काठमाडौं- सुरज क्षेत्री उर्फ ‘भ्योमा’ र दीपक कहार उर्फ ‘डी १’ को शब्द र स्वरमा एउटा गीत सार्वजनिक भयो, ‘ढाका धोती’ । गीतको शब्द चयन, रेकर्डिङ र भिडियो निर्माण भइरहँदा दुबैलाई लागेको थियो– गीतले केही न केही पक्कै गर्छ ।
उनीहरूले सोचेजस्तै भयो, गीत सामाजिक सञ्जालमा भाइरल बन्यो । युट्युबमामात्रै ६ लाख ५८ हजार बढीले हेरिसकेका छन् । क्षेत्री भन्छन्, ‘गीतप्रति धेरै आशा थियो । धेरै मेहनत गरेकाले होला, सोचेभन्दा राम्रो प्रतिक्रिया पायौं ।’
०००
लुम्बिनी नजिकैको ठाउँ रुद्रपुर हरैयाँ बजारका हुन् सुरज र दीपक । बच्चैदेखि सँगै हुर्केबढेका उनीहरू खासमा ‘लंगोटियार’ हुन् । दुबैलाई बच्चैदेखि हिपहप मन पर्थ्यो । हिपहपमा नाच्नु उनीहरुको दैनिकी नै थियो । सुरज भन्छन्, ‘आफू नाच्ने गीतहरू सुनेरै गायनमा रुची लाग्यो ।’ विगत पाँच वर्षदेखि उनी हिपहप गायनमा पनि सक्रिय छन् ।
१२ सम्मको पढाईपछि उनले कलेजलाई निरन्तरता दिन सकेनन् । पढ्न नसकेपछि उनले आफ्नो रुचीको काम गायनमा लागे । त्यसका लागि उनले निरन्तर साधना गरिरहे । फुर्सद हुनेवितिकै उनी साधना गर्न बसिहाल्थे । केही अघि उनको खुट्टामा समस्या आयो । त्यसबेला उनले साधनामात्र गरेनन्, हिपहपका लागि शब्द पनि कोरे ।
उनी हिपहपमा केही गर्न चाहन्थे, जम्न चाहन्थे । त्यही दौरानमा उनको भेट ‘स्लम ग्याङ’ सँग भयो । स्लम ग्याङसँग उद्देश्य मिलेपछि हिपहप गर्ने उनको यात्राको सुरुवात भयो ।
यता, दीपक भर्खरै भारतबाट फर्किएका थिए । आफ्नै देशमा केही गर्ने हुटहुटी थियो उनमा । १० कक्षाको पढाइ बीचमै छाडेर कलिलै उमेरमा मजदुरी गर्न भारत पुगेका उनले चार वर्ष होटललगायतका कम्पनीहरूमा काम गरे । ‘आफ्नै कारणले पढाइ छाडेर भारत त गएँ, तर मनले अर्कै केही गर भनिरहेका थियो’ उनी भन्छन्, त्यही भएर गाउँ फर्किएँ ।’
त्यसो त दीपकलाई पनि हिपहप मन पथ्र्यो । तर हिपहपमै केही गर्छु भन्ने उनलाई कहिल्यै लागेको थिएन । उनी भन्छन्, ‘हिपहपमा लाग्छु भनेर त सोचेकै थिइनँ । गर्दै गएपछि रुचि पनि बढ्दै जाँदोरहेछ ।’
दीपकको रुची पनि हिपहपमा छ भन्ने कुरा सुरजले पछि मात्र थाहा पाए । सुरजले फेरि अर्का सहयात्री पनि पाए, जोसँग विचारमात्र होइन, उद्देश्य र लक्ष्य पनि मिल्थ्यो । सुरज भन्छन्, ‘दीपकबाट मैले पनि केही सिक्छु र मबाट पनि दीपकले केही सिक्न पाओस् भनेर सँगै अभ्यास गर्न थालियो । अनि, मिलेर काम पनि गर्न थाल्यौं ।’
दुबै मिलेर शब्द चयन गर्थे । हरेक ‘बिट’मा शब्दलाई ‘फिट’ बनाउन अभ्यास गर्थे । रिदम नमिल्ने शब्दहरू काँटछाँट गर्थें । निरन्तरको मेहनत र अभ्यासपछि उनीहरूको गीत ‘ढाका धोती’ले पूर्णता पाएको थियो ।
त्यसअघि सुरजले २० वटा एकल गीतहरू निकालिसकेका थिए । दिपकले भने चार वटा गीतहरु रेकर्डिङ गराइसकेका थिए ।
