तीन घुम्ती : बिपीको उपन्यासको अपव्याख्या-Sutra News

तीन घुम्ती : बिपीको उपन्यासको अपव्याख्या

शनिबार, २४ साउन २०७७

शनिबार, २४ साउन २०७७

आख्यान काल्पनिकीको सिर्जना मात्रै होइन । आख्यान जुन समयमा लेखिन्छ, त्यसले त्यो समयको समाजको कथा बोक्छ । बोक्छ, त्यो समयको राजनैतिक अवस्थाको स्थिति । बोक्छ, त्यो समयका मानवीय जीवनसँग प्रत्यक्ष/अप्रत्यक्ष जोडिएका तत्वहरु । आख्यान त्यो होइन, जसलाई जुनसुकै रुपमा व्याख्या गर्दा नपरोस् केही फरक ।



आख्यानलाई सिनेमाको रुपमा प्रस्तुत गर्दा कथाको विषयवस्तुसँगै कथाले ‘के भन्न खोजेको छ?’ भन्ने पक्ष पनि महत्वपूर्ण हुन्छ । पुस्तकमा देखाइएका कुरालाई जस्ताको त्यस्तै सिनेमामा उतार्न केही असहज होला, तर विषयवस्तुले बोक्ने मूल भाव भने उतारिनुपर्छ ।

नेपाली सिनेमामा सिनेमालाई मनोरञ्जनभन्दा माथि उठाएर बुझ्ने (हेर्ने मात्रै होइन) दर्शक (जसमा सिनेमाको साक्षरता पनि कारक तत्व हुन्छ) आफैंमा कमी भएको महसुस हुन्छ । आख्यानलाई काल्पनिकी मानेर त्यसलाई जुनसुकै रुपमा दृश्यमा देखाउँदा ‘भै’हाल्छ नि’ किसिमले सिनेमा बन्दा दर्शकले सिनेमालाई मनोरञ्जनभन्दा माथि उठेर हेर्न सक्दैनन् । (बरु, मनोरञ्जनभन्दा निम्नस्तरको मान्छन् सायद ।)

संख्यात्मक हिसाबमा कम रहेका उपन्यास वा सिनेमामाथि आधारित नेपाली सिनेमाहरुमध्ये ‘तीन घुम्ती (बाबुराम ढकाल निर्देशित)’ नेपाली साहित्यको निकै रुचाइएको पुस्तक बिपी कोइरालाको ‘तीन घुम्ती’माथि आधारित छ ।

‘तीन घुम्ती’ उपन्यासमा आधारित भनिएको सिनेमा ‘तीन घुम्ती’ वास्तवमा ‘तीन घुम्ती’का केही घुम्तीहरुको दृश्यांकन मात्रै हो । सिनेमा र उपन्यासमा आधारित रहेर तयार गरिएको यो लेखमा कसरी उपन्यासले उठाएको मुद्दालाई सिनेमाले अपव्याख्या गरेको छ र उपन्यासमा भएका तत्वलाई कसरी सिनेमा लेखनदेखि निर्माणको क्रममा गलत रुपमा ढालिएको छ भन्ने कुरालाई समेट्ने प्रयास गरिएको छ ।

कथाकै तोडमोड
बीपीले उपन्यासको सिर्जना गरे, विसं २०२५ मा । बाबुराम ढकालले उपन्यासलाई सिनेमाको रुपमा उतार्ने ‘प्रयास’ गरे, सन् २०१६ मा । उपन्यासमा आधारित भनिएको सिनेमा बिपीले कृतिको सिर्जना गरेको ४५ वर्षभन्दा बढी समयपछि मात्रै छायाङ्कन भएको छ । यो समयमा बिपीको कृतिमाथि आधारित रहेर थुप्रै टिकाटिप्पणी भइसकेका छन्, जसको आधारमा सिनेमा लेखन पक्षले कम्तिमा ‘तीन घुम्ती’ उपन्यासले भन्न खोजेको के हो भन्ने थाहा पाउन सक्छन् ।

तर, सिनेमा त्यस्तो छैन । पहिलो पक्ष त उपन्यासमा बिपीले सकेसम्म कमभन्दा कम गरेको पितृसत्तात्मक समाजको चरित्र–चित्रणलाई सिनेमाको रुपमा ढाल्ने क्रममा गलत व्याख्या गरिएको छ । उदाहरणका लागि उपन्यासमा इन्द्रमायाले आमालाई आफूलाई पिताम्बर मनपर्ने र विवाह उसँगै गर्ने भनेको प्रसंगपछि आफूलाई स्वेच्छाले कोठामा बन्द गरेकी छन् (बिपी कोइराला, बिपीका उपन्यासः तीन घुम्ती, २०२५, पृ. ७) । यहाँ बिपीले इन्द्रमायालाई कोठामा बन्द गरेको भन्नुको अर्थ उनी भौतिक रुपमा कोठामा बन्द भएको वा उनलाई थुनिएको भन्ने होइन ।

तर, उपन्यासको यो प्रसंगलाई सिनेमामा प्रस्तुत गर्ने क्रममा पूर्ण पितृसत्तात्मक रुप दिइएको छ । इन्द्रमायाले आफूलाई पिताम्बर मनपर्ने बताएपछि बुबाले उसलाई गाली गरेर घरबाट बाहिर जान नपाउने उर्दी जारी भएको छ सिनेमामा । बिपीले कमभन्दा कम गरेर महिलाको मनोभाव र अन्तरवेदनालाई प्रस्तुतीकरण गर्ने क्रममा लेखिएका यी कुराले कथाको पहिलो पछाडिका तहका बुझाइमा फरक पार्छन् । तर, सिनेमामा नारीमाथि हुकुम चलाउने पुरुष हुन् भन्ने भावमा यो प्रसंगलाई प्रस्तुत गरिएको छ ।

लगत्तैको प्रसंगमा इन्द्रमायालाई आमाले रिसरागले पिताम्बरलाई मन पराएकोमा गालीगलौज गरेको छैनन् । तर, सिनेमामा यो दृश्यमा पनि उपन्यासको प्रसंगलाई तोडमोड गरिएको छ । इन्द्रमाया र उनकी आमाको बीचमा द्वेष सिर्जना गराइएको छ ।

सामान्य रुपमा हेर्दा यी दुई प्रसंगको धेरै अर्थ लाग्दैन । तर, सामान्यभन्दा माथि उठेर हेर्दा बिपीका यी दुई प्रसंगमा नेवार जातीमा भएको सामाजिक अवस्थाको चित्रण गरिएको छ । नेवार जातीमा महिलालाई दिइएको स्तर र अविभावकका सामुन्ने सन्तानले आफूलाई प्रस्तुत गर्ने सक्ने अवस्था त्यो समयबाटै केही उदार थियो भन्ने देखाइएको छ उपन्यासमा ।
तर, सिनेमामा ? सिनेमामा यी दुवै कुराको अपव्याख्या भएको छ ।

यी दुई सुरुवातका प्रसंग हुन् । सिनेमाभरमा भएका यस्ता प्रसंगलाई यहाँ उल्लेख गरियो भने लेखमा शब्द संख्यालाई निकै धेरै बनाउनुपर्ने हुन्छ । अर्थात्, सिनेमाभर नै उपन्यासमा भन्न खोजिएको कथालाई पूर्ण रुपमा अपव्याख्या गरिएको छ ।

मनोविज्ञानलाई सिनेमाको पर्दामा उतार्नु आफैंमा निर्देशकले प्रयोगवादी हुन पाउने मौका हो । प्याट्रिक सुस्किन्डको उपन्यास ‘पर्फ्युम: अ स्टोरी अफ मर्डरर’लाई टम ट्वाइकरले सिनेमाको रुप दिँदा गन्धको मनोविज्ञानलाई सिनेमामा उतारेका छन् । सन् २०१४ को सिनेमा ‘लेग्गिज (लिन सेल्टन निर्देशित)’ मा प्रमुख पात्र महिला हुँदा कसरी कथ्य शैलीको सिर्जना गर्न सकिन्छ भन्ने प्रस्तुत गरिएको छ । अर्को सिनेमा ‘मलेना (२०००ः ज्युसेप टोरनाटोर निर्देशित)मा एउटा बालकको आँखाबाट महिला पात्रको मनोविज्ञानलाई देखाइएको छ ।

अर्को यस्तै मुख्य प्रसंग हो, रमेश र इन्द्रमायाबीचको सम्बन्ध । बिपीले उपन्यासमा ठाउँ–ठाउँमा रमेशको प्रसंगलाई उल्लेख गरेका छन् । ‘म कहाँ छु निः सम्बन्धको कुन स्तरमा?’ (बीपी कोइराला, बीपीका उपन्यासः तीन घुम्ती, २०२५, पृ. १७) यो संवाद इन्द्रमाया आफैंले आफैसँग गरेको संवाद हो । इन्द्रमायाले पिताम्बर कहाँ आफूलाई पुर्याइसकेपछि पटक–पटक रमेशलाई आफूभित्रको संवादमा सम्बोधन गरेकी छन् । तर, सिनेमामा रमेशप्रति इन्द्रमायामा सुरुवातका दिनबाटै फरक भावना थियो भन्ने कुनै संकेत छैन ।

सिनेमामा जुन ढंगले इन्द्रमाया र रमेशको सम्बन्धलाई देखाइएको छ, यहाँ पनि महिलालाई पुरुषको सहारा आवश्यक नै हुने भन्ने देखाउन खोजिएको प्रष्ट हुन्छ । सिनेमामा जुन रुपमा इन्द्रमाया पिताम्बरको जेल चलानपछि कमजोर भएकाले पुरुषको सहारा (त्यो रमेश नभएर पिताम्बरका अरु साथी पनि हुनसक्थे) आवश्यकतामा बाँचिरहेको भन्ने (अन) अर्थमा प्रस्तुत गरिएको छ ।

इन्द्रमायाले त्यो समयमा रमेशको ठाउँमा अरु कोही आएको भए पनि के सम्बन्धको स्थापना त्यसरी नै हुन्थ्यो? इन्द्रमाया र रमेशको बीचमा त्यो सम्बन्ध स्थापित हुनुमा के त्यो स्थिति मात्रै कारक थियो? के इन्द्रमायाको हृदयमा रमेशप्रति (जस्तो बिपीले पटक पटक उल्लेख गरेका छन्) कुनै पनि भावना थिएन? के उनी पिताम्बरको गैरउपस्थितिकै कारण मात्रै रमेशसँग नजिकिएकी हुन् (जस्तो सिनेमामा छ)?

यस्ता थुप्रै प्रश्न छन्, जसको सम्बोधन सिनेमाले गर्दैन ( र गर्नुपर्ने प्रयास पनि सिनेमामा देखिँदैन ।) पिताम्बरको एक्लोघर छर–छिमेकको बीचमा देखाइनु, इन्द्रमायालाई सन्तान प्राप्तिकोे चाहना हुन कसैको बच्चा देखाउनु, पटक–पटक ‘लेडी डाक्टर’ भनेर बिपीले उल्लेख गरेको प्रसंगलाई बेवास्ता गर्नु उपन्यासमा भएको कथाको अपव्याख्या हो ।

तत्कालीन समयमा राजाको विरुद्धमा आवाज उठाउने मानिसलाई सामाजिक रुपमा के कस्तो व्यवहार गरिन्थ्यो भन्ने सिनेमामा कतै केही छोइएको छैन । यो कुराको चित्रण उपन्यासमा पर्याप्त रुपमा गरिएको भेटिन्छ । बरु, उपन्यासमा ‘सामाजिक रुपमा राजाविरुद्ध काम गर्नेहरु एक्लो र अलि लुकेर जीवन बिताउँछन्’ भन्ने कुरालाई सिनेमामा टाँसिएका घरहरुको बीचमा पु¥याइएको छ ।

यस्ता गल्तीहरु सिनेमाभर पर्याप्त छन् । भनौं, सिनेमामा बिपीको उपन्यास नभएर गल्तीहरुको थुप्रो छ । अपव्याख्याको चाङ सिर्जना भएको छ ।

रमाइलो कुरा त के भने, सिनेमा बनाइरहँदा ‘जसरी भएपनि देखाउनै पर्छ’ भन्ने इच्छा जागृत भएका कारण सिनेमा लेखन र निर्देशनमा पिताम्बर र इन्द्रमायाले एकअर्कालाई कसरी चिने भन्ने प्रसंगलाई समेत मनलाग्दी प्रस्तुती गरिएको छ । सहपाठी पिताम्बरलाई सिनेमामा पटकथाको रुपमा ढाल्दा शिक्षक बनाइएको छ ।

फरक : उपन्यास र सिनेमाकी इन्द्रमायामा
‘कोइरालाको तीन घुम्तीमा इन्द्रमायाले प्रेमिका, भार्या र माताका घुम्तीहरु पार गरेर सामाजिक, सांस्कृतिक र मानवीय विद्रोह गरेकी छे, तर कसैबाट साहारा पाएकी छैन ।’ (प्रा. डा. हरिप्रसाद शर्मा, बीपीका उपन्यास २०६८।) शर्माले भनेजस्तै, ‘तीन घुम्ती’ पुस्तकमा पहिलो विद्रोह इन्द्रमायाले फरक जात र फरक राजनैतिक विचारको व्यक्तिसँग प्रेम गरेर गरेकी छिन् । दोस्रो विद्रोह आफ्नो हृदयमा लामो समयदेखि सुस्त सुस्त बजिरहेको बोलीलाई सम्बोधन गर्दै रमेशसँगको सम्बन्ध हुँदा गरेकी छन् । र, अन्तिम विद्रोह आफ्नो र छोरीको उपस्थिति र परिचयलाई लिएर गरेकी छन् ।

तर, सिनेमामा पहिलो विद्रोहलाई प्रस्तुतीकरणको रुपमा जम्मा एउटा संवाद छ, जहाँ इन्द्रमायाकी आमाले पिताम्बर पर्वते बाहुन र पार्टीको मान्छे भएको उल्लेख गर्छिन् । उपन्यासमा बिपीले इन्द्रमायाको व्यक्तिगत मनस्थितिमार्फत् पहिलो विद्रोह पश्चात् पनि सामाजिक स्थितिको प्रस्तुतिका लागि वरिपरि छरछिमेक नभएको दृश्यलाई उतारेका छन् । तर, सिनेमामा यी कुराको वास्ता छैन ।

इन्द्रमायाको दोस्रो विद्रोहमा बिपीले सबैभन्दा धेरै काम गरेका छन् र सिनेमामा सबैभन्दा कम । इन्द्रमाया र रमेशबीचको सम्बन्ध स्थापित गराउन पहिला त बिपीले इन्द्रमायाको मनोभावलाई उतारेका छन् । उपन्यासमा पिताम्बरसँग गएदेखि नै इन्द्रमायाले रमेशलाई लिएर आफैंप्रति भएको छट्पटी उपन्यासमा पर्याप्त छ । र, पछि दुईबीचमा सम्बन्ध स्थापित हुनुमा अगाडिका यी प्रसंगहरुले प्रत्यक्ष सम्बन्ध र अर्थ राख्छन् ।

तर, सिनेमामा इन्द्रमाया र पिताम्बरको सम्बन्ध स्थापित हुनुमा तत्कालिन स्थितिलाई मात्रै कारक तत्वको रुपमा प्रस्तुत गरिएको छ । र, सँगै महिलाका लागि पुरुष अत्यावश्यक आवश्यकता हो भन्ने ढोंगको प्रस्तुति छ, जुन सरासर उपन्यासकी इन्द्रमायाको गलत चरित्रचित्रण हो । यो प्रसंगमा यही लेखको अघिल्लो अंशमा उल्लेख गरेका कुराहरु नै लागू हुन्छन् ।

सिनेमा कि ‘श्रव्य दृश्य?’
तपाईंलाई के लाग्छ? दृश्य र कुनै किसिमको श्रव्य हुँदैमा सिनेमा बन्छ? पंतिकारलाई लाग्छ, बन्दैन ।

माथिल्लो अंशमा इन्द्रमायाको तेस्रो विद्रोहको कुरा नगरिएको त्यो विद्रोह यो प्रसंगमा महत्वपूर्ण हुनाले हो । इन्द्रमायाले आफ्नी छोरी रमालाई पिताम्बर नजिक पु¥याउन गरेका प्रयत्न थुप्रै छन् । उपन्यासका अनुसार पिताम्बर निकट छोरी पु¥याउन इन्द्रमायाले थुप्रै प्रयास गरेकी छन् । तर, जब आफ्नो र आफ्नी छोरीको अस्तित्वलाई नै लिएर पिताम्बरले पटक–पटक प्रश्न गर्छ, तब भने इन्द्रमायाले आफ्ना प्रयासलाई छाडेर तेस्रो विद्रोह गरेकी छन् ।

तर, सिनेमामा के छ? सिनेमामा इन्द्रमाया घर छाडेर जानुको कारण पिताम्बरले कोठामा आएकी इन्द्रमायाकी छोरीलाई घँचेड्नु देखाइएको छ । पिताम्बर निकट बनाउन रमाले गरेको अथक प्रयासलाई सिनेमामा पर्याप्त स्थान नदिइनु, कथालाई अगाडि धकेल्नकै निम्ति रमामाथि पिताम्बरको हात उठाइनु र त्यसको परिणाममा इन्द्रमायाले घर छाडेर जानुलाई देखाइएको छ । यो साँच्चै नै निकै कमजोर प्रस्तुति हो ।

उपन्यास वा पुस्तकको कथामा आधारित भएर विश्वमा निकै कलात्मक र सुन्दर सिनेमा बनेका छन् । सन् १९९३ मा प्रदर्शनमा आएको ‘सिन्डलर्स लिष्ट’ (स्टेफेन स्पिलबर्ग निर्देशित) एउटा ऐतिहासिक सिनेमा हो । स्पिलबर्गको यो सिनेमा हेरिरहँदा लाग्दैन, कसैलाई यो कुनै आख्यानमा आधारित सिनेमा हो । थोमस केनेल्लीको ‘सिन्डलर्स आर्क (१९८२)’ नामको उपन्यासमा आधारित यो सिनेमामा निर्देशकले उपन्यासलाई आधार मानेका छन् । र, सिनेमामा निर्देशक स्पिलबर्गले उपन्यासमा भएका तत्वहरुलाई झन् न्यायपूर्ण ढंगले प्रस्तुत गरेका छन् ।

‘सिडलर्स लिष्ट’ उपन्यासमा कथालाई जुन ढंगबाट प्रस्तुत गरिएको छ, त्यो जत्तिकै सुन्दर र सन्तुलित ढंगबाट सिनेमामा देखाइएको छ ।

मनोविज्ञानलाई सिनेमाको पर्दामा उतार्नु आफैंमा निर्देशकले प्रयोगवादी हुन पाउने मौका हो । प्याट्रिक सुस्किन्डको उपन्यास ‘पर्फ्युम: अ स्टोरी अफ मर्डरर’लाई टम ट्वाइकरले सिनेमाको रुप दिँदा गन्धको मनोविज्ञानलाई सिनेमामा उतारेका छन् । सन् २०१४ को सिनेमा ‘लेग्गिज (लिन सेल्टन निर्देशित)’ मा प्रमुख पात्र महिला हुँदा कसरी कथ्य शैलीको सिर्जना गर्न सकिन्छ भन्ने प्रस्तुत गरिएको छ । अर्को सिनेमा ‘मलेना (२०००ः ज्युसेप टोरनाटोर निर्देशित)मा एउटा बालकको आँखाबाट महिला पात्रको मनोविज्ञानलाई देखाइएको छ ।

त्यस्तै, सिनेमामा तत्कालीन समय र अवस्थाको प्रस्तुतिले निकै महत्व राख्छ । बेल्ला टारको सिनेमा ‘अ ट्युरिन हर्स’मा त्यो समयलाई प्रस्तुत गर्न वातावरणदेखि घरभित्रका सर–सामान, खानामा प्रयोग हुने प्लेटदेखि घोडाको घाँटीमा लगाइएको लगामसम्मलाई समयानुकुल देखाइएको छ ।

रोबर्ट एग्गर्सको सन् २०१९ को सिनेमा ‘द लाइटहाउस’मा समयावधिलाई प्रस्तुत गर्न कथाका दुई पात्रहरुले बोल्ने भाषामा समेत फरक देखाइएको छ । सिनेमाको दृश्यमा प्रयोग भएका प्रप्सदेखि पात्रले लगाएका पोशाक लगायतका कुरा त छँदै छन्, दुई पात्रहरुमा विन्स्लोले बोल्ने अंग्रेजी आधुनिक रहेको छ भने थोमस वेकले बोल्ने अंग्रेजीमा मध्यकालीन र ल्याटिन अंग्रेजीको प्रयोग गरिएको छ । सँगै यो सिनेमा आफैंमा पनि मानिसको मनोवैज्ञानिक धरातलमा टेकेर कलात्मक रहेको छ ।

यस अंशको सुरुवातको प्रश्न यहाँ फेरि सोध्न आवश्यक छ– के श्रव्य र दृश्यले मात्रै सिनेमा बन्छ त ? हो, बन्दैन । तर, तीन घुम्तीलाईश्रव्य र दृश्यको रुपमा मात्रै प्रस्तुत गरिएको छ । जुन उपन्यासमा महिला मनोविज्ञानलाई उच्च कोटीको प्रस्तुति गरिएको छ, त्यहीँ उपन्यासमा आधारित भनिएको सिनेमामा महिला मनोविज्ञानका थोरै अंश पनि प्रस्तुत हुन सकेका छैनन् ।

सिनेमाका भाषिक तत्वकै कुरा गर्ने हो भने जब पिताम्बर र उनका साथीहरूले पर्चा टाँसिरहेका हुन्छन्, त्यो बेला गर्नकै लागि गरिएको ‘कलर– कन्स्ट्रास्ट’ पूर्ण रुपमा अनुचित देखिएको छ । अर्कातिर, निर्देशनमा सामान्य ध्यान दिइनुपर्ने कुरा पनि सिनेमामा छुटाइएको छ । सिनेमामा पिताम्बरलाई सैनिकले पक्रिँदाको समयमध्यरात वरपरको समय देखाइएको छ र टर्च लाइटको प्रयोग गरिएको छ । तर, लगत्तै पिताम्बरलाई लिएर घर बाहिर निस्कँदा दिन भइसकेको हुन्छ ।

हो, उपन्यासमा यही उल्लेख छ । तर, उपन्यासमा दिन सुरु हुनुभन्दा अघिको समय के मा व्यतित भयो उल्लेख छ । तर, सिनेमामा ध्यान दिनुपर्ने ‘सिक्वेन्स’मध्येका यस्ता प्रसंगहरूमा पनि ध्यान दिइएको छैन । भाषाकै कुरामा बिपीको लेखनमा भएको उच्च कोटीको भाषालाई हटाएर अहिलेको समयको भाषाको रुप दिइएको छ । संवादहरूमा बिपीले प्रयोग गरेका शब्दका ठाउँमा परिवर्तन भएको छ । परिवर्तन आवश्यक हो, तर कथाले देखाउने समय र बुझाउने समाजलाई चरित्रचत्रण गर्दा अहिले र त्यो समयमा फरक छ भन्ने पनि सिनेमा बनाउँदा बुझ्न आवश्यक छ ।

अन्त्यमा,
‘तीन घुम्ती’ सिनेमालाई बीपीको कृति माथि आधारित भनिए पनि यो सिनेमा कुनै ढंगमा पनि उपन्यासमाथि आधारित छैन । उपन्यासको सार तत्वलाई नै सिनेमाले सम्बोधन गर्दैन र बनाउनकै लागि वा भनौं, दृश्याङ्कन गर्न कै लागि उतारिएको शैलीमा उपन्यासको मूल कथालाई अपव्याख्या गरिएको छ ।

सिनेमामा गरिमा पन्तले गरेको अभिनयलाई सराहनीय मान्नुपर्छ । तर पर्याप्त होइन । निर्देशकको निश्चित सीमाभित्र रहेर पनि गरिमा पन्तले गरेको अभिनयलाई समग्रमा स्वीकार्य भन्न सकिन्छ । तर, निर्देशन र उपन्यास चलचित्रको पटकथा लेखनमा भएको त्रुटिले भने सिनेमा हेरेर कसैले ‘तीन घुम्ती’को कथासारमाथि केही बुझाइ बनायो भने ठूलो धोका हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट