कोरोना भाइरसबाट विदेशमा १ सय ९१ जना नेपालीको मृत्यु-Sutra News

कोरोना भाइरसबाट विदेशमा १ सय ९१ जना नेपालीको मृत्यु

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

लण्डन–कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका १ सय ९१ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका (एनआएएन)का अनुसार भारतमा मात्रै यो साता थप २ जनाको कोरोनाका कारणले मृत्यु भएपछि विदेशमा मृत्यु हुने नेपालीको संख्या वृद्धि भएको हो ।



शनिवार साँझसम्म नेपालसहित विश्वभर २ सय ६४ जना नेपालीको कोरोना भाइरसले ज्यान लिएको गैरआवासीय नेपाली संघको भनाइ छ। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.संजीव सापकोटाका अनुसार प्राप्त तथ्यांकअनुसार भारत,अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेवियामा रहेका नेपालीहरूमा नयाँ संक्रमण देखिएको छ ।

संघका अनुसार गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरू कतार, युएई, साउदी अरब लगायतका देशमा कोरोना संक्रमणमा कमी आएको छ। यो सातामात्रै अष्ट्रेलिया रहेका १४६ जना नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जनाएको छ। समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपालीहरूमा सामूहिक रूपमा देखिएको कोरोना संक्रमितहरू संक्रमणमुक्त हुँदै गएका छन्। संघका अनुसार लग्जेम्वर्गमा करिब दुई दर्जन नेपालीमा कोरोना संक्रमण रहेको र बाँकी आइसोलेसनमा रहेका छन् । लग्जेम्वर्गमा थप संक्रमण देखिएको छैन ।

विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको संघले जनाएको छ। ती मध्य १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ। कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रीका लगायतका देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो। हालसम्म नेपाल सहित ५५ हजार ९ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ। ती मध्ये ४७ हजार ४ सय ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

४६ हजार ३१२ जनाको उद्धार

गैरआवासीय नेपाली संघ,कोभिड १९–उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको गैरआवासीय नेपाली संघ,नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट हालसम्म ४६ हजार ३१२ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार ५ सय १ जना छन्। साउदी अरेबियाबाट ६ हजार ९ सय ९७, मलेसियाबाट ६ हजार ७९४, कुवेतबाट ६ हजार ३२९ र कतारबाट ५ हजार २५१ जनाको उद्धार भएको छ।

अफगानिस्तानबाट ३३, ओमानबाट ६ सय ३६, म्यानमारबाट २६, थाइल्याण्डबाट ३ सय २६, दक्षिण कोरियाबाट ७ सय २०, बंगलादेशबाट ८ सय ४१, माल्दिभ्सबाट ७ सय ९,सिंगापुरबाट २ सय ९७, हंङकंङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९ सय ८०, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९, इजरायलबाट १ सय २७, चीनबाट २ सय आठ, टर्कीबाट १ सय १० जना स्वदेश फर्किएका छन्।

फिलिपिन्सबाट २ सय १ जना, स्वीट्जरल्याण्डबाट १० जना, इराकबाट ३९ जना, दक्षिण सुडानबाट २ सय ५० जना, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८ जना, श्रीलंकाबाट ५ जना जापानबाट १ हजार २३ जना स्वदेश फर्किएका छन् । भारतबाट हवाई उडान मार्फत ८५ जना स्वदेश फर्किएका छन् । तर स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको तथ्यांक एकिन छैन।

२४६ जनाको शव नेपाल ल्याइयो

विदेशमा विविध कारण मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ। १७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ। विदेशमा मृत्यु भएका ४९४ जनाको मध्ये अझै ७६ जनाको शव ल्याउन बाँकी छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट