सुशान्तको मृत्युलाई न्याय गर्न नसकेको ‘दिल बेचारा’-Sutra News

सुशान्तको मृत्युलाई न्याय गर्न नसकेको ‘दिल बेचारा’

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

सन् २०१४ मा प्रदर्शनमा आएको सिनेमा ‘द फल्ट इन आवर स्टार्स’को हिन्दी रिमेक ‘दिल बेचारा’ त्यो सिनेमा होइन्, जसको लागि भारतीय अभिनेता सुशान्त सिंह राजपुतलाई याद गर्नुपर्छ ।



परिस्थिति सबै कुरालाई दिशानिर्देश गर्ने तत्व हो । कहिलेकाँही सामान्य कुरालाई पनि परिस्थितिले असाधारण बनाइदिन्छ । दिल बेचारा त्यस्तै सिनेमा हो, जुन अति सामान्य छ । तर, सुशान्त सिंह राजपुतको मृत्युले यो सामान्य चलचित्रलाई पनि असामान्य बनाइदिएको छ ।

सिनेमाको सुरुवात जमसेदपुरबाट हुन्छ, जहाँ आफ्नो परिवारसँग सिनेमाकी प्रमुख मध्येकी एक पात्र किज्जी वासु (सञ्जना संघी) बस्छिन् । किज्जी वासु थाइराइड क्यान्सरकी बिरामी हुन् । सास फेर्न समस्या हुने हुँदा उनको साथमा सधैं अक्सिजन सिलिन्डर हुन्छ । आफू निरन्तर मृत्युसँग जुधिरहेका कारण कसैको मृत्यु भएमा उनीहरूको आफन्तलाई गएर सान्तवना दिने अच्चमको बानी छ उनको ।

अर्कोतिर, सिनेमाका अर्का प्रमुख पात्र, म्यान्नी उर्फ इमानुयल राजकुमार जुनियर (सुशान्त सिंह राजपुत) भने जुनसुकै कुरामा रमाईलो गर्ने प्रवृतिका छन् । ‘एसटियोसारकोमा’ (खुट्टामा लाग्ने एक किसिमको क्यान्सर)बाट ग्रसित म्यान्नीले एउटा खुट्टा गुमाइसकेका हुन्छन् ।

सिनेमाको कथ्य शैली प्रायः हिन्दी कमर्सियल सिनेमाजस्तै छ । समग्रमा ‘दिल बेचारा’ अन्य कमर्सियल भारतीय सिनेमा भन्दा फरक छैन ।

पहिलो पटक उनीहरूको भेट कलेजमा हुन्छ । त्यसपछि फेरि क्यान्सर सपोर्ट ग्रुपमा उनीहरू ठोक्किन्छन् । म्यान्नी आफ्नो साथी जेपी (साहिल भैद), जो आँखामा लाग्ने ‘ग्याउकोमा’बाट ग्रसित हुन्छन्, ऊसँग मिलेर सिनेमा बनाउने तयारीमा लागेका हुन्छन् । एउटा आँखा पहिलाझैँ सल्यक्रियापछि नदेख्ने भइसकेकाले सकेसम्म चाँडो चलचित्रको सुटिङ थाल्ने तयारीमा जुटिरहेका हुन्छन् ।

दुःख र सुखको समिश्रणलाई लिएर बनेको यो सिनेमामा केही भेटपछि नजिकिएका दुई प्रमुख पात्रहरू जेपीको निर्देशनमा बनिरहेको सिनेमामा हिरो/हिरोइनको भूमिकामा अभिनय गर्न थाल्छन् । सिनेमाको सुटिङ सकिनुअगावै जेपीको आँखाको सल्यक्रिया हुन्छ, त्यसपश्चात उसले देख्न सक्दैन ।

आफ्नो ख्यालठट्टा गर्ने बानीका कारण किज्जी वासुसँग निकै नजिकिएको म्यान्नी वासुलाई मनपर्ने गायक अभिमन्यु भैद (शैफ अलि खान)सँग भेट गराउन पेरिस लिएर जान्छ । जहाँ पुग्नुअघिसम्म किज्जी वासुमात्रै अस्वस्थ हुन्छिन् (देखिनेरूपमा), भने त्यहाँ पुगेपछि म्यान्नी आफू पनि स्वास्थ्य समस्याबाट गुज्रिरहेको खुल्छ ।

सिनेमा मुख्यगरी म्यान्नी, किज्जी वासु, र उनको परिवारबीच घुमेको छ । बीचमा केही ठाउँमा जेपी देखिन्छन् । समग्रमा सिनेमा सुशान्त सिंहले हालसम्म अभिनय गरेका सिनेमाहरूमध्येमा सबैभन्दा कमजोर र बलिउडमा रहेको कमर्सियल फ्लेवरको सिनेमाहरूमा पहिलो प्रवेश भएको महसुस हुन्छ ।सिनेमामा देखाइएको दृश्य र हेर्ने दर्शकबीचको सम्बन्ध, जसलाई ‘फिल्म एक्सपिरेन्स’ भनिन्छ, यसले दर्शक र चलचित्रबीच सामान्य कथामात्रै साट्ने नभएर समग्र दर्शकले सिनेमाको कुन–कुन पक्षलाई एकै किसिमको वैचारिक मनोभावले ग्रहण गरे भन्ने कुरालाई पनि बुझाउँछ ।

तर ‘दिल बेचारा’लाई दर्शकले हेरिरहँदा सिनेमाको कथाभन्दा पनि बढी सुशान्त सिंहको मृत्युलाई ध्यानमा राख्ने हुँदा सिनेमामाथि न्याय हुन सक्दैन । सिनेमामा प्रस्तुत गरिएको पात्रको वैचारिक मनोदशालाई स्पष्टरूपमा समीक्षा गर्न नसक्दा त्यो सिनेमामाथि पनि न्याय हुँदैन । दिल बेचारामा जुन मनोदशाबाट पात्रलाई प्रस्तुत गरिएको छ, यी दृश्यहरू बलिउडमा बन्ने कमर्सियल सिनेमाकै दृश्यहरू हुन् ।

केही भेटपश्चात नै दुई पात्र कसरी प्रेममा परे भन्ने कुरा दर्शकले बुफ्नै पाउँदैनन् । यो भागमा कथा यति छिटो बगेको छ कि दर्शकले उनीहरूबीच कुन दृश्यबाट प्रेम सम्बन्ध सुरु भयो भन्ने खुल्दैन । पात्रकै मनोविज्ञानको कुरा गर्दा किज्जी वासुको मनोविज्ञानमाथि थुप्रै कुराहरूको कमि महसुस हुन्छ । किज्जीले आफू बाँच्नुको कारणहरूलाई क्षण क्षणमा बदलिरहन्छिन् ।

मध्यम परिवार (सिनेमाको सुरुवातमा भनिएअनुसार)मा हुर्किएकी उनी आफूलाई मन पर्ने गायकलाई भेट्न जाने कुरामा उनको स्वास्थ्य समस्याको कुरा उठ्छ, तर पारिवारिकरूपमा आर्थिक स्थितिको कुरा उठ्दैन ।

‘मेलान्कोली’ शैलीको प्रयोग गरिरहँदा कतिपय दृश्यमा निकै कमजोर प्रस्तुती भएको देखिन्छ । किज्जी आफूलाई मनपर्ने गायक अभिमन्युलाई भेट्न पेरिस जाने कुरा आफ्नो परिवारसामु राख्दा म्यान्नीसँग एक्लै नपठाउने भनिन्छ । पछि किज्जीको चिकित्सकको सल्लाहअनुसार उनकी आमा साथ जान्छिन् । तपाईँ आफैँ सोच्नुस् त, कुनै बिरामी छोरीले यात्रा गर्न लाग्दा आमा साथ जानुपर्छ वा आमा साथ जाँदा सुरक्षित हुन्छ भन्ने कुरा कुनै डाक्टरले सम्झाउँनुपर्ला ?

सिनेमाभरि सम्वाद सामान्य छन् । हलिउडबाट एडप्ट गरिएको सिनेमा अन्य हिन्दी सिनेमाजस्तै छ, जसलाई हलिउडबाट बलिउडमा ल्याइन्छ । सबैभन्दा कमजोर पक्ष सिनेमाको पटकथा र निर्देशनमा निर्देशकले नयाँपन दिन सकेका छैनन् । सिनेमाको कथ्य शैली प्रायः हिन्दी कमर्सियल सिनेमाजस्तै छ । समग्रमा ‘दिल बेचारा’ अन्य कमर्सियल भारतीय सिनेमा भन्दा फरक छैन । जसमा सिनेमाका दृश्यहरूमा विदेशी सिन, रंगरोदन र रुमानी बनाएर दर्शकलाई तानिन्छ ।

०००

सुशान्तको मृत्युपछि चर्चामा रहेको यो सिनेमाले रिलिज भएसँगै आइएमडिपीमा भारतबाट हालसम्म सर्वाधिक रेटिङ पाउने सिनेमाको पहिलो नम्बरमा परेको छ । रोटन टमेटोजमा हालसम्म यसलाई ८० प्रतिशत फ्रेस रेटिङ मिलेको छ । अभिनेता सुशान्तको मृत्युसँगै दर्शकले सिनेमालाई हेर्दा भावनात्मक भएर हेरैकै कारण पनि सिनेमा निकै चर्चामा परेका छ । तर, जति चर्चा छ यसको, त्यत्ति चर्चा गर्नुपर्ने छैन यो सिनेमा ।

भारतीय चलचित्र समीक्षक अनुपमा चोपडाले अभिनेताको मृत्युपछि सिनेमाको समीक्षा गर्दा दर्शकको भावना पनि जोडिने र एउटा समीक्षकले निष्पक्ष भएर सिनेमाको समीक्षा गर्न नसक्ने बताउँदै सिनेमाको समीक्षा नै गरिनन् ।

‘डिटेक्टिभ ब्योमकेशस बक्सी’, ‘छिचोरे’, ‘केदारनाथ’लगायतमा उनको अभिनय हेरेसकेपछि यो सिनेमामा भएको उनको अभिनयलाई सामान्यभन्दा अति सामान्यको संज्ञा दिनुको विकल्प छैन ।

त्यस्तै, अर्का भारतीय समीक्षक कोमल नोट्याले सिनेमाको समीक्षा गर्दै दिल बेचाराले सुशान्तको मृत्युमाथि न्याय नगरेको र सिनेमा पनि राम्रो नभएको भनि समीक्षा गर्दा
उनीमाथि सामाजिक सञ्जालमा निकै व्यंग्य तथा असभ्य गाली गरिएको छ ।

कुनै पनि कलाकार वा आर्टिष्टको सिर्जनालाई भावनात्मक भएर हेरियो भने त्यसमाथि न्यायपूर्ण टिप्पणी गर्न सकिँदैन । सुशान्तको सिनेमाको पक्षमा पनि दर्शकले बढी भावनात्मक भएर सिनेमाको कथा र प्रस्तुतीभन्दा माथि उनको मृत्युलाई राखेर हेरेकै कारण सिनेमाले चर्चा पाइरहेको भन्दा फरक पर्दैन । परिस्थितिकै कारण चर्चामा आएको यो सिनेमा के सुशान्तको मृत्यु नभएको भए पनि यत्तिकै चर्चामा आउँथ्यो त भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

परिस्थितिकै कारण सन् २०२० मा भाइरससम्बन्धी सिनेमा ‘कन्टेन्जियन’ निकै चर्चामा आयो । त्यस्तै, अभिनेता पल वाकरको मृत्युपछि हलिउड सिनेमा ‘फाष्ट एण्ड फ्युरियस’को सातौं सेरिज अन्यभन्दा निकै हेरियो । सन १९९९ मा ओलिभर रिडको मृत्युभएपछि सन् २००० मा प्रर्दशनमा आएको उनी अभिनित चलचित्र ‘ग्ल्याडिएटर’लाई निकै हेरिएको थियो ।

त्यसो त, माथि उल्लेखित सिनेमाहरूमा सिनेमाका विविध पक्षलाई सम्बोधन गर्दै सिनेमा निर्माण पनि उल्लेख्यरूपमा जिम्मेवार भइ गरिएको छ । तर, सुशान्त सिंह राजपुतको मृत्युपछि ‘दिल बेचारा’लाई पनि यी सिनेमाजस्तै ठान्नु भने उचित हुँदैन ।

‘दिल बेचारा’ सुशान्त सिंहको अभिनयलाई केन्द्रमा राखेर हेर्ने हो भने एउटा सामान्य चंगामात्रै हो, जसले सूर्यलाई छेकेजस्तो गर्छ । ‘डिटेक्टिभ ब्योमकेशस बक्सी’, ‘छिचोरे’, ‘केदारनाथ’लगायतमा उनको अभिनय हेरेसकेपछि यो सिनेमामा भएको उनको अभिनयलाई सामान्यभन्दा अति सामान्यको संज्ञा दिनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट