शकुन्तलाको जीवनलाई न्याय गर्न नसकेको फिल्म-Sutra News

शकुन्तलाको जीवनलाई न्याय गर्न नसकेको फिल्म

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं-शकुन्तला देवी भारतमा चिनिएको नाम हो। गणितिज्ञको रुपमा चिनिएर पछि लेखक तथा ज्यातिषशास्त्रीको रुपमा उनको परिचय बनेको थियो। उनकै जीवनमा आधारिक भएर बनेको फिल्म ‘शकुन्तला देवी’ जुलाई ३१ बाट डिजिटल प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ।



जीवनमा केही नगर्नलाई अनेक बहानाहरु हुन्छन्। तर, केही गर्नलाई एउटै कुरा आवश्यक पर्छ- इच्छाशक्ति। ‘शकुन्तला देवी’को कथाले समाजमा महिलालाई केही गर्नबाट रोकेर राख्ने बहानाहरुलाई जित्न इच्छाशक्ती चाहिने कुरा प्रस्तुत गरिएको छ। यो फिल्मले महिला सशक्तिकरणको प्रसङ्गलाई पनि उठाएको छ।

फिल्मको सुरुआत शकुन्तला देवी (विद्या बालन)की छोरी अनुपना बेनर्जी (सान्या मलहोत्रा)ले आफ्नी आमामाथि मुद्दा हाल्न लागेको दृश्यबाट हुन्छ। त्यसपछि, फिल्मको दृश्य शकुन्तला देवीको बाल्यकालमा पुग्छ, जहाँ स्कुल नगएकी उसले गणितको हिसाब गरेर देखाउँछिन्। छोरीमा गणितका अंकहरुसँग खेल्ने असाधारण क्षमता भएको थाहा पाएपछि उसलाई लिएर ‘म्याथ शो’ गर्न थाल्छन्। र, शाकुन्तला घरको आर्थिक भार सम्हाल्न थाल्छिन्।

बाल्यकालबाट सुरु भएको फिल्म शकुन्तला देवी आफ्नो गाउँबाट लण्डन आएदेखि उनकी छोरी अनुपमासँग एकपटकको खटपटपछि सम्बन्ध जोडिएको ठाउँमा आएर टुंगिएको छ। लण्डन आएर विश्व प्रख्यात हुनु, फेरि भारत फर्किएर कलकत्ता बस्नु, छोरीको जन्मपछि आफ्नो गणितका कार्यक्रमहरुमा केही समय रोक लाग्नु, पछि फेरि त्यसलाई निरन्तरता दिनु। र,अन्त्यमा आफ्नी आमालाई आफूले सोचेजस्तो छोरीले नसोचोस् भन्ने ध्येय लिएर आमा-छोरीबीचको सम्बन्धलाई फेरि स्थापित गर्नु । फिल्म यसैको वरिपरि घुमेको छ। अब फिल्मको कथाभन्दा केही बाहिरका कुरा सुनौं।

सन् १९३० देखि २०११ सम्मका दृश्यहरु समेटिएको फिल्मको बलियो पक्ष सम्वाद हो। प्रस्तुतीमा कलात्मकताको प्रयोग नहुँदा कथा सामान्य शैलीमै अगाडि बढ्छ, जस्तो अधिकांश हिन्दी बायोग्राफी फिल्महरुमा हुन्छ। तर, सम्वादमा भएको पकड भने प्रशंसायोग्य छ।

शकुन्तला देवीलाई उनकी छोरीले जुनरुपमा बुझेकी थिइन्, त्यसैको आधारमा फिल्म बनेको छ। कथा अनुपमा बेनर्जीको दृष्टिकोणबाट देखाइएको छ। फिल्मको सुरुवातमा ‘कथाभित्रका कुनै पनि पात्र र उसको जीवनबारे यो डकुमेन्ट्री वा बायोग्राफी नभएको’ भनिए पनि फिल्मभरि कथाको प्रस्तुतिमाकरण ‘बायोग्राफी ड्रामा’कै शैलीमा छ।

छोरीको ‘पिओभी’मार्फत् फिल्म बनेको भनिए पनि प्रसंगहरु त्योभन्दा बाहिरका पनि छन्। फिल्मकै अनुसार शकुन्तला र छोरीले एकसाथ निकै कम समय बिताएका थिए। तर, फिल्मलाई छोरीको दृष्टिकोणबाट देखाइएको छ भन्दा प्रस्तुति आफैँमा विवादित देखिन्छ।

फिल्ममा देखाइएजस्तै ‘आमा’ थिइन् होला त शकुन्तला ? हुन वा नहुन पनि सक्छ। तर,महत्वपूर्ण कुरा के हो भने छोरीको दृष्टिकोणबाट आमालाई प्रस्तुत गरिएको भनिएको फिल्ममा दुई तर्फबाट आएका कथाहरु छन्। एउटा फिल्ममा भनेजस्तै छोरीको दृष्टिकोणबाट आमा र अर्को शकुन्तला देवीको आफ्नै जीवन। यी दुई पक्षबाट प्रस्तुति हुँदा कथा दुईधारबाट बगेको छ।

निर्देशक अनु मेननले फिल्ममा शकुन्तला देवीको जीवनलाई सतहबाट प्रस्तुत गरेकी छन्। कथामा शकुन्तलाको दिमाग र उनको क्षमतालाई अवमूल्यन गरिएको पाइन्छ। प्रायः हिन्दी पारिवारिक ड्रामामा हुनेजस्तै प्रस्तुति छ फिल्ममा।

कसैको जीवन वा जीवनको घट्नामा आधारित भएर फिल्म बनाउँदा जटिलता बढी भयो भने कथा गञ्जागोल हुन्छ। अमेरिकी निर्देशक स्टेफेन स्पिलबर्गको फिल्म ‘सिन्डलर्स लिष्ट’मा कथा केन्द्रित पात्र अस्कर सिन्डलर्स भए पनि फिल्म उनको जीवन र जीवनका घटनासँगै त्यो समयको समाज र त्यो बेलाको राजनीतिजस्ता कुरा समेटिएका छन्।

तर,’शकुन्तला देवी भने शकुन्तलाको जीवन, त्यसमा पनि उनको पारिवारिक र उनले गरेका यात्रा र केही मात्रामा उनको क्षमतामा मात्रै केन्द्रित छ। सामाजिक रुपमा उनले गर्नुपरेको संघर्ष थोरैमात्रै समेटिएको छ। त्यो समयको समाजमा महिलाले क्षमता देखाउन कस्तो संघर्ष गर्नुपर्थ्यो भन्ने कुरामा निर्देशक मेनन केही कमजोर देखिएकी छन्।

अर्कातिर,शकुन्तला देवीले आफ्नो जीवनमा समानताको वकालत गरेकी थिइन्। भारतमा पहिलोपटक ‘तेस्रो लिङ्गी’ समुदायको हक र अधिकारका लागि उनले वकालत गरेकी थिइन्। पहिलो पुस्तक ‘द वर्ल्ड अफ होमोसेक्सुअल’ उनले वकालत गरेको समानताकै एक उदाहरण हो।

sakuntala1.png

तर,फिल्ममा यो कुरालाई गलत परिभाषित गरिएको छ। पुस्तकको विमोचनको समयमा उनले भनेका संवाददेखि छोरीसँगको सम्बन्धलाई लिएर ठीक विपरित कथालाई प्रस्तुत गरिएको छ। त्यस्तै, फिल्मको अन्त्यतिर जसरी आमा र छोरीबीच आएको फाटो र आमाले छोरीको प्रेमीसँगको सम्बन्धमा जसरी प्रतिक्रिया दिएकी छन्, त्यो केही असमान छ।

सन् १९३० देखि २०११ सम्मका दृश्यहरु समेटिएको फिल्मको बलियो पक्ष सम्वाद हो। प्रस्तुतिमा कलात्मकताको प्रयोग नहुँदा कथा सामान्य शैलीमै अगाडि बढ्छ, जस्तो अधिकांश हिन्दी बायोग्राफी फिल्महरुमा हुन्छ। तर, संवादमा भएको पकड भने प्रसंसायोग्य छ ।

बाल्यकालमा शकुन्तलाले आफ्नी आमालाई बुबासँग बोल्न नसकेको प्रसंगमा उसले जनाएको प्रतिक्रिया, आफू कमाउने भएपछि घरमूली पनि आफू नै भएको प्रसंग, दिदी शारदासँगको कुराकानीमा ‘बडा आदमी’को साटो ‘बडी औरत’जस्ता शब्दको प्रयोग गरिएको छ। त्यो समय, जब भारतमा सामान्यतय महिलालाई प्रश्न सोध्न पाउनु ठूलो कुरा हुन्थ्यो, शकुन्तलाले आफ्नो परिवारदेखि प्रेमिसँग पनि आफू ‘आत्मनिर्भर’ भएको प्रसंगलाई सम्वादमार्फत् देखाइएको छ।

सँगै शकुन्तलाले छोरीको जन्मपछि फेरि आफ्ना गणितका कार्यक्रमहरु गर्छु भन्ने प्रसङ्गमा श्रीमानसँग अनुमति मागेको कुरामा उनको श्रीमान परितोष बेनर्जी (जिस्सु सेनगुप्ता)ले बोलेको सम्वादले त्यसलाई समान बनाएको छ।

निर्देशक मेननले फिल्मभरि नै यस्ता सम्वादको प्रयोग गरेकी छन्, जसले कथालाई अगाडि बढाउनेसँगै बलियो बनाउन मद्दत गरेको छ। विद्या बालनको अभिनय पशंसा गर्न लायक छ। फिल्मभरि उनको अभिनयले कथा र पात्रको मनोविज्ञानमा पर्याप्त न्याय गरेको महसुस हुन्छ।

प्रायः बायोग्राफी हिन्दी फिल्मभन्दा फरक छैन यसको कथ्यशैली। फरकपन केहीमा छ भने त्यो सम्वादमात्रै हो। तर, फिल्मले शकुन्तलाको जीवनलाई पर्याप्त न्याय गर्न भने सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट