

मेलबोर्न- कोरोना भाइरसको महामारी सुरु भएयता अस्ट्रेलियामा पहिलोपटक एकैदिन सबैभन्दा ठूलो क्षति भएको छ। अस्ट्रेलियाली स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार एकै दिन १० जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।
भिक्टोरियाको राजधानी सहर मेलबोर्नमा कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनका कडा नियमहरु जारी गरे पनि कोरोना संक्रमण बढेको र मानिसको मृत्युसमेत हुन थालेको छ।
पछिल्लो मृत्युसमेत हालसम्म कोरोना संक्रमणबाट अस्ट्रेलियामा १५५ जनाको मृत्यु भएको छ। विगत २४ घण्टामा भिक्टोरिया राज्यमा ४५० जना नयाँ संक्रमित भेटिएका छन्।
भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रुले ४० र ८० वर्ष उमेर हाराहारीका दश जनाको मृत्यु भएको जानकारी दिए। तीमध्ये वृद्धवृद्धाको हेरचाह केन्द्रहरुमा फैलिएको संक्रमणका कारण सात जनाको मृत्यु भएको हो।
अस्ट्रेलियामा हालसम्म कोरोना संक्रमितको कूल संख्या करिब १४ हजार छ। तर अस्ट्रेलियामा देखिएको कोरोनाभाइरसको दोस्रो लहरले सरकारमाथि दबाब बढेको छ। सरकारले मेलबर्नमा गरेको लकडाउन दोस्रो साता पुगिसकेको छ, तर संक्रमितको संख्या अझ बढेको छ।
सहरमा मास्क अनिवार्य गरिएको छ भने भिक्टोरिया राज्यलाई अस्ट्रेलियाका अन्य शहरबाट अलग गरिएको छ अर्थात् सम्पूर्ण आवतजावत बन्द गरिएको छ। प्रहरी र सेनाले राज्यका सीमाहरुको निगरानी गरिरहेका छन् भने अन्य राज्यबाट आफ्नो घर फर्कनेहरुलाई अनिवार्य क्वारेन्टीनमा राखिएको छ।
तैपनि, आइतबारमात्र भिक्टोरियामा ४५९ नयाँ संक्रमित भेटिएका छन्। शनिबार पनि यहाँ ३५७ जनामा कोरोना पोजेटिभ भेटिएको थियो।
-एजेन्सी