाइँ बिते । अब फेरि छोरीको बिहे गर्नुपर्ने छ, पैसा छैन,’ उनी थप दुःख पोख्छन् ।
ऋणमाथि ऋण थपिँदै गएको छ हिराको । कुरा गरिरहँदा उर्लिरहेको बागमतीतिर नजर लगाइरहेका उनलाई लागिरहेको हुँदो हो– दुःखी जीवनलाई कहिले ऋणले डुबाउँछ, कहिले बाढीले ।
०००
बस्ती डुल्दै जाँदा हाम्रो आँखा अर्को टहरामा पर्यो । टहराभित्र जमिन गलेको देखिन्थ्यो । भान्छाकोठा पानीका कारण अव्यवस्थित देखिन्थे । ६० वर्षीय अक्ष्मी यादव, उनकी जहान र बालबच्चा थिए घरभित्र ।
अघिल्लो दिन घरभित्र पसेको बाढीले सबै अस्तव्यस्त बनाइदिएको रहेछ । ‘बाढीले कहाँ बस्ने कहाँ खाने समस्या भइरहेको छ । रातभरि अनिँदो छौं । सुत्न नपाएर बच्चाहरू रोइहेका छन्,’ लक्ष्मी याचनाजन्य भावमा सुनाउँछन्।
सुत्ने ठाउँ नहुँदा बच्चाहरूको विचल्ली भएको उनले सुनाए । ‘हरेक वर्ष डरमा बाँच्नुपर्छ । तर के गर्नु सरकारले दुःखमात्र दिन्छ, दुःख सुन्दैन,’ उनी भन्छन् ।
बुढ्यौलीले चाउरिसकेका लक्ष्मीलाई नियाल्दा थाहा भयो, उनी अपाङ्ग रहेछन् । खोतल्दै जाँदा उनले सुनाए, ‘म त अपाङ्ग हुँ हजुर । अपाङ्ग भएको मान्छेलाई सबैले हेप्दा रहेछन् । काम गर्न सक्दिनँ । तैपनि बच्चाहरू पढाउनु र हुर्काउनुपर्यो । म पहिले सडकमा माग्न पनि बसेँ । तर, अहिले त सरकारले माग्न पनि दिएको छैन । साह्रै दुःख छ ।’
उनका ३ जना कलिला उमेरका छोरीहरू छन् । छोरीहरूतर्फ हेरिरहेका लक्ष्मीको अनुहारमा डर झल्किरहेको देख्छु– छोरीहरूलाई पढाउनभन्दा पनि बचाउन कठिन छ ।
लक्ष्मीसँगै दुःखका कुरा गरेर बसिरहेका उनका छिमेकी थिए– महेन्द्र यादव ।
करिब ६५ उकालो लागेको उनी बाढीको त्रासले रातभर सुत्न सकेनन् । लक्ष्मी र महेन्द्र दुवैको घर रहेछ, धनुषा । उता जग्गाजमिन केही नभएपछि रोजीरोटीकै लागि काठमाडौं आएको उनीहरूले सुनाए । ‘ज्ञानेन्द्रले गद्दी छाडेको साल हामी काठमाडौं आयौं,’ आफू साल बिर्सिएका महेन्द्रले अनुमान लगाउँदै सुनाए ।
०००
बस्तीमै बस्ने २१ वर्षीय मर्कुस रसाइली पनि बाढीतर्फ आँखा डुलाउँँदै थिए । बाढी पस्यो भने कहाँ जाने भन्ने चिन्ता उनको अनुहारमा देखिन्थ्यो ।
तर, त्यही बस्तीकी पूर्णमाया तामाङलाई लाग्छ– लगे लैजाओस् यो ज्यान । हरेक साल कति डराएर बाँच्नु ।
‘हामीलाई बानी भइसक्यो दुःखसँगै बाँच्न । गए पनि कहाँ जानु, यो सानो घर छ, त्यो पनि छाडेर…!’ पूर्णमाया भन्छिन् ।
धमिलो बागमतीको छाललाई बेपर्वाहको भावमा हेरिरहेकी पूर्णमायाको भावले भनिरहेझैँ लाग्छ– यो बस्तीमा हरेक साल बाढी हैन, दुःख पस्छ । यो दुःखसँग बाँच्ने त बानी परिसक्यो ।