मुग्लिन-नौबिसे सडकखण्डमा पहिरो-Sutra News

मुग्लिन-नौबिसे सडकखण्डमा पहिरो

बिहिबार, ८ साउन २०७७

बिहिबार, ८ साउन २०७७

काठमाडौं- राजधानी काठमाडौंसँग यातायात सम्बन्धबिच्छेद भएको पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा आउने गरि काम अघि बढाइएको छ। सो सडकखण्डको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलसँगैको भाग बगाएपछि राजमार्ग गत सोमबारबाट पूर्णरुपमा अवरुद्ध छ।



डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार मौवाखोलामा बुधबार बिहान खोला मूलधारमा पठाएर जालीको पर्खाल लगाउन थालिएको छ।

विङवाल अर्थात् पखेटे पर्खाल लगाउने काम राति अबेरसम्म गरिएको थियो। दिनभर ४२ जना मजदूरले पर्खाल लगाउने काम गरेका थिए। दिउँसोको समयमा नेपाली सेनाले पनि सहयोग गरेको उनले जानकारी दिए। आज बिहानैदेखि कामलाई निरन्तरता दिइएको छ।

नुवाकोटबाट जालि झिकाएर स्थानीय ढुङ्गा भरेर पर्खाल लगाउने काम भइरहेको छ। दिनभरमा धेरै काम सम्पन्न हुने अपेक्षा गरिएको छ।

‘थप पानीले समस्या नवनाएमा शुक्रबार दिउँसोसम्ममा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउँछौं,’ अधिकारीले भने। सो सडकखण्डको मुग्लिनबाट नौबिसेसम्म २०० भन्दा बढी पहिरा खसेका थिए।

ती पहिरो पन्छाउने र मर्मतसम्भार गर्ने काम तीव्र गतिमा भइरहेको उनले जानकारी दिए। राजधानी प्रवेश गर्ने र बाहिरिने प्रमुख मार्ग भएकाले सबैको ध्यान, चासो र सहयोग जुटेकै कारण कामले तीव्रता पाएको छ।

ठाउँठाउँमा एकतर्फी सडक खुलाइएको छ। ती ठाउँमा मालबाहक ट्रक अव्यवस्थित ढङ्गले पार्किङ हुँदा काममा अप्ठ्यारो भएको उनले बताए।

यता नारायणग–मुग्लिन सडकखण्डको चारकिलो र १६ किलोमा सडक एकतर्फी सञ्चालनमा आएको छ। सडक विभागले हालका लागि राजधानी काठमाडौँ जान त्रिभुवन राजपथ प्रयोग गर्न अनुरोध गरेको छ।

धेरै दिनसम्म राजमार्ग अवरुद्ध हुँदा अत्यावश्यक र मालबाहक सवारी प्रभावित बनेका छन्। यही साउन ४ गतेबाट देशैभर अविरल वर्षा भइरहेकोमा बुधबार दिउँसोबाट यस क्षेत्रमा वर्षा कम हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट