बालुवाटार बैठकपछि ओली-प्रचण्ड समूहको आ-आफ्नै भेला-Sutra News

बालुवाटार बैठकपछि ओली-प्रचण्ड समूहको आ-आफ्नै भेला

आइतबार, १८ साउन २०७७

आइतबार, १८ साउन २०७७

काठमाडौं- पाँच दिनसम्मको शून्यतालाई तोड्दै एकअर्कासँग भेटघाट गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रका दुई मुख्य समूह आ-आफ्नै भेलामा जुटेका छन्।



नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता झलनाथ खनाललाई लिएर आइतबार बिहान करिब पौने १० बजे अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार छिरेका थिए।

प्रचण्डसँग भेट्दा ओलीका साथमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ थिए। बिहान बालुवाटारको बैठकमा बसेका नेता नेम्वाङले दिउँसो सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा केही पत्रकारसँग गफिए।

पत्रकारहरुसँग उनले दुई अध्यक्षबीचको बैठक सकरात्मक भएको संकेत गरे। ‘आजको छलफल ग्रिन टीसहित भएको थियो,’ नेम्वाङको भनाइ थियो, ‘भोलिको बैठक जेरीसहित बस्ने भएको छ।’

आ-आफ्नै भेला
बालुवाटारमा करिब तीन घण्टा गफिएपछि ओली र प्रचण्डले आ-आफ्नै समूहको भेला गरेका छन्।

ओलीलाई भेटेपछि प्रचण्डले आफ्नो निवास खुमलटारमा आफू पक्षीय नेताहरु नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उक्त भेटबारे ‘ब्रिफिङ’ गरिरहेका छन्। प्रचण्डले दुई नेतालाई बैठकबारे ब्रिफिङ दिँदा नेता खनाल पनि साथमै थिए।

नेताहरुलाई प्रचण्डले के ब्रिफिङ गरे भन्नेचाहिँ यो समूहले खुलाएको छैन।

त्यस्तै ओलीले पनि आफ्ना समूहका नेताहरुलाई प्रचण्डसँगको भेटपछि सक्रिय बनाएका छन्। आइतबार दिउँसो सिंहदरबारमा ओली पक्षीय नेताहरु नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल र राजन भट्टराईबीच दिउँसो छलफल भएको थियो।

यो समूले पनि के बारेमा छलफल गर्‍यो भन्ने खुलाएको छैन। १३ साउनमा डाकिएको स्थायी कमिटी बैठक ओलीले एकलौटी स्थगित गरिदिएपछि प्रचण्ड र नेपाल पक्षका नेताहरुको अलग्गै बैठक बसेको थियो।

प्रचण्ड–नेपाल पक्षका २९ स्थायी कमिटी सदस्यसहित बसेको बैठकले ओलीसँग सहमति गरी जारी विवाद टुंग्याउने जिम्मा प्रचण्डलाई नै सुम्पिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट