पटक-पटक बैठक स्थगित हुँदा नेकपा स्थायी कमिटीका नेताहरु हैरान-Sutra News

पटक-पटक बैठक स्थगित हुँदा नेकपा स्थायी कमिटीका नेताहरु हैरान

शुक्रबार, २३ साउन २०७७

शुक्रबार, २३ साउन २०७७

काठमाडौं–४ साउन २०७७ । नेकपा स्थायी कमिटी बैठकका लागि तयार भएर बालुवाटार नजिकैको नेपाल हाउस पुगेका के थिए, गणेश साहको मोबाइलमा सन्देश आयो, ‘बिहान ११ बजेलाई बोलाइएको बैठक स्थगित भएको छ ।’



त्यसमा ४ साउनमा बोलाइएको बैठक दुई दिनपछि अर्थात् ६ साउनका लागि डाकिएको व्यहोरा सन्देशमा थियो ।

बैठकका लागि भन्दै बालुवाटार नजिकै फर्किएर नेता साह दुई पटक फर्किनु परेको छ । बीच बाटोबाटै त उनी कतिपटक फर्किए, अहिले सम्झन पनि चाहदैनन् । हठात् बैठक स्थगित हुँदा बीच बाटोबाटै फर्किनुपर्दा उनमा आक्रोस सिर्जना त हुने भइहाल्यो, सँगसँगै ‘ग्लानिबोध’ पनि हुन्छ ।

‘म सबै कुरा समयमै गर्ने संस्कारमा हुर्केको हुँ’ साह भन्छन्, ‘योजना बनाएर हिँड्ने मान्छेलाई यस्तो हुँदा अप्ठ्यारो पनि महसुस हुन्छ ।’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि १० साउनदेखि स्थायी कमिटी बैठक सुरु भएको थियो । ३ जेठ ०७५ मा एकता भएपछि बनेको नेकपाको पाँचौं स्थायी समिति बैठक भनिएको बैठकका एजेन्डा पनि ५ वटै थिए– सरकारको कामको समीक्षा, बाँकी रहेको पार्टी एकताको कामबारे, एमसिसी आदि, आदि ।

नेकपाको स्थायी कमिटी बैठक १० साउन यता १२ पटकसम्म स्थगित भइसकेको छ । पछिल्लो पटक १३ साउनमा बसेको बैठक यतिबेला अनिश्चित कालका लागि स्थगित छ ।

झण्डै एक महिनादेखि लम्बिरहेको बैठक १३ साउनका लागि बोलाइएको थियो । तर अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षले उक्त बैठक एकलौटी ढंगले बैठक स्थगित गरिदिए । ‘काउन्टर’ स्वरुप अर्का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षले ओली पक्षको उपस्थितिबिनै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमै बैठक राख्यो ।

जारी स्थायी कमिटी बैठकको निरन्तरताको रुपमा व्याख्या गरिएको बैठकले ओलीसँग सहमति गर्ने जिम्मा प्रचण्डलाई सुम्पियो । त्यसअनुसार ओली र प्रचण्डबीच भएका शृंखलावद्ध बैठकबाट न त सहमति जुट्न सकेको छ, न त अर्को बैठक कहिले बस्ने भन्ने टुंगो नै ।

पटक–पटक रोकिएको बैठकबाट साह मात्रै होइन्, अन्य स्थायी कमिटी सदस्यहरु पनि प्रताडित छन् ।

अर्का स्थायी कमिटी सदस्य लिलामणि पोखरेल पनि स्थनको ठेगान नभएको बैठकका कारण धेरै पटक बीचबाटो बाटै फर्किनु परेको छ । ‘धेरै पटक घरबाट हिँडेर बालुवाटार पुग्नै आँटेको बेलामा बैठक स्थगित भएको खबर आउँछ,’ पोखरेल भन्छन्, ‘अनि जहाँसम्म पुगेको छ, त्यहीबाट फर्किनु परेको छ । कमरेडहरुको यस्तो पाराले हैरान भैसकियो ।’

एक/दुई जना व्यक्तिको लहडका कारण हठात बैठक स्थगित गरेर आफूहरुको मानमर्दन गरिएको बताउँछन् पोखेरेल । भन्छन्, ‘हामीलाई गोेठाला जस्तो बनाइयो । एकजनाले ‘बैठक स्थगित’ भन्दियो फर्किनुपर्ने, ‘बैठक चल्यो’ भनेपछि फेरि फर्केर आउनुपर्ने स्थिति छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा भने व्यक्तिगत सुःख, दुःखका लागि तयार भएरै राजनीतिक आन्दोलनमा होमिएकाले यस्ता दुखलाई सामान्य मान्नुपर्ने बताउँछन् । ‘यी सबैको सामना गर्ने भनेर राजनीतिमा लागिएको हुनाले यी कुरा झेल्ने हो’ विश्वकर्मा भन्छन्, ‘तर यहाँ त निकास चाहिएको छ । जसरी हुन्छ, नेतृत्व निकास दिनेतिर लागोस् ।’

स्थायी कमिटीका अर्का सदस्य सत्यनारायण मण्डल बैठक लम्बेतान र निष्कर्षबिहिन हुँदा शारीरिक कष्ट मात्रै नभएर मानसिक रुपले समेत पीडित भएको बताउँछन् । उनीपनि ओली पक्षीय नेता हुन् । उनका भनाईमा, कोभिड–१९ र प्राकृतिक विपतका बेलामा बैठक नै राख्नु हुँदैनथ्यो । भन्छन्, ‘यस्तो प्राकृतिक प्रकोप भइरहेका बेलामा बैठक ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ जस्तो गरिएको छ ।’

पोखरेल चाहिँ अबको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नुपर्ने र चाँडै टुंग्याउनुपर्ने मत राख्छन् । ‘अब बैठक केन्द्रीय कार्यालयमा हुनुपर्छ,’ पोखरेल भन्छन्, ‘किनभने बालुवाटार त राज्यको सम्पति हो। राज्यको सम्पतिको हाम्रो पार्टीले उपयोग गर्नु हुँदैन् । प्रधानमन्त्रीको स्वास्थ्यको प्रतिकुलताका कारणले त्यहाँ राखिएको कुरा हो । अब पार्टी कार्यालयमै गर्नुपर्छ ।’

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट