रोल्पाका पहिलो कम्युनिष्ट सदस्य बर्मन बुढाको निधन-Sutra News

रोल्पाका पहिलो कम्युनिष्ट सदस्य बर्मन बुढाको निधन

बुधबार, ७ साउन २०७७

बुधबार, ७ साउन २०७७

रोल्पा- रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ। उनको आज बिहान ४:३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको उनकी छोरी विजया बुढाले जानकारी दिइन्।



उनलाई आन्द्राको क्यान्सर भएको एक वर्षअघि रोग पत्ता लागेपछि काठमाडौँमा बसेर उपचार गराइरहेका थिए। केही दिनअघि रोगले च्यापेपछि थप उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएकामा आज बिहान निधन भएको छोरी विजयाले जानकारी दिइन्।

स्व बुढा विसं २०४८ को संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं १ बाट तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। रोल्पाको थवाङ घर भएका बुढालाई रोल्पाको कम्युनिष्ट पार्टीको संस्थापक मानिन्छ।

लामो समय मन्त्री रहेका राप्रपा नेता बालाराम घर्तीमगरलाई हराउँदै विसं २०४८ को संसदीय निर्वाचनमा पहिलोपटक बुढा सांसद निर्वाचित भएका थिए। यसअघि उनी थवाङको मुखिया, प्रधानपञ्चको रूपमा लामो समय राजनीतिमा क्रियाशील थिए।

प्रतिनिधिसभा बैठकमा थवाङको स्थानीय भेषवूषामा कछाड लगाएर उपस्थित भएर चर्चामा रहेका स्व बुढाको विसं २०५२ को सशस्त्र युद्धपछि भने राजनीतिमा क्रियाशीलता कम हुँदै गएको थियो।

कठिन परिस्थतिमा समेत रोल्पामा कम्युनिष्ट पार्टी निर्माण गरेको भन्दै रोल्पामा नेता बुढालाई आदर्श मान्ने गर्छन्। उनी दुई वर्षअघि राष्ट्रका लागि योगदान गरेको भन्दै राष्ट्रपतिबाट विभूषितसमेत भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट