‘अटो ट्युन’को भरमा नाङ्गिदैछन् गायक–गायिका-Sutra News

‘अटो ट्युन’को भरमा नाङ्गिदैछन् गायक–गायिका

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

काठमाडौं–हप्ता दिनअघि एक अन्तर्वार्तामा गायक दुर्गेश थापालाई मन परेका सर्जकको गीत गाउन आग्रह गर्दा अकमकिए । उनी आफैँले नाम लिएका गायकहरूको गीत स्पष्टसँग गाउन सकेनन् । उक्त अन्तर्वार्तापछि दुर्गेशको गायकीलाई लिएर निकै आलोचना भइरहेको छ । संगीतकर्मीदेखि दर्शक–स्रोतासम्म सबैले उनलाई ‘अटो ट्युनको प्रयोगबाट हिट भएका गायक’ भन्दै आलोचना गरिरहेका छन् ।



गायिका अञ्जु पन्तले दुर्गेश थापाले संगीतका कक्षा लिनुपर्ने बताइन् । ‘जोसुकै होस् संगीतमा छिरेपछि आफ्ना अग्रजप्रति जिम्मेवार हुनैपर्छ,’ अञ्जुले सुत्रन्युजसँग भनिन्, ‘उहाँले अब आफ्नो आवाजलाई निखार्न संगीतका कक्षाहरू लिदाँ राम्रो हुन्छ ।’ त्यस्तै,गायिका आस्था राउतले पनि उक्त घट्नापछि ‘फेसबुक’मा टिप्पणी गर्दै लेखेकी छन्, ‘नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ, न ताल । अटो ट्युनले आजकल जो पनि गाउने ।’

यस किसिमको गायकीले युट्युबबाट डलर आए पनि सांगीतिक ज्ञान नआउने राउतको टिप्पणी छ । ‘हेर्दैछु नेपाली गीतसंगीत कहाँ जाँदैछ । के दर्शकलाई यस्तै चटक मन पर्दैछ ?’ दुर्गेशको यो घटनापछि संगीतकर्मी र संगीतका पारखीमाझ नयाँ पुस्ताले गाउने गीतमा वास्तविक आवाज नभएर ‘अटो ट्युन’कै भर परेको भन्ने बहस सिर्जना गरिदिएको छ ।

गायिका कुन्ती मोक्तानले प्रविधिको विकाससँगै संगीत क्षेत्रमा आएको परिवर्तनले केही नकरात्मक असर पारेर यस्तो घट्ना भएको बताइन् । अहिले नयाँ पुस्तामा कतिपय गायक गायिकाले प्रविधिमाथि भर परेर ‘अटो ट्युन’को भरमा गीत रेकर्ड गर्छन् । जसका कारण सांगीतिक क्षेत्रमै नकरात्मक असर परेको उनको भनाइ छ । उनले अहिले गीतसंगीत कला र गलाले नभएर पैसाको भरमा चलिरहेको बताइन् ।

केही दशकअघि गीत संगीतको सिर्जनामा साधना हुने उनी सम्झिन्छिन् । सीमित स्रोत साधान र प्रविधि भए पनि त्यसबेला कालजयी गीतहरू गाइएका छन् । ‘गोपाल योञ्जन, भक्तराज आचार्य, नारायण गोपाल, तारादेवीजस्ता स्रष्टाहरूको आवाजमा सदावहार गीतहरूको जन्म त्यही सीमित स्रोत साधनको प्रयोगबाटै भएको हो,’ उनी भन्छिन् ।

उनी विगत सम्झिँदै भन्छिन्, ‘त्योबेला वाद्यवादन गर्नेदेखि गाउने मान्छे सबैले अभ्यास गर्थे । रेकर्ड गर्दा गीतलाई उत्कृष्ट बनाएर गाउनुपथ्र्यो ।’
तर, अहिले अवस्था निकै सहज भएको छ । गीत रेकर्ड गर्न आफ्नो पालो कुर्नु पर्दैन । रेकर्डिङ स्टुडियोमा सजिलै पहुँच पाइन्छ । संगीतकार, गायक–गायिकाले छुट्टाछुट्टै स्टुडियोमा गएर पनि गीत रेकर्ड गर्न सक्छन् । अहिले उत्पादन भइरहेको गीतसंगीतमा साधनाको अभाव रहेको मोक्तान बताउँछिन् । ‘अटो ट्युन’माथि नै भर परेर गीत गाउनेहरू धेरै देखिन्छन् । यसले साधनाको कमि देखिएको छ ।’ यसरी ‘अटो ट्युन’को प्रयोग गरेर चर्चामा आएकाहरूले दर्शक–स्रोतामाझ प्रस्तुत हुनुपर्दा उनीहरुको वास्तविकता देखिने मोक्तान बताउँछिन् ।

संगीतकार हरि लम्सालले अहिलेका नयाँ पुस्ताले ‘अटो ट्युन’को भर पर्दा दुर्गेशको जस्तो परिस्थिति सिजर्ना भएको बताउँछन् । ‘प्रविधिको विकाससँगै गीतसंगीत क्षेत्रमा विभिन्न घट्ना घटेका छन् । रहर पूरा गर्न गीत गाउनेहरूले अलि बढी अपेक्षा गरेर अगाडि बढ्दा यस्ता घट्ना घटेका हुन्,’ लम्साल भन्छन् ।

उनका अनुसार प्रायः सबैको गायकीमा ‘अटो ट्युन’को प्रयोग गरिन्छ । तर, यसलाई कति मात्रामा र कसरी प्रयोग गर्ने भन्ने निश्चित गरिएको हुन्छ । सुरमै गाउने गायकगायिकाका गीत रेकर्ड गर्दा पनि कहिलेकाँही सुर नलाग्दा अटो ट्युनको प्रयोग गरिने उनी बताउँछन् । तर, अत्याधिक प्रयोगले भने गीतसंगीत क्षेत्रमै असर गरेको उनको बुझाइ छ । ‘रहरले गायक बन्न चाहनेहरूका लागि ‘अटो ट्युन’ले केही काम गरेको छ । तर, आफ्नो स्वर राम्रो छ भन्ने भ्रमलाई स्वीकार नगर्दा नकरात्मक प्रभाव पारिरहेको छ,’ लम्साल भन्छन् ।

केही समय भाइरल हुनका लागि तल्लो स्तरका गीत गाउनहरूका लागिमात्रै ‘अटो ट्युन’ले काम गर्छ । तर, कालन्तरमा यसरी ‘अटो ट्युन’को प्रयोगबाट चर्चामा आएकाहरू सजिलै चिप्लिने उनी बताउँछन् ।

गायिका आस्था राउत पनि ‘अटोट्युन’को प्रयोगले गायनमा सहजीकरण गरेपनि यसले नकरात्मक असर पारेको बताइन् । ‘चामलसँग ढुंगा आएजस्तै भएको छ । तर, ढुंगा अलि बढी आयो कि ?,’ उनी प्रश्न गर्छिन् ।
गीतमा यौनिकतासँग सम्बन्धित शब्द हालेर बेसुरा आवाजलाई ‘अटो ट्युन’को प्रयोगबाट सुरमा हालेर भाइरल भएकाहरू अलि बढी नै भएको उनको बुझाइ छ ।

‘दर्शकसामु जाँदा नांगिन्छन्’

संगीतकार हरि लम्साल ‘अटो ट्युन’को प्रयोगबाट चर्चामा आएकाहरू एकदिन नांगिनैपर्ने बताउँछन् । गायन एउटा ‘पर्फमिङ आर्ट’ भएकाले ‘अटो ट्युन’को प्रयोग सकभर नगर्न उनी सुझाव दिन्छन् । स्टुडियोमा ‘अटो ट्युन’ प्रयोग गरेर गायकीलाई मिलाउन त सकिएला । तर, सार्वजनिकरूपमा गाउनुपर्दा त्यस्ताहरू नांगिनैपर्छ,’ उनी भन्छन् ।

‘अटो ट्युन’को प्रयोगले गमक, मुर्की, मुर्छनाजस्ता संगीतका शास्त्रीय कुराहरू मिलाउन नसकिने उनी बताउँछन् । ‘अटो ट्युन’ प्रयोग भएका गीतहरू क्षणिकमात्रै हुने उनको बुझाइ छ ।

‘गाउने चाहनेहरूको रहर पूरा गर्ने माध्यम ‘अटो ट्युन’ भयो । तर, यसलाई नै सबथोक मानेर बस्नेहरू दर्शकमाझ उत्रिनुपर्दा उनीहरुको वास्तविक अवस्था देखिन्छ,’ लम्साल भन्छन् ।

संगीतकार राजु सिंह पनि ‘अटो ट्युन’कै भरमा गाउनेहरू दर्शकमाझ प्रस्तुती दिनुपर्दा रेकर्ड गरेजस्तो सजिलो नहुने बताउँछन् । ‘गीत रेकर्ड गर्दा स्टुडियोमा बसेर धेरैथोक मिलाउन सक्छन् । तर, सार्वजनिकरूपमा प्रस्तुती दिनुपर्दा स्टुडियोजस्तो हुँदैन,’ उनी भन्छन् ।

कुन्ती मोक्तानले स्टुडियोमा मात्रै गीत गाएर गायक–गायिका नहुने बताउँछिन् । ‘अटो ट्युन’को प्रयोगले स्टुडियोमै सीमित भएका गायक–गायिकाले सार्वजनिकरूपमा प्रस्तुती दिन सक्दैनन्, दिए पनि उनीहरूको वास्तविकता देखिन्छ ।’

‘अटो ट्युन’ले गाउन सहज बनाए पनि दीर्घकालीन सिर्जनामा असर गर्ने कुन्ती मोक्तानको बुझाइ छ । ‘पैसा खर्च गरेर गायक बन्नेहरूका लागि ‘अटो ट्युन’ सहज बाटो होला । तर, यसले साँच्चै गायक बनाउन सक्दैन,’ उनी भन्छन् । साधना गरेर गीत गाउने परिपाटीलाई ‘अटो ट्युन’को प्रयोगले भत्काएको संगीतकार राजु सिंहको बुझाइ छ ।

‘अहिले ‘अटो ट्युन’को प्रयोग बढ्दोरूपमा भइरहेको छ । यसले केही समयलाई चर्चामा ल्याए पनि साधना गर्ने परिपाटीलाई भत्काइरहेको छ,’ उनी भन्छन् । भाइरल बन्ने प्रवृत्तिले ‘रियाज, साधना गर्नुपर्छ’ भन्ने कुरा छायामा पर्दा सिंहलाई चिन्ता लाग्छ । ‘भाइरल बनेका गीतहरू त हराउँदै जालान् । तर, यसले संगीत क्षेत्रमा पारेको असरले यो क्षेत्रलाई नै धरासायी बनाउँछ ।’

आस्थालाई गीतसंगीत मनोपरामर्शजस्तै कुराहरु लाग्छ । किनकि यसले मनलाई एक हदसम्म शान्ती पनि दिन्छ । ‘तर, अहिले उत्पादन भइरकेका गीतसंगीतले उत्तेजना फैलाउने काममात्रै गरेको छ,’ उनी भन्छन् ।

अटो टुयुन के हो ?

रिकेश गुरुङ, म्युजिक अरेन्जर

Rikesh gurung.jpg

‘अटो ट्युन’ खासमा ‘म्यानुअल ट्युन’ हो । अहिलेको समय पहिलेजस्तो छैन । कसैको आवाजलाई हेरेर उसको आवाजकै आधारमा अहिले वाद्यवादनलाई ट्युनिङ गरिँदैन ।

एउटा ‘स्टेन्डर्ड’ ट्युनिङ गरिएको हुन्छ । गीत गाउनेको आवाज त्यो स्टेन्डर्ड ट्युनिङसँग मेल नखान पनि सक्छ । त्यस्तो अवस्थामा गीत गाउँदा संगीत एकतिर, स्वर अर्कोतिर सुनिन्छ । यी कुरालाई मिलाउने पछिल्लो प्रविधि नै ‘अटो ट्युन’ हो ।

यसको धेरै प्रयोग गर्नु राम्रो होइन । नेपालमा प्रायः दोहोरी गीतहरूमा अत्याधिक मात्रामा ‘अटो ट्युन’को प्रयोग गरिएको हुन्छ । यस्तो प्रयोग गर्नु भनेको गीतलाई नै मार्नुसरह हो ।

अहिले ‘अटोट्युन’ जो–सुकैको अवाजमा पनि चाहिन्छ । तर, मुख्य कुरा कति प्रयोग गर्ने भन्ने हो । मानिसको अवाज डिजिटल आवाज होइन्, कहिले माथि कहिले तल भइरहन्छ ।

त्यसलाई मिलाउन अटो ट्युनको प्रयोग गरिन्छ । तर, यसो गरिरहँदा गायनमा लाग्ने मान्छेको आवाज पनि राम्रो हुनुपर्छ । अटो ट्युनकै भरमा गीत गाएर हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट