मनोज गजुरेलको गाईजात्रा : यसकारण रोजे टेड्रोस र अर्नव गोस्वामी-Sutra News

मनोज गजुरेलको गाईजात्रा : यसकारण रोजे टेड्रोस र अर्नव गोस्वामी

बुधबार, २१ साउन २०७७

बुधबार, २१ साउन २०७७

काठमाडौं- स्थिति सामान्य भइदिएको भए हरेक वर्षझैँ हास्य कलाकार मनोज गजुरेल यतिखेर नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलको स्टेजमा चढ्दै आफ्नो प्रस्तुतीमार्फत् दर्शक हसाइरहेका हुन्थे।



तर, कोरोना महामारीले भिडभाडमा बन्देज लगाएपछि यो वर्ष प्रज्ञाको हलमा न कसैले गाईजात्रा गर्ने भए, न हाँसोको फोहोरा नै छुट्ने भयो।

स्टेज चढ्न नपाए के भो त, इन्टरनेटको विकास र सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै मनोज यसपटक दर्शकसामु भर्चुअल गाईजात्रामार्फत् देखापरेका छन्।

युट्युबमा प्रसारण भइरहेको कार्यक्रममा उनले निर्वाह गरेका दुई गाइजात्रे पात्र यतिखेर चर्चामा छन्, टेड्रोस एड्वुमन गजुरेल्स र मर्नव गस्वामी।

‘हामीलाई सीमानाको कुरा उठाउनु थियो। नेपाल-भारतबीचको पछिल्लो समयको चिसोपनालाई दुवै देशका आम जनतामाझ पुर्‍याउनुपर्ने थियो। त्यसैको लागि मर्नव गोस्वामीको रुपमा प्रस्तुत भएँ’

टेड्रोस कोरोना महामारीबीच सबैभन्दा बढी देखिएका व्यक्तिको नक्कल गरेर बनेको पात्र थियो। विश्वस्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानमको पात्रको रुपमा उनले गरेको अभिनयले यतिखेर प्रशंसा बटुलिरहेको छ।

‘क्यारिकेचर पनि त्यो मान्छेको गरिन्छ जो सबभन्दा बढी चर्चामा छ,’ गजुरेल भन्छन्, ‘त्यसैले पनि यो समयमा ती पात्रको चयन भएको हो।’

त्यसो त, गजुरेलले यसअघि पनि व्यंग्यमार्फत् नेपालका शीर्ष नेतादेखि भारत, चीन, अमेरिकासम्मका नेता र हस्तीहरुको क्यारिकेचर गरिसकेका छन्। ‘अहिले ‘ह्वाट नेक्स्ट?’ भनेर मैले सोचिरहेको थिएँ,’ उनी भन्छन्, ‘जसको जवाफमा टेड्रोसबाहेक अर्को विकल्प नै भेटिनँ।’

अर्कातिर, कोरोना महामारीबीच विभिन्न शक्ती राज्यहरुले व्यापारिक रुपमा हातहतियारको कारोबार गरिरहेका छन्, कतै शितयुद्ध चलिरहेको छ। विश्व नै एक भएर महामारीको नियन्त्रणमा लाग्नुपर्ने बेला झन फुट आइरहेको छ। त्रासबीचमा पनि शक्तिमै क्रियशिल भइरहेका छन् कतिपय देशहरु।

नेपालबाट सम्पूर्णमा भाइचारा र शान्तीको सन्देश पुर्‍याउनसक्ने लागेर गजुरेलले टेड्रोसलाई रोजेको बताउँछन्। ‘मनोरञ्जन त भइ नै हाल्छ,’ उनी भन्छन्, ‘मनोरञ्जनसँगै केही सन्देश दिन सकिन्छ कि भनेर यो पात्रमा काम गरेको हुँ।’

गजुरेलले अघिल्लापटक गरेका विदेशी नेताहरुको क्यारिकेचर अन्तर्राष्ट्रिय रुपमा चर्चामा आउन केही समय लागेको थियो। उनले गरेको डोनाल्ड ट्रम्पको क्यारिकेचरले छोटो समयमै निकै चर्चा पायो। यसपटक गरिएको क्यारिकेचरको लक्षित वर्ग भने केही फरक छन्, जोसम्म उनले गरिरहेको काम पुग्न बाँकी नै छ।

‘आशा छ, लक्षित वर्गमा चाँडै नै पुग्छ,’ गजुरेल भन्छन्, ‘पहिला गरेको क्यारिकेचर पनि केही समयपछि लक्षित वर्गमा पुगेको थियो। यो पटकको काम पनि विस्तारै लक्षित वर्गमा पुग्नेछ।’

टेड्रोस त अन्तर्राष्ट्रिय पात्र थिए, अन्तर्राष्ट्रिय मुद्दा थियो। त्यसबाहेक गजुरेलले अर्को पात्रमाथि पनि क्यारिकेचर गर्ने सोच बनाए, जसले देशको मुद्दालाई सम्बोधन गर्थ्यो।

पात्रको रुपमा आइपुगे- भारतीय टेलिभिजन प्रस्तोता अर्नव गोस्वामी र नेपालका टेलिभिजन प्रस्तोता ऋषि धमला। गजुरेलले गोस्वामीको व्यंग्य गर्दै मर्नव गस्वामी नाममा क्यारिकेचर सुरु गरे भने सुमन कार्कीले ऋषि धमलाको क्यारिकेचर गर्दै हिसी हमला नाममा प्रस्तुत भए।

‘यो मुद्दा हाम्रो आफ्नो देश, आफ्नो विषय र छिमेकी देश भारतमाथि गरेको व्यंग्य हो,’ पात्रको पृष्ठभूमिबारे उनी भन्छन्, ‘यसमा हामीलाई सीमानाको कुरा उठाउनु थियो। नेपाल-भारतबीचको पछिल्लो समयको चिसोपनालाई दुवै देशका आम जनतामाझ पुर्‍याउनुपर्ने थियो। त्यसैको लागि मर्नव गोस्वामीको रुपमा प्रस्तुत भएँ ।’

भारतकै कुनै पात्रमार्फत् यी मुद्दाहरुबारे बुझाउन सक्दा झन् प्रभावकारी होला भन्ने लागेको उनी बताउँछन्।

‘अनुभव नयाँ भइरहेको छ। रंगमञ्चजस्तो त महसुस हुन सक्दैन। तर, यस्तो महामारीको समयमा भर्चुअल भए पनि गर्न सकेका छौं। यो ठूलो कुरा हो’ 

‘क्यारिकेचर गर्नलाई अलि हाउभाउ चाहिन्छ, अलि फरक मान्छे चाहिन्छ,’ गजुरेल अर्नव गोस्वामीलाई छान्नुको कारणबारे भन्छन्, ‘यिनी भारतमा चर्चित छन्, उत्तिकै आलोचक र उत्तिकै प्रशंसक उनको साथमा छन्। त्यसैले उनलाई छानिएको हो।’

गाईजात्राबीच उनले अन्य भूमिकामा पनि देखिएका छन्। यीमध्ये उनले ‘टाइम ट्राभल’ नाम दिएर कोरोनापछि विश्वभर कस्तो अवस्था हुनुपर्छ भन्नेबारे समेत अभिनय गरिसकेका छन्।

‘कलाका विभिन्न शैली हुन्छन्,’ उनी भन्छन्, ‘क्यारिकेचर पनि एउटा शैली हो। समयअनुसार आवश्यक लागेका पात्र र प्रवृत्तिलाई लिएर काम गरिरहेको छु।’

रंगमञ्चको प्रस्तुतीसँग कलाकार आफैँ जोडिएका हुन्छन्। रंगमञ्चमा कलाकारले गर्ने प्रस्तुती, दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेर बोल्दा कलाकारलाई बेग्लै सन्तुष्टि हुन्छ। तर, यसपटक गाईजात्रा रंगमञ्चमा छैन। समयअनुसार चल्नुपर्ने भएकाले यसवर्ष महामारीको जोखिमलाई ध्यानमा राखेर गाईजात्रालाई ‘डिजिटल प्लेटफर्म’मार्फत् प्रस्तुत गरिरहेको गजुरेल बताउँछन्।

‘अनुभव नयाँ भइरहेको छ। रंगमञ्चजस्तो त महसुस हुन सक्दैन। तर, यस्तो महामारीको समयमा भर्चुअल भए पनि गर्न सकेका छौं। यो ठूलो कुरा हो,’ उनी भन्छन्।

विश्भरि नै त्रास फैलिरहेका बेला आशा जगाउने काम गरिरहेको बताउँछन् गजुरेल। केही मात्रामा आफ्नो प्रयास पनि सफल भएको लाग्छ उनलाई।

‘विस्तारै अवस्था सामान्यजस्तो हुँदैछ,’ उनी भन्छन्, ‘मान्छेहरु सुरक्षित भएर काममा फर्किनुपर्छ भन्ने सोच्दैछन्/गर्दैछन्। यो बेला हामीले प्रविधिको प्रयोगबाटै भए पनि केही आशा जगाइरहेका छौंजस्तो लाग्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट