काठमाडौं– कोरोना भाइरसका कारण कर्जा प्रवाह हुन नसक्दा बैंकहरूमा तरलता बढेको छ। चैतदेखि बैंककोे कर्जा प्रवाह कम भएर तरलता बढेको हो।
बैंकहरूमा हालः २ खर्ब रुपैयाँ बराबरको तरलता रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुर्णाकर भट्टले जानकारी दिए।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले चार महिनासम्म लकडाउन गरेको थियो। लकडाउनको समयमा बैंकहरूमा तरलता थुप्रिएको हो। तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बराबरको रिर्भस रिपो जारी गरको प्रवक्ता भट्टले सूत्रन्युजलाई जानकारी दिए।
‘कोभिड–१९का कारण व्यापार-व्यवसाय सञ्चालन हुन सकेको छैन। त्यसको प्रत्यक्ष असर बैंकहरूमा देखिएको छ। व्यवसाय बन्द भएपछि ऋण प्रवाह कम भएको छ,’ प्रवक्ता भट्टले भने, ‘सोही कारण बैंकमा तरलता बढेको हो।’
प्रवक्ता भट्टका अनुसार विकासका आयोजना सुचारू भएपछि तरलता व्यवस्थापन हुन्छ।
तरलता कम गर्न र ग्राहक आकर्षण गर्न बैंकहरूले सस्तो ब्याजमा कर्जा प्रवाह गर्ने होडबाजी चलाएका छन्। तर बैंकमा निक्षेप संकलन गर्ने ग्राहकहरूको ब्याजदरमा भने कमी आएको छ। यसकारण बैंकमा निक्षेप संकलन गर्ने ग्राहकहरू घट्नसक्ने अनुमान छ।
बैंकले नयाँ कर्जा लिने ऋणिको लागि ब्याजदर घटाए पनि पुराना ऋणिहरूको ब्याजदर यथावत राखेको छ। जसले गर्दा व्यापारीहरू पुरानै कर्जाको ब्याज भुक्तानीमा लागेका छन्।लकडाउनपछि खुलेका व्यवसाय साविक अवस्थामा फर्किन सकेका छैनन्। कोभिड नियन्त्रणमा नआएसम्म व्यापार-व्यवसाय पूर्ण सञ्चालनमा आउनसक्ने स्थिति छैन।
अधिक तरलताको कारण बैंकमा समस्या आउने देखिन्छ। बैंकहरूको नाफामा तरलताले असर पार्ने हुन्छ। तरलता प्रवाह नहुँदा बैंकको नाफा घट्ने वित्तीय विश्लेषक अनलराज भट्टराई बताउँछन्।
उनी भन्छन्, ‘बैंकमा तरलताका कारण धेरै समस्या आउँछ। कर्जाको ब्याजदर बढ्छ। बढी भए बैैंकहरूले ब्याजदर घटाउँछन्। अहिले मनि मार्केटमा पैसा फालाफाल भएको छ। जसको नतिजा बैंकहरूले ब्याजदर घटाउन थालेका छन्। ब्याजदर घटेपनि बैंकहरूले तरलता घटाउन सकेको छैन।’
बैंकहरूले तरलता व्यवस्थापनको लागि सम्पूर्ण क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने उनी बताउँछन्। ‘अहिलेसम्म बैंकहरुले ३ करोड जनसंख्या भएको ठाउँमा १४ लाख ५० हजारलाई मात्र कर्जा प्रवाह गरेको छ। कति व्यक्तिहरूले चाहेर पनि कर्जा लिन सकिरहेका छैनन्। यस्तो अवस्थामा बैंकहरूले सबै खालको व्यापारका लागि कर्जा सहज बनाउनुपर्छ,’ उनी भन्छन्।