अन्जान अन्ग्रही
जागिर– एउटा जीवनभन्दा अमूल्य कुरा होइन
सपनाभन्दा प्रिय कुरा होइन
हैसियत भन्दा उपल्लो कुरा होइन
जागिर त केही पनि होइन
बरू हो फलामे सिक्री,
जसले कँज्याएर राख्छ जुनीभर हाम्रा हातगोडा
चारो हालेर माछालाई झैं भुल्याउन खोज्छ
–दुनियाँ यहाँभन्दा अन्त कतै छैन
जागिर,
एउटा जेल हो
जसले वर्षौं थुनेर राख्छ हाम्रो सीप
र अयोग्य बनाएर मिल्काउँछ ’एक्सपेन्सिभ’ बजारमा
श्रमको मालिक हौ तिमी
र हकदार पनि हौ आफ्नो पसिनाको
तर,
तिम्रो टाउको माथिबाट कसैले
पुँजीवादको घन तेर्स्याएको छ
र हिर्काइरहेको छ मस्तिस्कमा
बाध्य छौ तिमी
आफ्नै पसिना लुट्नेलाई मालिक मान्न
तिमी लाचार छौ
आफ्नै श्रमको मूल्य दलालको ह्याँगरमा झुन्ड्याउन
तिमीलाई सब्बै थाहा छ
को को हुन् तिम्रो शरीरको बिक्रीकर्ता ?
को को हुन् तिम्रा विचारमा बन्दुक तेर्साउने शासक ?
तर, तिमी चुप छौ
किनकि, जागिरले तिमीलाई सोच्नै दिएको छैन
बरू सोचेर घोरिन बाध्य छौ हरेक दिन
सूर्य निभेपछि निभ्ने आशाको दियो
सूर्य उदाए पछि निस्कने चिन्ताका विकिरण
तिमी मुक्त हुन चाहन्छौ– अनुहार उदास बनाइराख्ने
उधारो सम्झौताबाट
मुक्त हुन चाहन्छौ हर दिन बाटो ढुक्ने साहुबाट
तर कहल्यै सोच्न सक्दैनौ तिमी
जागिरबाट मुक्त हुन पाए !
तर,
त्यो दिन आउने नै छ
आउने नै छ त्यो दिन
त्यतिबेला तिम्रो मालिकले तिमीलाई मुक्त त गर्नेछ
तर, कदापी दिने छैन– जीवनभर दिने छैन संहस्र मुक्ति
०००