पर्सा–१६ बाट निर्वाचित जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले फेसबुकमा एक ‘स्टाटस’ लेखे । वीरगञ्जमा तीव्ररूपमा फैलँदो कोभिड–१९ को संक्रमण रोक्न आफूले प्रधानमन्त्रीलाई पत्र प्रेरित गरेको जानकारी गराएका थिए ।
सो ‘स्टाटस’मा उनले कोभिड–१९ सँग अर्काे जानकारी पनि गराएका थिए, जुन उनको आफ्नै स्वास्थ्यसँग सम्बन्धित थियो । ‘मैले आफ्नो पिसिआर जाँच गराउँदा पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु’ सांसद यादवले त्यो ‘स्टाटस’मा भनेका छन्, ‘मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । आफूलाई ‘आइसोलेट’ गरेर अहिले आराममा छु ।’
नेपालको ‘लाइफलाइन’ नाका मानिने पर्साको वीरगञ्ज यतिबेला कोभिड–१९ संक्रमणको ‘हटस्पट’ त बनेको छ, त्यहाँ कोभिड–१९ बाट संक्रमित हुनेहरूको संख्या बुधबारसम्म ६ सय नाघिसकेको छ । वीरगञ्ज क्षेत्रबाट निर्वाचित सांसद यादवमात्र होइन, वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीसमेत कोभिड–१९ बाट संक्रमित भएका छन् ।
वीरगञ्जका संक्रमितहरूलाई पछिल्लो समय गम्भीर लक्षणसमेत देखा पर्न थालेको छ । संक्रमित १५ जनाको मृत्यु हुनुको कारण यो पनि हुनसक्छ ।
स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) केन्द्रबाट प्रतिस्पर्धा गरेका रहवर अन्सारीका शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत् अन्सारीको स्वास्थ्यलाभको कामना गरेका छन् । संक्रमित भएका अन्य राजनीतिकर्मी जसरी अन्सारी आफैँले भने यसबारे जानकारी दिएका छैनन् । तर, स्रोतका भनाइमा, अन्सारीसमेत कोभिड–१९ बाट संक्रमित भएकाले उनका शुभेच्छुकहरूले स्वास्थ्यलाभको कामना गरेका हुन् ।
वीरगञ्जको स्थिति कस्तो छ भन्ने कुरा त्यहाँ क्रियाशील पत्रकार भूषण यादवको भनाइको कथनले पनि पुष्टि गर्छ । ‘बाहिर जाउँ कोरोनाको डर, घरभित्र बसुँ, यो गर्मीमा लाइन (विजुली) छैन,’ कोभिड–१९ ले सिर्जना गरेको भयावह स्थिति औँल्याउँदै उनले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘यहाँ बडा दशा (समस्या) छ ।’
त्यतिमात्र होइन, वीरगन्जका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूसमेत कोभिडबाट संक्रमित भएका छन् । मंगलबारसम्म संक्रमित हुनेहरूको संख्या ६ सय ४७ पुग्दा मृत्यु हुने संक्रमितको संख्या १५ पुग्नुले पनि वीरगञ्जको स्थिति भयावह बन्दैछ भन्ने देखिन्छ । बुधबार (२१ साउन)मा १३३ जनामा कोरोना संक्रमण देखिएको छ, जुन अहिलेसम्मकै बढी हो ।
‘वीरगञ्जमा कोरोना समुदायमै फैलिसकेको छ, एउटै घरमा ५ जनासम्म संक्रमित भेटिएका छन्,’ नारायणी अस्पतालका वरिष्ठ फिजिसियन निरज सिंह भन्छन्, ‘चार महिनादेखि कतै नगएको मान्छे पनि संक्रमित भएका छन् । बजारमा १०/१५ वटा सिंगो घरमै संक्रमित भेटिएका छन् ।’
विज्ञहरूले वीरगञ्जमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको बताएका छन् । तर, सरकारले भने आधिकारिक घोषणा गरेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम भन्छन्, ‘सबै रिपोर्ट आएपछि मात्र भन्न सकिन्छ । समुदायमै फैलिएको अहिले भनिहाल्न मिल्दैन ।’
संक्रमणको जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली वीरगञ्ज खटाएको थियो ।
संक्रमणको हब
वीरगञ्ज नेपालको प्रमुख नाका भएकाले दैनिक ४ सय गाडी भारतबाट नेपाल प्रवेश गर्छन् । ती गाडी भन्सार बिन्दुसम्म आउँछन् । त्यहीँबाट कतिपय सामान नजिकको उद्योगसम्म पुर्याउने गरिन्छ । यसरी आउने गाडीका ड्राइभर र मजदुुरबाट कोरोना ‘ट्रान्सफर’ भएको बताउँछन् पर्साका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार बस्नेत । उनी भन्छन्, ‘यहाँ आउने धेरै जनशक्ति पनि बाहिरकै भएकाले संक्रमण बढेको हो ।’
जानकारहरूका अनुसार, वीरगञ्जका संक्रमितहरूलाई पछिल्लो समय गम्भीर लक्षणसमेत देखा पर्न थालेको छ । संक्रमित १५ जनाको मृत्यु हुनुको कारण यो पनि हुनसक्छ ।
‘संक्रमण त बढेको छ नै, यहाँ देखिएका संक्रमण घातक पनि छ,’ बस्नेत भन्छन्, ‘संक्रमण फैलन नदिन हामीले साउन १० गतेदेखि निषेधाज्ञा जारी गरेका छौं भने ‘मास टेस्टिङ’को काम अगाडि बढाएका छौं ।’
बस्नेतका भनाइमा, भारतबाट अवैधरूपमा नेपाल पस्नेहरूको संख्या धेरै भएको हुँदा संक्रमण बढेको हो । यसअघि पनि वीरगञ्जमा संक्रमण देखिएको थियो । तर त्यो छिट्टै नियन्त्रणमा आयो ।
बस्नेत थप्छन्, ‘हामीले लकडाउन खुल्नेवित्तिकै पनि ‘संक्रमण बढ्न सक्छ है’ भनेर निषेधाज्ञा गरेका थियौं । तर, बाहिरबाट लुकिछिपी पनि आउनेहरू बढे र स्थिति भयावह बन्यो ।’
वीरगञ्ज नेपाल–भारतबीचको मूल व्यापारिक नाका हो । भारतबाट आउने मालसामान राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा वीरगञ्ज हुँदै आउँछन् ।
मूलनाका भएकाले यहाँ मानिसहरूको आवतजावत बढी हुनु स्वभाविक हो । संक्रमण जब एउटा समुदायस्तरमा फैलिन्छ, त्यसको विस्तार समुदायमा पर्छ नै । यही नाकामा कोभिड–१९ समुदायस्तरमै विस्तार भएपछि त्यसको विस्तार अन्यत्र पनि भयावहरूपमा हुनसक्ने भइहाल्यो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक रहेका डा शेरबहादुर पुन भन्छन्, ‘वीरगञ्जमा समुदायस्तरमै कोरोना फैलिएको हो भने त्यसले काठमाडौंलाई पनि प्रभावित बनाउँछ ।’
‘मैले सुरुदेखि नै हजार बेडको आइसोलेसन बनाऔं भनेको हुँ । तर सरकारले हाम्रो कुरा सुनेन समुदायस्तरमै चेकजाँच गरौं पनि भनेको हुँ । ५० हजारजति किट व्यवस्था गरिएको पनि हो । तर स्वास्थ्य मन्त्रालयले त्यसो गर्न पनि अनुमति नै दिएन ।’
व्यापारिक नाका भएकाले वीरगञ्जलाई संवेदनशील ढंगले हेर्नुपर्ने सुझाव अन्य जनस्वास्थ्यविद्हरूले पनि दिएका छन् । मंगलबार (२० साउन) प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले यो प्रसङ्ग उठाएका थिए । सो छलफल कार्यक्रममा सहभागी जनस्वास्थ्यविद् रवीन्द्र समीर भन्छन्, ‘वीरगञ्जको विषयमा पनि हिजो प्रधानमन्त्रीसँग कुरा भएको छ । व्यापारिक केन्द्र भएकाले सिंगो देशमै यसले प्रभाव पार्न सक्छ । धेरै सजग हुनुपर्ने बेला आएको छ भनेर हामीले सुझाव दिएका छौँ ।’
आरोप-प्रत्यारोप
खासमा कोरोना संक्रमणको विस्तार हुन नदिन सामूहिक प्रयासको जरुरत हुन्छ । सरकार, स्थानीय जनप्रतिनिधि, समुदायलगायत सबैको सामूहिक प्रयास र समन्वय हुनसक्यो भने संक्रमण देखिए पनि विस्तार रोक्न सकिन्छ ।
तर, वीरगञ्जको हकमा सबै पक्ष चुकेका छन् । संक्रमण समुदायस्तरमा विस्तारित भएपछि स्थिति सम्हाल्नतिर लाग्नुको साटो यस्तो हुनुमा कसको भूमिका रह्यो भन्ने विषयमा आरोप–प्रत्यारोप बढेको छ ।
सांसद यादव केन्द्र सरकारको बेवास्ताका कारण संक्रमण रोक्न नसकिएको दाबी गर्छन् । उनको आरोप छ, ‘वीरगञ्जको स्थिति पहिलेदेखि नै डरलाग्दो थियो, मैले कतिपटक आग्रह गरेँ । तर, सरकारले हाम्रो कुरै सुनेन र यस्तो स्थिति सिर्जना भयो ।’
आफूले ४ महिनादेखि रगत सुक्नेगरी काम गरेको, तर, संक्रमण नियन्त्रण गर्न नसकिएको गुनासो मेयर सरावगीको छ । संघीय सरकारले अधिकार र सहयोग दुबै कुरा प्रदान नगर्दा स्थिति नाजुक बनेको उनी बताउँछन् ।
‘मैले सुरुदेखि नै हजार बेडको आइसोलेसन बनाऔं भनेको हुँ । तर सरकारले हाम्रो कुरा सुनेन,’ सरावगी भन्छन्, ‘समुदायस्तरमै चेकजाँच गरौं पनि भनेको हुँ । ५० हजारजति किट व्यवस्था गरिएको पनि हो । तर स्वास्थ्य मन्त्रालयले त्यसो गर्न पनि अनुमति नै दिएन ।’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मेयर सरावगीको आरोपलाई खण्डन गरे । उनले उल्टै स्थानीय जनप्रतिनिधिहरूकै कारण वीरगञ्जमा कोभिड–१९ को संक्रमण समुदायस्तरमा पुगेको आरोप लगाए । मेयर सरावगीमा केन्द्र सरकारप्रतिको विरोधी मानसिकता भएको हु“दा समन्वय गर्न कठिन भएको गौतमको दाबी थियो ।
‘उहाँ आफैँले जनस्वास्थ्यको मापदण्ड पालना गर्नुभएन । पिसिआर टेस्ट गर्न दिएलगत्तै उहाँ काठमाडौंमा मन्त्रालय–मन्त्रालयमा मिटिङ गर्न आउनुभयो,’ गौतमले भने, ‘दुनियाँलाई कोरोना सारेर ‘मोबाइल अफ’ गर्नुभयो, उहाँलेचाहिँ ठीक गर्नुभयो ? सामान्यभन्दा सामान्य ज्ञान नभएपछि हुने यस्तै नै हो ।’
‘कस्तोसम्म भयो भने रुघाखोकी लागेर स्वाव दिइराख्ने तर, सँगसँगै मन्त्रालयमा मान्छे भेट्न गइरहने काम भयो । अगुवाहरूले नै यस्तो गरेपछि कसरी कोभिड–१९ लाई नियन्त्रण गर्न सकिन्छ ?’
आरोप–प्रत्यारोपले पनि देखाउँछ, स्थानीय राजनीतिकर्मी र स्वास्थ्य मन्त्रालयका अधिकारीबीच खासै समन्वय भएको रहेनछ । नाम उल्लेख गर्न नचाहने वीरगञ्जका एक स्थानीय सञ्चारकर्मी पनि स्थानीय र केन्द्रीय सरकारबीचको समन्वय अभाव नै संक्रमण फैलनुको मुख्य कारक भएको बताउँछन् ।
‘मेयरको सिडिओ र मुख्यमन्त्रीसँग कुरा मिल्दैन, मुख्यमन्त्रीको प्रधानमन्त्रीसँग कुरा मिल्दैन,’ ती सञ्चारकर्मीले भने, ‘सबै पक्षमा जुन खालको गतिशीलता हुनुपर्ने हो, त्यो भएन ।’
ती पत्रकारले भनेजस्तै, स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालयबीच पनि कोभिड–१९ को सन्दर्भमा समन्वय भएको देखिँदैन । स्थानीय जनप्रतिनिधिहरू सरकार र प्रशासनको लापरवाहीका कारण संक्रमण विस्तार भएको आरोप लगाउँछन् । तर, जिल्ला प्रशासन कार्यालय (पर्सा)का नेतृत्वकर्ताहरू स्थानीय जनप्रतिनिधिहरूका कारण यस्तो स्थिति सिर्जना भएको दाबी गर्छन् ।
‘कति लापरबाही गर्नुभएको थियो भन्ने कुरा उहाँहरू आफैँ संक्रमित भएको घटनाले पुष्टि गर्छ । यस्तो बेला पनि भिडभाडमा गइरहने, कार्यक्रम गरिरहने काम उहाँहरूबाट भएकै हो,’ सहायक प्रजिअ बस्नेतले भने, ‘कस्तोसम्म भयो भने रुघाखोकी लागेर स्वाव दिइराख्ने तर, सँगसँगै मन्त्रालयमा मान्छे भेट्न गइरहने काम भयो । अगुवाहरूले नै यस्तो गरेपछि कसरी कोभिड–१९ लाई नियन्त्रण गर्न सकिन्छ ?’