‘आजकल समाचार पढ्न छाडियो,’ शिक्षित समुदायबाट बारम्बार यस्तो भनाइ सुन्न थालेपछि एउटा प्रश्नको जन्म भयो, ‘समाचारको व्यापार कसरी फस्टाइरहेको छ ?’
सबैभन्दा पहिला त समाचारको व्यापार भइरहेको छ भन्नेतर्फ समाजले अफ्नो ध्यानाकर्षण गर्नु जरुरी छ । अन्य वस्तुको व्यापारको आफ्नै आवश्यकता होला । तर सूचना र शिक्षाको व्यापार समृद्ध मानव समाजको निर्माणमा अत्यन्त जिम्मेवार र संवेदनशील हुन्छ । र, यसतर्फ प्रश्न उठ्नु अत्यन्त आवश्यक हुन्छ । तर प्रश्न सोध्ने मिडियालाई उल्टै कसले प्रश्न गर्नेे ?
वर्षाैंदेखि हरेक दिन थुप्रै समाचार गृहहरूद्वारा प्रकाशन हुने समाचारहरूको मूल चरित्र, आधारभूत अवधारणा र सामग्रीहरू उस्तै देखिन्छन् । त्यस्ता समाचारले पाठकको मनोविज्ञानमा निराशा, आक्रोश र तनावको प्रक्षेपण गर्छन् । जसका कारण पाठक-श्रोताहरू मानसिक बिरामी हुने स्थितिको विकास भइसकेको छ । समाचारहरूमा राज्य, सत्ता, शासक, शक्तिशाली, आधिकारिक निकायहरूले गरेका लापरवाही, अराजकता, अनियमितता, हिंसा, अन्याय, अपराध, भ्रष्टाचार, अन्यौलता आदिकै प्रतिनिधित्व भइहेको पाइन्छ । यसले गर्दा देश, समाज र शासनमा सकारात्मक परिवर्तन संकेत पाउन नसकेपछि आफ्नो आत्मसम्मान, धैर्यता, उत्साह, आशा मर्न थालेको अनुभूति गरेपछि मानसिहरू यस्तो बाध्यात्मक निर्णय लिन थालेका छन् । कसै–कसैले हेरिहाले पनि हेडलाइन पढेर समाचार विवरणलाई छाडिदिन थालेका छन् ।
समाचारको अस्तित्व तबमात्र हुन्छ, जब घटना घट्छ । समाचार जन्मन घटना घट्नुपर्छ । यसर्थ पनि घटना घट्नु पछाडि समाचारको पनि भूमिका हुन सक्छ भन्नेतर्फ शंकास्पद् दृष्टिकोण विरलै राखिएको पाइन्छ ।
उसका प्रश्नहरूको पछाडि नाफाको तरबारहरू झुन्डिरहेको देख्न पाइन्छ । कस्ता प्रश्नले भीड उद्देलित हुन्छ, माहोल तात्छ, अनि मालिकको प्रतिनिधि खुसी हुन्छ भन्ने निरन्तर दबाबका बीच सोधिने प्रश्नले मानव समाजलाई प्रतिनिधित्व गर्छ कि गर्दैैन ? त्यसमाथि प्रश्न गर्नुपर्ने आवश्यकता देखिन्छ ।
समाजमा व्याप्त घटना–प्रकृति हेर्दा समाचार प्रकाशन संस्थाहरू जिम्मेवार छन् कि छैनन् भनेर प्रश्न गरिने, त्यति विश्वसनीय नलागे पनि प्रश्न सोच्नै हुन्न भन्ने पनि त छैन । समाचारहरू रोमाञ्चक, विशेष र आकर्षक बनाउने उद्देश्यका साथ जसरी प्रस्तुत र प्रसारण गरिन्छ, त्यसले घटना घटाउनेहरूलाई विशेष परिचय उपलब्ध गराउँछ । र, ‘आइडेन्टिटी क्राइसीस’बाट गुज्रिरहेको मानव समाजमा एउटा सम्भावनाको ढोका उघारिदिन्छ ।
धेरै समाचार र कार्यक्रमहरूको प्रस्तुतीकरणले पीडितलाई भन्दा पीडकलाई विशेष अस्तित्व उपलब्ध गराएको नकरात्मक असर देखिन्छ । अर्कोतर्फ, ती समाचारहरूको आधारमा कुनै अमूक शक्तिले मानिसभित्र विशेष दबाब दिइरहेको अनुभूति गर्न सकिन्छ ।
अपराध, हिंसा, भ्रष्टाचार आदिको प्रभावका कारण मानिसको मनोबल गिराइरहेको अवस्थामा कसलाई फाइदा भइरहेको छ ? भन्नेतर्फ पनि ध्यानाकर्षण हुनु आवश्यक छ ।
यसले कतै सत्ता, बजार र धर्मलाई नै सहयोग पुर्याइरहेको त छैन ? एउटा त्रसित मान्छेले सत्तालाई प्रश्न गर्दैन, धर्मको आश्रय लिन्छ र बजारमा आफूलाई हराउन चाहन्छ । यो मानव समृद्धि र स्वतन्त्रताका लागि अत्यन्तै खतरनाक संकेत हो । जसले के स्पष्ट देखाउँछ भने मानिस आफ्नो विवेक गुमाउँदैछ र भीडको उद्देलितालाई ऊ विना प्रश्न पछ्याउन बाध्य भइरहेको छ । यसले भीडतन्त्र र अतिवाद हाबी हुने स्थिति बनिरहेको छ ।
आफूलाई आधिकारिक ठान्ने समाचार गृहहरूसँग अर्को एउटा हतियार छ, प्रश्नरूपी । जसलाई जहाँ जसले पनि प्रश्न गर्ने अधिकार रहेको अवधारणा बोकेर माइक, क्यामेरा र रेकर्डर तेर्साइरहँदा उसले कमै सोचेको उदाहरण छ कि आफ्नो प्रश्नले कसलाई फाइदा पुर्याइरहेको छ ?
उसका प्रश्नहरूको पछाडि नाफाको तरबारहरू झुन्डिरहेको देख्न पाइन्छ । कस्ता प्रश्नले भीड उद्देलित हुन्छ, माहोल तात्छ, अनि मालिकको प्रतिनिधि खुसी हुन्छ भन्ने निरन्तर दबाबका बीच सोधिने प्रश्नले मानव समाजलाई प्रतिनिधित्व गर्छ कि गर्दैैन ? त्यसमाथि प्रश्न गर्नुपर्ने आवश्यकता देखिन्छ ।
आवश्यक प्रश्नभन्दा पनि रोमाञ्चक प्रश्नहरूतर्फ उन्मुख प्रश्नका व्यापारीहरूलाई अब प्रश्न गर्नैपर्छ– तिम्रो प्रश्न कसका लागि हो ? समाचार र प्रश्नको धारिलो तरबार बोकेर लाइक, सेयर, भ्युज, सब्सक्राइबरको रणभूमिमा होमिएका समाचार गृहहरू र तिनका मालिकहरू आफ्नो दबाब र स्वार्थ पत्रकारिताको आवरणमा आम मानिसका मनोविज्ञानलाई आफूअनुरूप बनाउन अनेकौँ तिकडम गरिरहेका छन् ।
यसका लागि मूलरूपमा समस्या समाधानभन्दा पनि समाचार खेलाइरहने चरित्रलाई आत्मसाथ गरिरहेका छन् । समस्या समाधान भएको अवस्थामा समाचारहरूको पनि अन्त्य हुन्छ भन्ने उनीहरूले बुझेका छन् । त्यसकारण आफ्नो खुट्टामा आफैँ बञ्चरो हान्ने भूल उनीहरू गर्दैनन् । उनीहरू मानिसलाई समाचारको ‘एडिक्ट’ बनाउने प्रयत्न गरिरहेका छन्, जसका लागि मान्छेका दुःख र वेदनामा रङ र आकार भरिदिएर पस्किरहेका छन्, आँशु बेचिरहेका छन् ।
अत्यन्त विरोधाभाष भित्रबाट पत्रकारिताले कसरी शक्तिहीन, सामर्थ्यविहीन, स्रोत–साधनविहीन, अवसरविहीनहरूको समाचार र प्रश्नहरू यथार्थपरक र सार्थक ढंगले प्रतिनिधित्व गर्छ, त्यो आफैँमा रहस्यको विषय हो ।
पीडा उसका लागि मसला भएको छ र पीडाको खोजीमा ऊ चारैतर्फ फैलिएको छ । त्यसैको आधारमा मानिसलाई गफमा सीमित गराइदिएको छ । यसो गर्दा मान्छे त्यसमै रमाइरहने भयो । किनकि मान्छेको प्रवृति नै अर्काको दुःखमा रमाउने हुन्छ । ऊ मानिसलाई विवेकशील हुन दिन प्रयत्न गर्र्दैन । मानिस विवेकपूर्ण भयो भने समस्याको स्रोत र प्रभाव खोज्नतर्फ लाग्छ र समाधान उन्मुख हुन्छ ।
यति धेरै समाचार गृहले उपलब्ध गराउने सूचनाकै आधारमा यदि समाज विवेकपूर्ण हुने हो भने त आज हामीले समृद्ध मानव समाज हात पार्नुपर्ने हो । तर हाम्रो यथार्थ त झन् भयावह हुँदैछ । किन ? किन यत्रा मिडिया संस्थाहरू समाजलाई सहज बनाउन सकिरहेका छैनन् ? यो प्रश्न हामीले नसोध्ने ?
यी केही महत्वपूर्ण प्रश्नहरू गरिरहँदा सत्य अगाडि बाहुबली भएर आउँछ, त्यो समाचार गृह स्थापना पछाडिको लगानी । लगानीकर्ताहरू समाजका सम्पन्न र शक्तिशाली वर्गका हुन्छन् । त्यही वर्गकै स्वार्थका कारण यही मानव समाजमा शक्तिविहीन, सम्पन्नताविहीन वर्ग शोषित, दमित र पीडित भएको छ ।
वर्गीय हिसाबले पनि कमजोर समुदायको यथार्थ र अनुभूति नबुझ्ने वर्गले स्थापना गर्ने यी समाचार गृहले कसको आवाज र बोली बोल्नेछ, त्यो जगजाहेर छ ।
अत्यन्त विरोधाभाष भित्रबाट पत्रकारिताले कसरी शक्तिहीन, सामर्थ्यविहीन, स्रोत–साधनविहीन, अवसरविहीनहरूको समाचार र प्रश्नहरू यथार्थपरक र सार्थक ढंगले प्रतिनिधित्व गर्छ, त्यो आफैँमा रहस्यको विषय हो । यसरी हेर्दा कति गहिरो षड्यन्त्रको भाषमा आम मानिस फसिरहेको छ भन्ने संकेत पाउन सकिन्छ ।
लेखक फिल्म निर्देशक हुन्।