Logo

मंगलवार, कार्तिक ४ गते २०७७

महिला द्वन्द्व निर्देशक, जो लकडाउनपछि सडकमा तरकारी बेच्छिन्  

महिला द्वन्द्व निर्देशक, जो लकडाउनपछि सडकमा तरकारी बेच्छिन्  

समर्पण श्री

२२ श्रावण २०७७
  • 23.1K
    SHARES
  • महिला द्वन्द्व निर्देशक, जो लकडाउनपछि सडकमा तरकारी बेच्छिन्  
    अनामनगरमा तरकारी बेच्दै किरण दाहाल। तस्बिर : सन्दीप आचार्य

    काठमाडौं- बिहान ३ बजे झिस्मिसेमै उनको आँखा खुल्छ।

    उठेपछिको पहिलो यात्रा हुन्छ, तरकारी बजार। ४ बजे भृकुटीमण्डपस्थित बजार पुग्छिन्, दिनभरिलाई पुग्दो तरकारीहरू किन्छिन्। र, अनामनगर आएर तरकारी बेच्छिन्।

    ‘महिला फाइटर’को रूपमा पहिचान बनाएकी किरण दाहालको दैनिकी हो यो। बिहान र साँझ किरण तरकारी बेच्छिन् भने दिउँसो साथीभाइ भेटेर रमाउँछिन्।

    करिब २ महिना भयो, उनको दैनिकी बदलिएको। यो बदलिएको दैनिकीमा फरक आनन्दानुभूति पाएकी छन् किरणले।

    बाटोमा बसेर तरकारी बेचिरहँदा उनलाई लाग्छ- भलै व्यवसाय सानो होस्, काम भनेको त आफ्नै गर्नुपर्दो रहेछ।

    अनामनगर छेउछाउमा तरकारी किन्न आउने विविध स्वभावका ग्राहकसँग उनी परिचित भइसकेकी छन्। सब्जीमा पनि लुगा कपडाजस्तो अनावश्यक बार्गेनिङ गरिरहने ग्राहक देखेर उनलाई अचम्म लाग्छ। ‘तरकारी केलाएजस्तै ग्राहकको मनोविज्ञान पनि केलाउनुपर्दो रहेछ व्यापारमा,’ किरणले बुझ्दै गएकी छन्।

    तरकारी बेचिरहँदा कहिलेकाहीँ त्यही छेउ भएर उनका परिचित मान्छे जान्छन्। ती परिचित अनुहार सिनेमाका कलाकार, निर्माता, निर्देशक वा प्राविधिकहरू हुन्छन्। जोसँग उनले सिनेमामा सहकार्य गरेकी थिइन्।

    ‘किरण, तिमीले राम्रो काम गर्‍यौं। यो त धेरैको लागि ठूलो उदाहरण पनि हो,’ केही निर्देशकले प्रशंसा गरेपछि उनको हौसला बढेको छ। ‘व्यवसाय राम्रो भयो भने सटर राखेर ठूलो बनाउने योजना छ,’ किरण भन्छिन्।

    नेपाली फिल्महरूमा एक दशकदेखि द्वन्द्व निर्देशकको रूपमा काम गर्दै आइरहेकी थिइन् उनी। फिल्ममा कामको व्यस्तता बढ्दो थियो। कमाइ पनि सन्तोषजनक नै थियो। उनलाई लाग्थ्यो- करिअर पनि छ, फिल्म लाइनबाटै आफूलाई पुग्ने पैसा कमाउँछु।

    ‘प्रतीक्षा गरेमात्र प्रतीक्षाको फल मीठो हुन्छ। समयलाई कुरेमात्र एकदिन न एकदिन सफल भइन्छ, म त्यही समय कुरी बसेकी छु।'

    तर, उनको त्यो सोच लकडाउनअघिसम्म मात्र कायम रह्यो। विश्वभरि फैलिएको कोरोना कहरले त्रासमात्र बढाएन, श्रमजीवी वर्गको कमाइ र गाँस पनि खोसिदियो । त्यही कमाइ र गाँस खोसिनेहरूको भीडमा परिन् किरण।

    लकडाउनअघि तीन वटा फिल्ममा द्वन्द्व निर्देशनका लागि किरणलाई अफर गरिएको थियो। त्यसकै तयारीमा जुटेकी थिइन् उनी। तर, लकडाउनले सबै कुरा विचलित बनायो। उनी डेरामै थन्किइन्। डेराभित्रको बसाइ उनका लागि निरस र दुःखदायी बन्न पुग्यो।

    लकडाउनका लागि भनेर जोगाड गरेको खाद्यान्न विस्तारै सकिन थाल्यो। ‘एक बोरा राहत प्राविधिक संघबाट पाएँ, त्यतिले अभाव पूर्ति कहाँ हुन्थ्यो र?’ लकडाउनले निम्त्याएका कठिनाइका दिन सुदाउँदै किरणले भनिन्, ‘साथमा भएको पैसा पनि सकिन थाल्यो। कोठाभाडा समेत तिर्नसक्ने अवस्था भएन। सहयोग र साथ दिने कोही नभएपछि पीडा हुन थाल्यो।’  

    राहत पाउने आशामा वडामा पनि गइन्। तर, विभेदपूर्ण व्यवहारले निरास भएर फर्किइन्। ‘हेर्दा पो फिल्ममा काम गर्ने मान्छे। तर, अभावमा बाँच्न पनि कठिन पेसा रहेछ भनेर बुझेँ,’ उनी भन्छिन्।

    दुःखमा साथीहरूले साथ दिन्छन् भन्ने उनलाई लागेको थियो। उनले सहयोगको लागि आफ्ना नजिकका साथीहरूलाई फोन गरिन्। तर, मद्दत गर्ने कोही भेटिएनन्। ‘मिल्ने साथीभाइहरूसमेत पैसा माग्छन् भनेर फोन उठाउन छाडे। केहीले त ब्लक नै गरिदिए,’ उनी भावुक बनिन्, ‘लकडाउनले मान्छे चिन्न सहयोग गर्‍यो।’

    परिस्थितिले उनलाई हैरान बनायो। यस्तो हैरानी खेप्नुपरेपछि किरणको मनमा नयाँ विकल्प आयो- तरकारी व्यापार।

    लकडाउनका बेलामा पनि बाटोमा बसेर तरकारी बेचिरहेको देखेपछि त्यो कुरा उनको दिमागमा खेलिरह्यो। तर, ‘घाटा पो लाग्ला कि’ भन्ने डरले द्विविधामा परिन्।

    उनले त्यो सोँच डेरा नजिकै खाजा घरको दिदीलाई सुनाइन्।

    ‘तरकारी बेच्छु भन्ने सोचेको दिदी। घाटा पो लाग्ला कि भन्ने डर भइराछ,’ उनले दिदीलाई सोधिन्।

    ‘धेरै राम्रो हुन्छ, सुरु गरे हुन्छ। घाटा एकदिन पो हुन्छ, तर नाफा नहुने कुरै छैन,’ दिदीको सुझाव पाइन्।

    उनमा आँट आयो, तरकारी बेच्ने निर्णयमा पुगिन्। तर, उनीसँग पैसा थिएन। हौसला दिने दिदीकै सहयोगमा उनले तरकारी बेच्ने नयाँ पेसा सुरु गरिन्। 

    सुरुका दिन तरकारी किनेपछि किरणलाई लाग्यो, ‘किन्दा त यति महँगो छ। बेच्दा पनि महँगो भनेर नलाने पो हुन् कि?’ तर सोचेजस्तो स्थिति आएन। पहिलो दिनमै सन्तोषजनक नाफा कमाइन्। उत्साह भरियो, त्यही उत्साहले भोलिपल्ट पनि उनलाई तरकारी व्यापारका लागि प्रेरित गर्‍यो।  

    ‘एकपटक चाहिँ घाटा पनि लाग्यो, त्यो बेला बेकार गरेछुजस्तो पनि लाग्यो,’ उनले अनुभव सुनाइन्, ‘तर, भोलिपल्ट नाफा भएपछि फेरि गर्न मन लाग्यो।’

    समय र परिस्थितिले फरक पेसा अंगाल्नुपर्ने बाध्यतासँग कुनै गुनासो छैन किरणलाई। उनी आफूलाई खेल वा फिल्ममा मात्र हैन, परिस्थितिसँग जुध्ने फाइटरसमेत सम्झिन्छिन्।

    Kiran dahal2.jpgसर्लाहीमा जन्मेकी उनी सानैदेखि हकी र निडर स्वभावकी थिइन्। एक्सन फिल्महरू हेर्थिन्। एक्सन देख्दा लाग्थ्यो- यस्तै एक्सन गर्न पाए...।

    गाउँमा कराते सिकाइन्थ्यो। तर त्यसमा सहभागी केटाहरुमात्र हुन्थे। उनलाई सिक्नु थियो। स्कुलको कक्षा छाडेर सितोरियो कराँते सिक्न थालिन्।

    उनी पहिलोपटक सिक्न जाँदा हाँसोको फोहोरा छुट्यो। ‘छोरी भएर यस्तो के सिकेको? केटा मान्छेजस्तो काम गर्न खोज्ने,’ धेरैले यस्तै खिसिट्युरी गरे।  

    तर उनले त्यस्ता खिसिट्युरी एक कानले सुनेर अर्को कानले उडाइदिइन्। कराँते सिकेकोमा उनको परिवार पनि सन्तुष्ट थिएन। ‘तँलाई पढ्न पठाएको कि गेम सिक्न पठाएको? छोरी भएर किन सिक्नुपर्‍यो?,’ परिवारको दबाब आउन थाल्यो।

    यही दबाबले उनको रहर बीचमै अधुरो भयो।

    ‘मेरो पर्फमेन्स देखेर गुरुहरू खुसी हुन्थे। तिमीले गर्न सक्छौं, निरन्तरता दियौ भने भविष्यमा राम्रो गर्न सक्छौ भन्थे। त्यही भएर मलाई कुनै न कुनै दिन सिक्छु भन्ने चाहना कायमै थियो,’ उनी सुनाउँछिन्।

    एकपटक गेम सिक्ने सुरले उनी भागेर काठमाडौं जान खोजिन्। ‘तर, भाग्न खोज्दा घरकाले चाल पाएछन्। कहिल्यै नपिट्ने मलाई त्यसबेला धेरै पिट्नुभयो,’ उनी सम्झिन्छिन्।

    कक्षा ८ मा उनी काठमाडौं आइन्। २०५९ सालमा एसएलसी दिइन्।

    एसएलसीपछि रंगशालामा गेम सिक्न गइन्। दिउँसोको समयमा कामसमेत गरिन्। रंगशालामा एक जना चिनेका गुरु जान्थे। गुरुले बेल्ट बाँधेका थिए। त्यो देख्दा किरणलाई पनि बेल्ट बाँध्न मन लाग्थ्यो।

    ‘मलाई पनि सिकाइदिनु न, तपाईँजस्तै बेल्ट बाँध्न मन लाग्छ,’ उनले आग्रह गर्दै गुरुलाई भनिन्। गुरुले ‘त्यसोभए रंगशाला हिँड’ भनेर लिएर गए।

    रंगशाला जाँदा उनलाई मान्छेहरू देखेरै डर लाग्यो। ‘सबै ज्याङ्गो थिए। हेर्दै मुटु काप्ने,’ उनी सम्झिन्छिन्।

    सुरुमा उनले ‘किकोसिङ’ सिकिन्। सिक्दा पहिलोपटक नै चोट लाग्यो। गुरुको गाली पनि खाइन्। पछि विस्तारै समूहमा सजिलै घुल्न सकिन्।  

    रंगशालामा फिल्ममा खलनायकको अभिनय गर्ने कलाकारहरु पनि पुग्थे। उनीहरूलाई देखेपछि लाग्थ्यो, ‘म पनि उनीहरुजस्तै फाइटर हुन पाए हुन्थ्यो।’

    ‘केकोसिङ’पछि ‘बोधेसिङ’बाट उनले ब्ल्याक बेल्ट पाइन्। उनको चाहना फिल्मतिर बढ्दै गयो। ‘फिल्मी फाइट’सम्बन्धी कला उनले योगेन्द्र श्रेष्ठसँग सिकिन्। र, फिल्म जगतमा प्रवेश गरिन्।

    २०६४ देखि फिल्ममा काम गर्न थालेको उनले सुनाइन्। त्यसयता लुट, पद्मिनी, छड्के, सारङ, तरङ्ग, कुइनेटो, पुण्टे परेडलगायत थुप्रै फिल्ममा काम गरिन्।

    फिल्ममा काम गर्ने किरणको चाहना अझै मरेको छैन। यसलाई निरन्तरता दिने सोचमा छिन् उनी। ‘प्रतीक्षा गरेमात्र प्रतीक्षाको फल मीठो हुन्छ। समयलाई कुरेमात्र एकदिन न एकदिन सफल भइन्छ, म त्यही समय कुरी बसेकी छु। अवस्था सामान्य हुँदै गएपछि फेरि फिल्ममा खेल्ने प्रस्ताव आइरहेका छन्,’ किरणले सुनाइन्।  

    अब छिट्टै फिल्ममा व्यस्त हुने दिन आउँदैछ। व्यस्तता बढेपनि तरकारी व्यापार भने छाड्ने मनसायमा छैनन् उनी। ‘यो काममा म खुसी भेट्छु। त्यसैले सुटिङको बेलामा सुटिङ गर्छु। अरु समयमा त गर्ने तरकारी व्यापार नै हो,’ किरणले मुस्कुराउँदै भनिन्।


    प्रकाशित :श्रावण २२, २०७७ बिहिवार - १६:३२:०७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.