हाम्रो सिस्टम हामीलाई न्याय दिने कुरामा चुकिरहेको छ : केकी अधिकारी-Sutra News

हाम्रो सिस्टम हामीलाई न्याय दिने कुरामा चुकिरहेको छ : केकी अधिकारी

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

महिला हिंसालाई लिएर तयार गरिएको ‘बदला बरिलै’ गीतमा गरेको अभिनयका कारण अभिनेत्री केकी अधिकारी अहिले प्रशंसा बटुलिरहेकी छन् । उनलाई सधैँ यस्ता गीतमार्फत् आफू कसरी महिला हिंसाविरुद्ध आवाज बनुँ भन्ने लागिरहन्थ्यो । ७ दिनदेखि लगातार युट्युब ट्रेन्डिङको १ नम्बरमा रहेको यो गीतबाट पाएको प्रतिक्रियाबाट उनी अहिले औधी खुसी छन् । यो गीतलाई हाम्रो समाजसँग जोडेर सूत्रन्यूजका लागि निशा बजगाईले केही प्रश्न गरेकी छन्, अन्तर्वार्ताको सम्पादित अंश पढ्नुहोस् :



कसरी बित्यो तपाईंको लकडाउन ?

लकडाउन कसैका लागि फलदायी त हुनै सक्दैन। यसले धेरै समस्याहरु लिएर आयो। यसको सकरात्मक पक्ष हेर्दा यसले चिन्तनशील हुन भने समय दिएजस्तो लाग्छ। फेरि घोरिएर कुनै कुरामा विचार गर्ने, आफैँले गरिरहेको कामलाई विचार गर्न, नियालेर हेर्न, के ठीक थियो, के बेठिक थियो भन्ने थाहा पाउने हामीले समय पायौँजस्तो लाग्छ। एकदमै गतिशिल भएर दौडिरहेको हाम्रो जीवनमा ‘ट्रान्जिट’ पायौँजस्तो लाग्छ। जहाँ तपाईँले आराम महसुस गर्न सक्नुभयो। सँगसँगै पछि आउने र हिजो बितेको कुरालाई सम्झन र सोच्न पाउनुभयो। 

मलाई त परिवारसँग पुनःमिलन भएजस्तो लाग्यो। प्रायः कामको शिलशिलामा घरपरिवारसँग समय बिताउने मौका नै मिल्दैन थियो। झन् अघिल्लो वर्ष त कमेडी च्याम्पियन, फिल्मलगायतका कुराले निकै व्यस्त बनाएको थियो। आफ्नो पनि ख्याल गर्न नपाउनेजस्तै भएको थियो समय। शारीरिक र मानसिकरुपमा आफूलाई व्यवस्थापन गर्न नसकेको जस्तो लागेको थियो। तर, यो लकडाउनले मलाई व्यक्तिगतरुपमा आफूसँग बिताउने समय दियो।

लामो समय आराम गर्नुपर्दा सुटिङ सेट त पक्कै मिस गर्नुभयो होला?

लकडाउनको एक दिन अगाडि म ‘परदेशी २’ को सुटिङका लागि पोखरामा थिएँ। काठमाडौं आएको भोलिपल्टदेखि नै लकडाउन सुरु भयो। काम अझै बाँकी नै राखेर हामी फर्किएर आएका थियौं। काम यति ‘मिस’ होला भन्ने लागेको थिएन। अघिल्लो दिनसम्म काम गरेकाले दुई-तीन महिना त आफू पढेर, हेर्न मन लागेका कुराहरु हेरेर, अत्यधिक मन परेको सिनेमा फेरि हेरेर समय बिताउछु भन्ने मेरो सोच १५-२० दिनसम्म मात्रै रह्यो। त्यसपछि मैले कामलाई एकदमै याद गर्न थालेँ।

१०-११ वर्षयतादेखि घरभन्दा धेरै सेटमा समय बिताइरहेकी थिएँ। त्यहाँको परिवार आफ्नो नजिकजस्तो लाग्थ्यो। जो व्यक्तिसँग समय बढी बिताइन्छ, उनीहरुसँग नजिक भइन्छ। सेट मेरो लागि खुला ठाउँजस्तो थियो, जहाँ म विभिन्न कुरामा बहस गर्थें, आफूलाई लागेको कुरा राख्थेँ। माया पनि त्यहीँ देखाउने, रिस पनि त्यहीँ देखाउने गर्थें। मेरो पहिलो परिवारजस्तो थियो सेट। लकडाउनको समयमा मैले त्यही सेटलाई मिस गरेँ। घरमा थिएँ, तर एकप्रकारको ‘होम सिकनेस’जस्तो महसुस गरेँ मैले।