०००
भारतबाट फर्किएपछि दीपकलाई आफ्नो अस्तित्व नै नभएको जस्तो लाग्थ्यो । भारतमा रहँदा उनलाई कसैले नेपाली देखेनन्/भनेनन् । पहाड उक्लेपछि सबैले भारतीय भनेर गिज्याए । त्यही कारण आफूलाई अस्तित्वहीन देख्न थाले उनले ।
‘म को हुँ ? मेरो अस्तित्व के हो ? यही कुरा सोचेर कहिलेकाहीँ त फ्रस्टेसन पनि हुन्थ्यो,’ दीपक सुनाउँछन् । मधेसी समुदाय भएकै कारण भोगेका मानसिक तनावहरू भनिसाध्य छैनन् ।
मधेसमा जन्मिएका सुरज त्यहीँ हुर्केकाले होला, मधेसका मानिसहरुसँग उनको आत्मियता थियो । गैरमधेसी भएर पनि उनको मिजासिलो बानीका कारण उनी सजिलै अरुको मनमा बस्न सक्थे । जुन समुदायको भए पनि ‘करियर’ बनाउने दौडमा उनीहरू दुबैको भोगाइ एउटै थियो ।
‘हामीले जे देख्यौं, जे भोग्यौं, गीतमा त्यही प्रस्तुत गर्यौं’ सुरज भन्छन्, ‘हिपहप समाजको प्रतिबिम्ब हो । मधेसप्रति मानिसहरुले कस्तो व्यवहार गरिरहेका छन् भन्ने कुरा हामीले नजिकबाट नियाल्न पायौं । र, गीतमा पनि देखे भोगेकै कुरालाई प्रस्तुत गर्यौैं ।’
मानिसलाई मधेसको भोगाई बुझाउन यो गीतलाई माध्यम बनाएको बताउँछन् सुरज । ‘एउटै शैलीमा मधेसको भोगाईलाई देखाउँदा मानिसले वास्ता नै नगरेको जस्तो लाग्यो,’ उनी भन्छन्, ‘अलि फरक ढंगबाट गयौं भने मान्छेले एकपटक अवश्य सुन्छ । त्यही फरक गर्ने क्रममा यो गीत तयार भयो ।’
गीतमा नेपाली शब्द नराख्नुको कारण मधेसलाई मधेसको वास्तविकता बुझाउने प्रयास भएको दीपक बताउँछन् । मधेसमा निरन्तर भोजपुरी, हिन्दी गीत बज्नुले मधेसको मौलिकता नै हराउन लागेको महसुस दीपकलाई हुन्थ्यो ।
‘यहाँ हिन्दी गीत बज्छ, भोजपुरी गीत बज्छ, तर मधेसको आफ्नै गीत बज्दैन,’ दीपक भन्छन्, ‘यहाँका मानिसलाई हिन्दी, भोजपुरी नै आफ्नो भाषा हो जस्तो लागिसक्यो । त्यही भएर ‘मधेस खासमा यस्तो हो, यहाँ यी भाषा प्रयोग हुन्छन्’ भनेर देखाउन प्रयास गरेका हौं ।’
दीपकले भनेजस्तै गीतको शब्द र भिडियो दुबैमा मधेसको चित्रण गरेका छन् उनीहरुले । मधेस र पहाडलाई गीतका शब्दमार्फत् जोडेका छन् । कुर्ता र धोतीसँगै ढाका–टोपी लगाएर गीतको भावलाई सम्बोधन गरेका छन् ।
सुरज र दिपक एकसाथ भन्छन्, ‘हामी पनि नेपाली हौं । हाम्रो रगतमा पनि नेपालीपन छ । यहाँका जातजाति, समुदायबीचकोे सद्भाव झाँगिएको छ । हामीले गीत र भिडियोमार्फत् यही सन्देश प्रवाह गर्न खोजेका छौं ।’
यो गीतको चर्चासँगै दुबैजनाले घर परिवार र पूरा देशमा वाहवाही पाइरहेका छन् । पहाड–मधेसका सबै नेपालीहरू अवधि भाषाको हिपहप सुनेर रमाइरहेका छन् । यही सफलताले उनीहरूको अगामी यात्रालाई थप मजबुत पारिदिएको छ ।
अब आवश्यता छ, गीत र भिडियोले भनेजस्तै पहाड र मधेसबीचको सद्भावको ।