भरतपुर- जिल्ला प्रशासन कार्यालय चितवनले कुनै पनि भेला र बैठक नगर्न निर्देशन दिएको छ। प्रशासनले आज एक सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै भेला र बैठक नगर्न निर्देशन दिएको हो।
जिल्लामा केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला र अन्य संघसंस्थाले बैठक तथा भेला गरेको सूचना प्राप्त भएको भन्दै प्रशासनले कोरोनाको जोखिम यस्ता कार्यक्रममा उच्च हुने हुँदा कुनै पनि भेला र बैठक नगर्न भनेको छ।
निर्देशनलाई अवज्ञा गरी त्यस्ता कार्य गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। चितवनका सातवटै स्थानीय तह, जिल्ला सहकारी सङ्घ, शिक्षा विकास तथा समन्वय एकाइ र विभिन्न सङ्घसंस्थालाई प्रशासनले सूचना पठाएर आवश्यक समन्वय र सहयोग गरिदिन अनुरोध गरेको छ।