‘टेम्पो चलाएर स्यानिटाइजर किन्‍ने पैसा पनि पुग्दैन’-Sutra News

‘टेम्पो चलाएर स्यानिटाइजर किन्‍ने पैसा पनि पुग्दैन’

काठमाडौं- रत्नपार्कको टेम्पो स्टेशन। जहाँ लस्करै ‘क्यु’मा बसिरहेका टेम्पोहरुको दृश्य देखिन्थ्यो। दृश्यले प्रस्ट बताउँथ्यो कि अधिकांश सिट खाली छन्। ड्राइभिङ सिटको झ्यालबाट उदास भएर बाहिर नियालिरहेका चालकहरु देख्दा लाग्थ्यो- उनीहरु यात्रुको पर्खाइमा टोलाइरहेका छन्।



सरकारले लकडाउन खोलेसँगै थन्किएर बसेका सार्वजनिक सवारीहरु चल्न थाले। त्यसयता चलेका सवारीमा चालकहरुले भोग्ने साझा समस्या बन्दै गएको छ- यात्रुहरुको अभाव।

यात्रुको पर्खाइमा स्टेशनमा रोकिइरहेकी महिला टेम्पो चालक विमला श्रेष्ठ चिन्तित मुद्रामा देखिइन्। उनलाई हामीले सोध्यौं, ‘कति समय भयो कुरेर बस्नुभएको।’

‘एक घण्टा भयो,’ उनले जवाफ दिइन्।

‘कति कमाइ गर्नुभयो,’

‘बल्ल-बल्ल तीन सय। साहुलाई दिन पनि पुग्दैन,’ पीडा बिसाउँदै उनले भनिन्, ‘ सरकारले ६ जनाभन्दा बढी नचढाउनु भनेको छ। तर, यति यात्रुबाट उठेको पैसाले त स्यानिटाइजर किन्न पनि पुग्दैन। यसरी लकडाउन खुल्नु भन्दा त भएकै बेस।’ 

लकडाउनले ४ महिना कोठैमा थुनिएकी विमलालाई गाडी खुल्ने भएपछि उत्साह बढेको थियो। तर, हरेक दिन घाटा बेहोर्नु परेपछि उनी आजित भएकी छन्। ‘गाडी खुल्यो भनेर चलाउन थालियो। एउटै यात्रु चढ्दैनन्। के खाने, के गर्ने? अरु काम गरुँ भने केही जान्दिन,’ थकित भावमा उनले भनिन्।

विमलाको घरमा ९ जना सदस्य छन्। जिम्मेवारी उनकै काँधमा छ। अरु बेलामा जेनतेन चलिरहेको उनको परिवार आम्दानी नभएपछि संकटमा छ।

‘लकडाउनमा ऋण गरेर टारियो। ऋणै पनि कति गर्नु,’ उनी समस्या सुनाउँछिन्।

६ जनाभन्दा बढी यात्रु चढ्न नदिने सरकारको आदेश छ।

त्यही लाइनमा यात्रीकै पर्खाइमा बसेका एक अधवैंशे उमेरका चालकलाई पनि भेट्यौं हामीले। नाम रहेछ रुद्र गौतम। पत्रिका पढिरहेको देखेपछि हामीले सोध्यौं,

‘पत्रिका पढ्दै हुनुहुन्छ नि!’

‘पहिले चढ्नेहरुको भिड लाग्थ्यो, अहिले त चहल-पहल नै छैन। यसरी कसरी चल्ला,’ सम्वादको क्रममा उनले हामीलाई सुनाए।

‘क्युमा टाइम पास गरेको,’ हामीतर्फ हेर्दै उनले भने। यात्रु नभएपछि चालकहरु समय कटाउने विकल्प खोजिरहेको कुरा अन्य दृश्यले पनि बताउँथे। रुद्रसित प्रसंग कोट्याउँदै हामीले सम्वाद अगाडि बढायौं।

‘पहिला २५ सय कमाइ हुन्थ्यो। अहिले दिनभरिमा ५ सय हुन्छ। साहुलाई बुझाउन पनि पुग्दैन,’ रुद्रले आफ्नो विलौना पोखे।

लकडाउनअघि उनको आफ्नै टेम्पो रहेछ। लकडाउनकै अवधिमा टेम्पो बिग्रिएपछि उनले साहुको टेम्पो चलाउन थाले। अहिले यही भाडा पनि कसरी बुझाउने भन्ने चिन्ता थपिएको छ उनमा।

रत्नपार्कमात्र हैन, पानीट्यांकीस्थिति नयाँ बानेश्वरमा उही दृश्य प्रस्ट दोहोरिन्छ। रत्नपार्क आउने क्रममा हामी बानेश्वरमा आवतजावत गरिरहेका टेम्पोहरुलाई पनि नियालिरहेका थियौं। युवा उमेरका देखिने जीवन कुँवरको खाली सिटको टेम्पो हाम्रो नजिकै रोकियो। यात्रुहरु आउलान् कि भनेर उनले यताउति हेरे। चढ्ने कोही थिएनन्। त्यसपछि हामी उनैको टेम्पोमा गएर बस्यौं।

‘पहिले चढ्नेहरुको भिड लाग्थ्यो, अहिले त चहल-पहल नै छैन। यसरी कसरी चल्ला,’ सम्वादको क्रममा उनले हामीलाई सुनाए। उनी थप्दै थिए-  लकडाउनमा कमाइ शून्य थियो। गाडी खुलेपछि टेम्पो त चलाइयो, तर उपलब्धि केही भएन।

सवारी चले पनि यात्रुहरु नहुनाले टेम्पो चालकहरु मारमा परेको यिनै घटनाहरुले प्रस्ट पार्छ।

यतिबेला सबैको एउटै पीडा छ- अब के गर्ने?  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट