काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल जारी छ।
आपसी सम्वाद बढाएका अध्यक्षद्वयको छलफलमा आज पनि वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।
उनीहरुबीच विचार माझ्ने गरी छलफल हुन थालेको र स्थिति सकारात्मक भएकाले बताइएको छ। स्थायी कमिटीको बैठक पटकपटक स्थगन भएको र नियमित कार्यसूचीमा छलफल हुन नसकेका कारण पार्टीमा विवाद बढेको छ। स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद बढेको छ।
यही साउन १९ को छलफलपछि नेता नेम्वाङले सम्वादहीनता फुकेर अध्यक्षद्वयबीच स-सानादेखि हालः सतहमा आएका सबै विषयमा छलफल भएको र दुई अध्यक्ष बसेर सहमति गर्नुको विकल्प नभएको स्पष्ट गरेका थिए।
पछिल्लो समय यही साउन १३ गतेको पूर्वनिर्धारित स्थायी कमिटीको बैठक स्थगनपछि अध्यक्ष दाहालसहित बहुमत सदस्यको बैठकले अध्यक्ष ओलीसँग सम्वाद गर्न अध्यक्ष दाहाललाई जिम्मेवारी दिएकामा सोही भावनाबमोजिम दुई अध्यक्षको निरन्तर छलफल भएको हो।