सम्पदा मल्ल फिल्म लेखक हुन् । करिब ६ वर्ष बलिउडमा रहँदा उनले ‘यह रिस्ता क्या कहलाता है’, ‘इस्क का रङ सफेद’लगायत टिभी सिरियलमा पटकथा लेखकका रूपमा काम गरिन् । केही समययता नेपाली फिल्ममा सक्रिय रहेकी उनले लेखेको पहिलो नेपाली फिचर फिल्म हो, ‘कठपुतली’ । नेपाली फिल्म क्षेत्रमा देखिएका विवाद, महिला फिल्मकर्मीका समस्या आदि विषयमा केन्द्रित रहेर उनीसँग सूत्रन्युज डटकमका लागि निशा बजगाईँले गरेको कुराकानीः
लकडाउनमा तपाइँको दैनिकी कसरी बित्यो ?
लकडाउनको समय मेरो निम्ति एकदमै व्यस्त रह्यो । लकडाउनको समयमा मैले ‘लकडाउन रनडभुज विथ सम्पदा मल्ल’ भन्ने सेसन चलाए । अनलाइनबाटै सो कार्यक्रम सञ्चालनमा ल्याएँ । अनलाइनबाटै स्क्रिप्ट राइटिङका कक्षाहरू चलाएँ । यो लकडाउनको समयमा नयाँ अनुभूति के भयो भने डिजिटल माध्यमबाट कसरी सिर्जनात्मक काम हुँदै रहेछ भन्ने कुराको अनुभव गरेँ । त्यसैले, मेरो हरेक दिन नै सिर्जनात्मक काममै बित्यो ।
उता गएपछि म जहाँ काम गर्थे त्यहाँ एक जना पुरुष लेखक हुनुहुन्थ्यो ४५ वर्ष जतिको । उहाँले मलाई आफ्नो कोठामा बोलाउने र आफूलाई असहज लाग्ने गरी व्यक्तिगत कुराहरू सोध्ने, राति अबेर म्यासेज गर्नुहुन्थ्यो ।
तपाईँले भारतीय सिरियलहरूमा ‘स्क्रिनप्ले’ लेखिसक्नु भएको छ । उता (मुम्बई) र यता काम गर्ने तरिकामा के फरक पाउनुभयो ?
त्यस्तो साह्रो अन्तर छैन । क्रिएटिभ काम गर्ने शैली जता पनि उस्तै हो । मैले सधैं भनिरहने चिज हो, नेपालमा ट्यालेन्टको कमि छैन । अन्तर भनेको ‘एक्स्पोजर’मा मात्रै हो । उता अलि ठूलो एक्स्पोजर छ, यता सानो । त्यसैले पनि, नेपाल आएर काम गर्न थाल्दा मैले त्यस्तो धेरै फरकपन पाइनँ ।
मलाई लाग्छ, नेपालका कलाकारहरू बढी मिहेनती छन् । मुम्बईको टेलिभिजन क्षेत्रमा एकदम धेरै बजेट हुन्छ । बजेट धेरै भएकाले जनशक्ति पनि बढी नै हुन्छन् । हरेक कामका लागि बेग्लाबेग्लै विभाग बनाइएको हुन्छ र त्यहीअनुसार पारिश्रमिक पनि दिइन्छ ।
तर, नेपालमा सीमित लगानीमा काम गर्नुपर्ने हुन्छ । कम लगानीमा काम गर्नुपर्ने अवस्था हुने भएकाले १० वटा काम एकै जनाले भ्याउनुपर्ने अवस्था आउँछ । पैसाभन्दा पनि रुचिले यहाँसम्म पु¥याएकाले काम गरिन्छ । नेपालमा सिनेमाप्रतिको प्रेम, कलाप्रतिको मोहका कारण काम गर्ने प्रवृति भारतभन्दा निकै बढी छ । त्यसैले पनि म भन्ने गर्छु, पैसाले हामीलाई साथ दियो भने ट्यालेन्टको कमि पटक्कै छैन । हाम्रो कमि भनेको बजेट र एक्सपोजरको हो ।
लकडाउनका समयमा नेपालमा चलचित्र क्षेत्रका थुप्रै कुरा बाहिर आए । हलिउड र बलिउडमा निकै चलेको ‘मिटु मुभमेन्ट’का केही घटनाहरू नेपालमा पनि बाहिरिए । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कलाकार भुवन केसीले आफूमाथि गरेको दुव्र्यव्यहारको अनुभुति बाहिर ल्याइन् । तर, यसले खास बहसको स्थान लिन सकिरहको देखिँदैन, तपाईँ के भन्नुहुन्छ ?
‘मिटु मुभमेन्ट’को सुरुवात कहाँबाट भयो त्यसको इतिहासमा जान चाहन्छु । हार्भे वेन्स्टनमाथि एक अमेरिकी अभिनेत्रीले बोल्नुभयो, तब उहाँ एउटा आवाज बन्नुभयो । उहाँसँगै यो मिटु मुभमेन्टको सुरुवात भयो । यससँगै अमेरिकाका विभिन्न वर्गका महिलाहरूले आवाज उठाउनुभयो । त्यही कुरा २०१७ तिर भारतमा पनि आयो ।
भारतमा तनुश्री दत्तले यो विषयमा बोल्नुभयो । त्यसपछि धेरै महिलाहरू यो विषयमा बोल्न सुरु गरे । सेलिब्रेटीको कुरा हामीलाई सहजै थाहा हुन्छ, तर अरुको थाहा हुँदैन । त्यसैले, सेलिब्रेटीले बोलेपछि धेरै जनाले मलाई यस्तो भएको छ भन्दै बोल्न थाल्नुभयो । नेपालमा पनि साम्रज्ञीको केसभन्दा पनि केही अगाडि ‘मिटु मुभमेन्ट’ देखिएको थियो ।
बाहिरी देशमा जसले बोले, त्यसकै आधारमा तत्काल कदमहरू पनि चालिए । कतिपयलाई मिटु मुद्दामा मुछिएकै कारण सिनेमा तथा टेलिभिजनका कार्यक्रमहरूबाट निकालियो पनि । तर, नेपालमा हामीले त्यो किसिमको अभियानको स्वरुप देख्न पाएनौं । नेपालमा यो मुद्दाले ठूलो रुप लिन पाएन । तर, यसो भन्दा मिटु अभियानले नेपालमा साथ नै नपाएको भने होइन । कतिपय चर्चित व्यक्तिहरूले, बौद्धिक तथा अभियन्ताहरूले यो विषयमा आफ्नो कुरा राख्नुभयो । तर, यो मुद्दा जति ठूलो आवाजमा निस्किनुपर्ने थियो, जति ठूलो आगो बल्नुपर्ने थियो, त्यस्तो भएन । भारत वा अन्य देशमा एक जनाले बोल्नेवित्तिकै ‘मिटु’ले जस्तो रूप लियो, त्यस्तो नेपालमा देखिएन ।
हामीसँग अदालतलाई देखाउन प्रमाण त हुँदैन । हामीसँग अनुभूति मात्रै हुन्छ । कि त आफूलाई कसैले दुर्व्यवहार गरिहाल्छ कि भनेर सधैँ शरीरमा ‘हिडन’ क्यामेरा बोकेर हिँड्नुपर्ने, नत्र त कहाँबाट ल्याउने प्रमाण ?
त्यसको अर्थ नेपालमा महिला कलाकारले दुर्व्यवहार नै भोग्नु पर्दैन भन्ने अवस्था त होइन नि ?
महिला भएको नाताले मलाई के लाग्छ भने, हरेक महिलाले कुनै न कुनैरूपमा, कम्तीमा एउटा यौन दुव्र्यवहारको घटना भोगेकै हुन्छ । हामीले बच्चा बेलामा होस् वा ठूलो भएपछि यस्तो कुरा भोगेकै हुन्छौं । भलै त्यसको शैली फरक होला । महिलालाई कतै न कतैबाट कुनै न कुनैरूपमा हिजो पनि पीडामा पारिन्थ्यो, दुव्र्यवहार गरिन्थ्यो, त्यो क्रम आज पनि रोकिएको छैन । अहिले त झन् पराकाष्टा नै देखिएको छ ।
अस्तीमात्र युवतीमाथि एसिड हानियो । कहिलेकाँही यी सब घटना देख्दा र सुन्दा लाग्छ– के हामी महिलाहरू सधैँ चुप बस्नुपर्ने हो ?
अहिले साम्रज्ञीकै मुद्दा हेर्ने हो भने उनलाई दुर्व्यवहार भएको धेरै पछि बोलेको भन्ने कुरा आइरहेको छ । बोलेको कुराको प्रमाण खोइ भन्ने कुरा पनि सुनियो । तर, जसलाई आरोप लाग्यो, उसमाथि कमैले प्रश्न गरिरहेका छन् । यसमा तपाईँको राय के हो ?
यहाँ सबै महिलाहरू सही हुन्छन् भन्ने पनि होइन, सबै पुरुषहरू गलत हुन्छन् भन्ने पनि होइन । यौन दुव्र्यवहार सायद पुरुषहरूलाई पनि भएको हुनसक्छ । सायद, उहाँहरू पनि चुप लागेर बस्नुभएको हुनसक्छ ।
त्यसैले, यहाँ दुर्व्यवहार मुख्य विषय हो । नेपालमा साम्रज्ञीले आफूलाई दुर्व्यवहार भएको धेरै वर्षपछि निकाल्नुभयो । तर त्यो बेला नबोलेर यो बेला किन भन्नेहरू पनि निस्किए । यो महिलाले सधैँ सामना गरिरहने प्रश्न हो । तर, म साम्राज्ञीको हिम्मतलाई सलाम गर्छु । हरेक महिलासँग यस्ता घट्नाहरू हुन्छन् । हामीले त्यो समयमा विभिन्न कारणले भन्न सकेनौं होला । त्यो किन सकेनौं, अर्को विषय हो ।
सायद, सामाजिक परिवेश, आत्मविश्वासलगायत कुराहरू कारण थिए होलान् । यौनलाई अझैं पनि हाम्रो समाजले खुलेर हेर्न सकेको छैन । यस्तो बेला यौन दुर्व्यवहारबारे कुरा गर्दा परिवार र समाजले के भन्ला भन्ने थियो होला । धेरै कुराहरूको कारण हामी त्यति बेला बोलेनौं होला । तर, वर्षौंपछि जब कोही बोल्छ, त्यो बेला हाम्रो अनुभूति, हाम्रो मनमा गुम्सिएको पीडालाई केही कम पनि गरिरहेको हुन्छ । वर्षौंदेखि मनमा गुम्सिएका कुरा बोलेर आफूलाई हलुका पनि पारिरहेको हुन्छ ।
यसरी बोलिसकेपछि तत्कालै अन्य देशहरूमा प्रतिक्रिया आएका छन् । हलिउडमा पनि बोलेसँगै प्रतिक्रिया आएको छ, बलिउडमा पनि त्यस्तै छ । तर, त्यसपछि जब मुद्दा अदालतमा पुग्छ, तब प्रमाण खोजिन्छ । हामीसँग अदालतलाई देखाउन प्रमाण त हुँदैन । हामीसँग अनुभूति मात्रै हुन्छ । कि त आफूलाई कसैले दुव्र्यवहार गरिहाल्छ कि भनेर सधैँ शरीरमा ‘हिडन’ क्यामेरा बोकेर हिँड्नुपर्ने, नत्र त कहाँबाट ल्याउने प्रमाण ? प्रमाण नहुँदा बोलेको वा अनुभूतिको भरमा न्याय पाउन गाह्रो देखिन्छ ।
त्यसैले होला, मिटु मुभमेन्टले कतैपनि कहिलेपनि मुद्दालाई निश्चित ठाउँमा पुर्याउन सकिरहेको छैन । झन् नेपालमा त एसिड अट्याक, बलात्कारजस्ता देखिएकै कुराहरूमा त न्याय मिल्न सकेको छैन, झन् दुर्व्यवहारको विषय त बोलेकै भरमा कसरी न्याय पाइएला र ? यो सब देख्दा कहिलेकाँही त लाग्छ, कतै यो हाम्रो मुर्खता त होइन ?
तपाईँ आफूले व्यक्तिगतरूपमा यस्तो दुर्व्यवहार भोग्नुभएको छ/छैन?
अघि नै भनिसकेँ, हरेक महिलाले कतै न कतै, कुनै न कुनै बेला यस्तो दुव्र्यवहार भोगेकै हुन्छ । सायद त्यो तपाईँले पनि भोग्नुभएको छ, मैले पनि । मैले नेपालमा त यस्तो भोग्नु परेको छैन । सायद, नेपालमा मेरो पारिवारिक परिवेशले गर्दा पनि मैले भोग्नु परेन होला । तर, म बम्बई जाँदाको सुरुवातमा यस्तै एउटा घटना भोग्नुपरेको थियो ।
स्वामी रामदेवले छाती देखाएर लुंगी लगाएर बस्दा हामी त्यसलाई सामान्य, अध्यात्मिकरूपमा लिन्छौं । तर, त्यही ठाउँमा एउटा महिला योगी वा महिला भएको भए के हामी यसरी नै त्यो कुरालाई सामान्य रूपमा लिन्थ्यौं ?
म त्यो बेला भर्खर २२ वर्षकी थिएँ । बम्बई जाने एउटा नेपाली केटी भनेपछि आफैँमा एउटा कदम थियो । त्यस्तो हुँदा पनि आमाबुबाले मलाई जाउ भन्नुभयो । उता गएपछि म जहाँ काम गर्थे त्यहाँ एक जना पुरुष लेखक हुनुहुन्थ्यो ४५ वर्ष जतिको । उहाँले मलाई आफ्नो कोठामा बोलाउने र आफूलाई असहज लाग्ने गरी व्यक्तिगत कुराहरू सोध्ने, राति अबेर म्यासेज गर्नुहुन्थ्यो । उहाँको त्यो व्यवहारले म आफैँलाई असहज महसुस भएको थियो ।
मेरा लागि त्यो पहिलो घटना थियो । त्यो घटनाबारे परिवारमा भनेको भए त्यो बेला नै फर्किएर आउ भनिहाल्नुहुन्थ्यो । के गर्ने त भनेर साथीहरूसँग सल्लाह गर्दा उनीहरूले मलाई ‘डिल’ गर्नुपर्छ भन्ने सुझाव दिनुभयो । मैले एकदिन आफूलाई असहज भएको कुरा उहाँलाई भने पनि । विस्तारै पछि मैले त्यो काम पनि छाडे । त्यसबाहेक मैले अरु दुव्र्यवहार भोगेको छैन ।
सामाजिकरूपमा महिलालाई तल र पुरुषलाई माथि सोचिने गरिन्थ्यो । तर, अहिले केही फरकपन आएको छ । केही अन्तर आए पनि समाजमा अझै पनि महिलाहरू पछि परेको जस्तो देखिन्छ । के लाग्छ तपाईँलाई ?
स्वामी रामदेवले छाती देखाएर लुंगी लगाएर बस्दा हामी त्यसलाई सामान्य, अध्यात्मिकरूपमा लिन्छौं । तर, त्यही ठाउँमा एउटा महिला योगी वा महिला भएको भए के हामी यसरी नै त्यो कुरालाई सामान्य रूपमा लिन्थ्यौं ?
साम्रज्ञीकै विषयमा मैले फेसबुकमा पनि लेखेको थिएँ । केही समयअघि साम्रज्ञीलाई बिकिनी लगाएको विषयमा निकै चर्चा गरिएको थियो । साम्रज्ञीको ठाउँमा अन्य महिला हुन्थे भने पनि त्यस्तै हुन्थ्यो । तर, त्यो ठाउँमा कुनै पुरुष हुँदा यस्तो चर्चा हुन्थ्यो त? पक्कै हुँदैन थियो । हाम्रो सामाजिक परिवेश, सामाजिक पृष्ठभूमि नै यसरी बढ्दै गएको छ ।
केही मात्रामा समाजमा यस्ता समस्याहरू थोरै हटिरहेका छन् । र, यो पूर्णरूपमा नै हट्नु जरुरी छ । यो विषयमा आवाज त केही उठिरहेको छ । तर, जति उठ्नुपर्ने हो, त्यति छैन ।
यी सबै समस्याहरूको समाधानका लागि के गर्नुपर्छ जस्तो लाग्छ ?
शिक्षा चाहिने हो किजस्तो लाग्छ । तर, शिक्षितहरूले नै दुव्र्यवहार गरेका थुप्रै घट्नाहरू छन् । अशिक्षित भए पनि कतिपयहरूसँग आफ्ना नैतिक मापदण्डहरू भएका पनि देखिन्छन् । अब यसको समाधानका उपाय के हो भन्ने कुराको जवाफ पाउन नेपालमा मात्रै होइन, संसारमै संघर्ष भइरहेको छजस्तो लाग्छ ।
कतै न कतै एउटा पुरुषले पनि महिलालाई छुनु वा महिलालाई दुर्व्यवहार गर्नुभन्दा अगाडि उनीहरूलाई नैतिकता याद आउनुपर्छ । किनभने यो कुरा दानवीय प्रवृत्ति हो । कुनै मानिसमा नैतिकता नै छैन भने त्यो कसरी जगाउने?
अहिले विस्तारै परिवर्तन हुँदैछ । हामीले बाल्यकालमा देखेकोभन्दा केही परिवर्तन भएको पनि देखिन्छ । त्यसैले, अबको पुस्ताका अभिभावकहरूले आफ्ना सन्तानलाई राम्रोसँग हुर्काउन सक्यो, आफूलाई कसैले दुर्व्यवहार गरेको भएमा बोल्नुपर्छ भन्ने सिकाइयो भने विस्तारै यो कुराहरू समाधान हुन्छ होला ।
र, एउटा फिल्ममेकर भएको नाताले भन्ने हो भने यी सब हुनुपछाडि कतै न कतै फिल्मको पनि हात छ । हामी यस्तो एउटा माध्यममा छौं, त्यसले समाजमा कस्तो असर पारिरहेको छ भन्ने कुराको पनि ध्यान राख्नुपर्छ ।
यी कुराहरूले पनि प्रभाव पारिरहेका हुन्छन् । त्यसैले फिल्मको कन्टेन्टमार्फत् हामी समाजलाई के देखाइरहेका छौँ, त्यसले समाजमा कस्तो प्रभाव पार्न सक्छ, यसको हेक्का राख्नुपर्छ । महिलालाई वस्तुको रूपमा देखाउनुहुँदैन ।