

काठमाडौं– रिक्सा चालक लिलाराज वाइबाको हरेक बिहान एउटै चिन्ताबाट सुरु हुन्छ–आज दालभातको जोहो कसरी गर्ने ? यही चिन्ता लिएर उनी रिक्सा डोर्याउँदै ठमेलतर्फ लाग्छन् । रिक्सा चढ्न कोही आउँछन् कि भनेर यताउति हेर्छन् । तर,मानिसहरुको चलहपहल पातलिएको ठमेल सुनसानजस्तै छ ।
यात्रु नभएपछि लिलाराजको आम्दानी हुँदैन । लकडाउनयता कति साँझ त उनी ‘खाली खल्ती’ नै डेरा जानु परेको छ । ‘मान्छे नै छैनन् । एक ट्रिप हुन पनि मुस्किल छ अहिले,’ उनी सुनाउँछन् । ठमेलको नर्सिङ चोकनिजकै यात्रु कुरेर बसिरहेका लिलाराजलाई भेटेर हामीले संवाद गर्यौं ।
दुखेसो पोख्दै उनले हामीलाई आफ्ना समस्या सुनाए, ‘२० वर्ष भयो रिक्सा चलाएको । यस्तो कहिल्यै भएको थिएन । लकडाउनले दुई महिना रिक्सा चलाइनँ । तर, अहिले चलाए पनि यात्रु छैनन् ।’कुनै समय नेपाली र विदेशी बरोबर चढ्थे रिक्सा । त्यतिबेला घर धान्न सहजै भएको थियो उनलाई ।
कोरोना महामारीपछि भने कठिनाइको दिन सुरु भएको उनी सुनाउँछन् । ‘छाक टार्नै समस्या भइरहेको छ । मैले अलिकति दाल पनि दुई छाक बनाएर खाएको छु,’ उनले भने, ‘सरकारले राहत त एकपटक दिएको थियो । दुई किलो चामलले कति न पुग्थ्यो र !’लिलाराजले भोगेजस्तै समस्या भोग्ने अर्का चालक छन् मंगल तामाङ ।
वसन्तपुरमा भेटिएका उनले दिनभरि रिक्सा खाली रहनुको बाध्यता सुनाए । ‘पहिलो त दिनमा हजार–बाह्र सय हुन्थ्यो कमाइ ।अहिले त २ सय पनि हुन कठिन छ,’ उनी सुनाउँछन्, ‘एक ट्रिप भन्दा दुई ट्रिप हुँदै हुँदैन ।’ १७ वर्षदेखि रिक्सा चलाएका मंगल यो वर्षजति निराश कहिल्यै भएनन् ।
‘पहिले त केही न केही हुन्थ्यो, अहिले त दाल भातै खान पनि समस्या छ ।’ लिलाराज र मंगलको यो भोगाइ रिक्सा चालकहरुको साझा समस्या हो । सधैं चहलपहल देखिने ठमेलमा रिक्सा चलाउन अभ्यस्त उनीहरुको मलिन अनुहारले अहिले भनिरहेछ– यो अभावलाई कसरी सामना गर्ने ?