दुर्व्यवहार भन्ने कुरा तपाईँलाई कसैले सेक्सुअल्ली वा भर्बल्ली गर्नुपर्छ भन्ने मात्रै होइनजस्तो लाग्छ मलाई। हाम्रो जस्तो परिपाटी छ, यहाँ महिलाहरु आफ्नो जीवनकालमा कुनै न कुनै रुपमा दुर्व्यवहारको शिकार भएको महसुस गरेका हुन्छन्। बाटोमा हिँड्दादेखि आफ्नो कार्यलयमा जतासुकै होस् कुनै न कुनै किसिमको दुर्व्यवहार महसुस भएको हुन्छ।

काम नहुँदा आर्थिक हिसाबले पनि समस्या भयो होला?

अवश्य भयो। कमेडी च्याम्पियनको फिनाले सकेकामात्रै थियौं। खर्च एकहिसाबले त उठ्यो तर, वर्ल्ड टुर, नेपाल टुरलगायत विभिन्न शोहरु हुने बेला यस्तो विपद् आइपुग्यो। एकहिसाबले भन्दा यो कमाउने बेला थियो। हाम्रो विजेताहरुले जितेपछि उनीहरुलाई दिनुपर्ने कामहरु सबै कोरोनाको कारणले रोकियो। समय यति बलवान हुँदो रहेछ कि हामीले सबै तयारी गरिसकेको समयमा पनि कोरोनाका कारण गर्न सकिएन।

त्यसैले पनि आर्थिकरुपमा एकदमै ठूलो घाटा बेहोर्नुपर्‍यो। सुटिङ पनि भएन। आफूले तिर्नुपर्ने ठाउँमा त तिरिनै हालिएको थियो, तर आम्दानी भने भएन।

मानसिक रुपमा कत्तिको असर गर्यो नि?

अलिअलि गरिरहेको थियो। बीचबीचमा केही गाह्रो भएजस्तो महसुस भइरहेको थियो। अलिकति ऐठन भएजस्तो पनि हुन्थ्यो। काम गरिरहेको बानी, काम गर्न नपाउँदाको अवस्था छँदैछ। त्यसमाथि, आर्थिक कुरा छँदै थियो। अब कहाँ पुगिन्छ भन्ने सोचले केही दिनसम्म एकदमै गाँज्यो।

त्यसपछि, मलाई यसरी हुँदैन भन्ने लाग्यो। मैले ध्यान, योग गरेर आफूलाई ठीक बनाउनतिर लागेँ। यो समस्याबाट संसार नै गुज्रिरहेको छ। हाम्रोभन्दा कैयौं ज्यादा लगानी भएको चीजहरु डुबानमा परेको छ।

त्यसैले, यो समय भनेको मानिसिक र शारीरिकरुपमा आफूलाई फिट राख्ने समय हो। जब सबै कुरा नर्मल हुन्छ, तब आफू पनि काममा फर्किन सकुँ। होइन भने, आफू ठीक नुहुँदा नर्मल अवस्थामा पनि काम गर्न सकिँदैन र त्यसले झन् धेरै समस्या उत्पन्न गराउँछ। त्यसैले मैले आफूलाई ‘कन्भिन्स्ड’ गरेँ र त्यसमा काम पनि गरेँ। मलाई लाग्छ, आफूलाई मैले सबै पक्षबाट स्वस्थ राख्न सकेँ।

अहिले चर्चामा रहेको ‘बदला बरिलै’को कुरा गरौं। गीतको भिडियो कन्सेप्ट सुनाइसकेपछि तपाईँको दिमागमा के कुरा खेल्यो?

पहिलो कुरा त मलाई कामको एकदम याद आइरहेको थियो। काम गर्न पाउँछु भन्ने उत्साह नै बेग्लै भयो। किनभने लकडाउन पछि एक–दुईवटा भन्दा बाहेक अन्य काम गर्न पाएको थिइनँ। सुटिङ सेट मिस भइरहेको मान्छेलाई राम्रो कामको अवसर आउँदा खुसी नहुने कुरै भएन। त्यसैले मलाई जब यो गीतको अफर आयो, तिर्खाएको मान्छेलाई पानी ल्याइदिएर यो जग नै तिमी राख्न सक्छौं भनेर सुनौलो कुरा दिएजस्तो लाग्यो। चलचित्रभन्दा कम थिएन, यो गीतको भिडियो। जुन मुद्दा यो गीत र भिडियोले उठाएको थियो, त्यसमा म सधैं आफू कसरी आवाज बन्न सक्छु भन्ने लागिरहन्थ्यो। दृश्यको भाषाबाट त्यसलाई देखाउदा झन् बढी यसले प्रभाव पार्छ। त्यो काम मैले गर्न पाएँ। सञ्चित रहेको शक्तिलाई काममा देखाउन पाएँ।

बलात्कृत युवतीको पात्र निर्वाह गर्ने कथा सुनाउँदाचाहिँ के सोच्नुभयो?

इमान्दार भएरभन्दा यो कथा एकदम दुःखपूर्ण थियो। जब प्रकाशजीले यो कुरा सुनाइरहनुभएको थियो, उहाँ आफैँ निकै दुःखी सुनिनुभएको थियो। यस्तो चीजमा कथै भन्नु नपरे हुन्थ्यो नि, मिथक भए हुन्थ्यो नि भन्ने लागेको थियो, तर यो यर्थाथको रुपमा रहेको छ। हामीले खेलेको भिडियो कसै न कसैको जीवन र यर्थाथ कथासँग नजिक छ। हाम्रै समाजमा भइरहेको घट्ना, दुर्घटनालाई यसले देखाएको छ। जघन्य अपराधलाई यसले देखाएको छ।

त्यसैले, यो चीजमा हामी सिर्जनात्मक रुपमा अगाडि बढ्दा यसले उत्साहको साथसाथै दुःख पनि लागिरहेको थियो। एउटा सर्जकलाई, एउटा प्रस्तोतालाई, कलाकारलाई यसले दुःख महसुस गराउँछ नै। म पीडित नभए पनि म आफैंले त्यो चीज स्वतः महसुस नगरेको कारण म साँच्चै त्यो प्रस्तुतीलाई, त्यो दुःखलाई देखाउन सक्छु कि सक्दिनँ भन्ने एउटा चुनौती पनि थियो मेरो सामुन्ने।

र, त्यो पात्रअनुसार हुनुपर्ने गुण पनि चुनौतीपूर्ण थियो। गीतमा मैले निर्वाह गरेको किशोरीको उमेरलाई मेरो उमेरले पार गरिसकेको छ। आँखाभरि सपनाबाहेक केही नभएको अनुहारको त्यो अबोधपनलाई मैले आफूमा उतार्नु थियो। त्यो कुराको मलाई चुनौती महसुस भएको थियो।

गीतमा देखाइएकी पात्र पनि एक कलाकार छिन्। गायन प्रतियोगितामा भाग लिइरहेकी हुन्छिन्। कला क्षेत्रकै पात्रले दुर्व्यवहार भोगेको भूमिका निर्वाह गर्दैगर्दा आफ्ना सुरुवातका दिनहरु, संघर्षका क्षणहरु कतिको याद आयो?

कलाकारिता क्षेत्रमा आफ्नो भविष्य देखेको र धेरै सपना बुनेको व्यक्तिकै भूमिका भएकाले त्यो कुरासँग मैले आफूलाई जोड्न सकेँ। तर, त्योभन्दा माथि उसलाई कसैको कारण अफ्ठ्यारोपन महसुस भइरहेको कुराले मलाई झन् गाह्रो महसुस भइरहेको थियो। मैले पनि रियालिटी शोमा भाग लिएको छु र मलाई नर्भस महसुस भइरहेको छ भन्ने कुराभन्दा पनि असहजतालाई बढी प्रस्तुत गर्नुपर्ने थियो। म आफू पनि रियालिटि शोबाट आएकाले त्यो कुराले झन मलाई छुनुपर्ने थियो।

तर, त्योभन्दा बढी एउटा किशोर अवस्थाको केटी जसलाई यो समाजले अलिकति असहज बनाइरहेको, जो व्यक्ति शक्तिमा छ उसले असहज बनाइरहेको छ, त्यो कुराले मलाई बढी छोइरहेको थियो आफ्नो संघर्षसँगै यो कुरा अलि बढी सम्झिरहेको थिएँ।

गीतले भूतप्रेत र भगवानप्रति विश्वास राखेको देखिन्छ। बलात्कृत युवतीले पीडकसँग बदला लिन पनि भूत नै बन्नुपरेको छ। यस्तो किन?

 

तीजको छेको पारेर यो गीत सार्वजनिक गरिएको छ। तीजमा महिला, छोरी चेलीले लोकलयमा आफ्ना बेदनाहरु पोख्छन्। यो गीत पनि लोकलयमा नै रहेको छ।

लोकगीत भनेपछि त्यसमा मिथकहरु जोडिन्छन्। कुनै व्यक्ति यो संसारबाट आफ्नो इच्छा पूरा नगरी मर्यो भने उसको आत्मा भड्किन्छ र त्यसले आफ्नो बदला लिन्छ भन्ने मिथक छ। त्यही मिथकलाई हामीले बलात्कारको कुरासँग जोडेर हामीले गलत कुरालाई सजाय हुन्छ भन्ने प्रस्तुत गरेका हौं। कुनै गलत कुरा गरेर शक्तिको बलमा हामी छुट्न सक्छौं भन्ने सोच्नु गलत हो किनभने यो ब्रहमाण्डको अर्को कानुन पनि छ, जसबाट गलत गर्नेले सजाय पाउँछ नै। यो मिथकमा आधारित रहेर हामीले गीतलाई प्रस्तुत गरेका हौं।

गीतले ‘पाप धुरीबाट कराउँछ’ भने मान्यतामा विश्वास राखेको देखिन्छ। हाम्रो देशको न्याय प्रणालीमा विश्वास नभएर हो?

117540149_293143581946136_6985032633705576248_n.jpg

अपराधिक सोच आउने व्यक्तिमा यो भिडियोले एउटा तरंग ल्याइदिओस् भन्ने चाहना हो। यस्ता गलत काम गरिसकेका र गर्नसक्ने मानिसलाई यो भिडियोले एउटा डर पैदा गराओस् भन्ने काम हामीले देखाउन चाहेका हौं। ब्रहमाण्ड वा प्रकृतिले कुनै न कुनैरुपमा आफूलाई सजाय दिन्छ भन्ने महसुस होस् भन्ने देखाउन खोजेको हौँ। कुनै शंकै छैन, हाम्रो सिस्टम हामीलाई न्याय दिने कुरामा चुकिरहेको छ। पीडितको परिवारले न्याय पाउनको लागि यहाँ आफ्नो जिन्दगी नै त्याग्नु परेको छ। जिन्दगीभर त्यो चोट लिनुपरेको छ। यो कुरालाई हामीले भिडियोमा देखाएका हौं।

तर, यसको अर्थ हाम्रो न्यायलय कामै नलाग्ने छ भन्ने होइन्। हाम्रो आदर छ, न्यायलयप्रति। त्यो हुँदाहुँदै पनि चित्त दुखाईका घट्नाहरु घटेका छन्। ती नहुन भन्ने हाम्रो चाहना हो।

गीतमा देखाइजस्तो बलात्कारका घटना हाम्रो समाजका यथार्थ हुन्। तपाईँको नजरमा यस्तो घटना घट्नुमा एउटा व्यक्तिमात्रै दोषी हुन्छ कि समाज पनि?

संसार वा समाजमा भएका सबै व्यक्ति दोषी हुँदैनन् हाम्रो सामाजिक संरचना, हाम्रो सिस्टम त्यो सबै कुरा हामीले भिडियोमा देखाएका छौं। र, हामीले सबै चीज नै भ्रष्ट दिमाग भएका वा गलत सोच राख्ने भएका छन् भन्ने देखाएमा त्यो गलत हुनजान्छ। समाजमा राम्रा पनि व्यक्ति छन्।

तर, समाजमा यस्ता व्यक्ति पनि छन्, जो शक्तिको आडमा गलत काम गरिरहेका हुन्छन्। अपराधिक काम गरिरहेका हुन्छन्। यसकारण अबोध व्यक्तिहरु कसरी पीडित भइरहेका छन् भन्ने कुरा हो। भिडियोमा देखाइएका पात्र प्रतिनिधि पात्रहरुमात्रै हुन्।

यस्तो बेलामा कसैलाई साथ दिएर बोल्दा आफ्नो करिअर सकिने हो कि? डामाडोल हुने हो कि? घरमा खाना नपाक्ने हो कि? भन्ने कुरा आउँछ।

पछिल्लो समय महिला हिंसाका कुराहरु बढिरहेका छन्। आवाज पनि उठिरहेको छ। फिल्म क्षेत्रका कुराहरु पनि आइरहेका छन्। पछिल्लो समय नेपाली अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले पनि आफ्नो कुरा राख्नु भयो। यस्तो बेला को सही वा को गलत भन्ने त्यही क्षेत्रको मान्छेलाई थाहा हुन्छ। तर, कोही बोलेको सुनिँदैन। यस्तो किन हुन्छ?

नबोल्नुको धेरै कारण छन् जस्तो लाग्छ। जुन विषयले कानुनी रुप लिएको हुन्छ, जसलाई कानुनले हेरिरहेको हुन्छ, त्यस विषयमा बोल्दा न्यायलयलाई कुनैरुपमा प्रभावित गर्न खोजिएजस्तो देखिन्छ। त्यसको कानुनी परिणाम के आउँछ त्यही कुर्नुमात्रै एउटा बाटो रहन्छ। कानुनी प्रकरणमा जानुभन्दा अगाडि किन आवाज उठेन भन्ने कुरा पनि आउँछ।

हाम्रो क्षेत्रमा मानिस संघर्ष गरिरहेको हुन्छ। घरमा एउटा कुरा चलिरहेको हुन्छ, करिअरमा एउटा कुरा चलिरहेको हुन्छ। यस्तो बेलामा कसैलाई साथ दिएर बोल्दा आफ्नो करिअर सकिने हो कि? डामाडोल हुने हो कि? घरमा खाना नपाक्ने हो कि? भन्ने कुरा आउँछ। जुनरुपमा परिवारलाई कन्भिन्स गरेर यो क्षेत्रमा आएको थिएँ, त्यो नै गलत हुने हो कि भन्ने हुन्छ। परिवारले यो क्षेत्रलाई नै गलतरुपमा बुझ्नु होला भन्ने हुन्छ। औंला उठाउने हो कि भन्ने कुरा आउँछ।

यस्ता कारणहरुले बोल्ने वातावरण असहज भएको हुनसक्छ। यो भएको पनि हो। अहिले जो जसले बोलिरहनुभएको छ, त्यो निकै साहसी काम हो। हाम्रो साथ पनि छ। सामाजिक सञ्जालमा हामीले भित्रभित्र सहयोग पनि गरिरहेका हुन्छौं, त्यसले उनीहरुलाई साथ दिइरहेको हुन्छ।

गलत होस् वा सही तर आवाज उठाउने बाटो हुनुपर्छ। यो कुराले नयाँ आउने पुस्तालाई आवाज उठाउने बाटो बनिरहेको छ।

वैचारिक नायिकाको रुपमा तपाईंलाई हेरिन्छ। तर, जसरी नयाँ कलाकार आउनुहुन्छ भन्नुभयो, उनीहरुले आवाज उठाउने ठाउँ त देख्लान्। तर, साथ नदिने पनि देख्छन् नि होइन् र?

जसको लडाइँ हो, त्यो उसले नै लड्नुपर्ने हुन्छ। जुनसुकै किसिमको लडाइँ होस् । अरुले साथ दिए पनि त्यो एक्लैको लडाइँ हो। जसरी तपाईंले यो क्षेत्रको कुरा गर्नुभयो, यसको जवाफ नेपाली समाजमा महिलाको स्थान कहाँ छ भन्ने नै जवाफ हो। पुरुषको तुलनामा महिलाको स्थान कहाँ छ भन्ने कुरा हो। सिनेमा क्षेत्रमा कमसेकम यो आवाज देखिन्छ। साथ दिने र साथ नदिने पनि देखिन्छन्। तर, यसलाई राम्रोसँग लिएर आवाज उठाउनुपर्छ। आवाज उठाएपछि कमसेकम यो क्षेत्रमा हल्ला फैलिन्छ।

व्यक्तिगत रुपमा तपाईं आफूले कुनै दुर्व्यवहार भोग्नुपरेको छ?

दुर्व्यवहार भन्ने कुरा तपाईँलाई कसैले सेक्सुअल्ली वा भर्बल्ली गर्नुपर्छ भन्ने मात्रै होइनजस्तो लाग्छ मलाई। हाम्रो जस्तो परिपाटी छ, यहाँ महिलाहरु आफ्नो जीवनकालमा कुनै न कुनै रुपमा दुर्व्यवहारको शिकार भएको महसुस गरेका हुन्छन्। बाटोमा हिँड्दादेखि आफ्नो कार्यलयमा जतासुकै होस् कुनै न कुनै किसिमको दुर्व्यवहार महसुस भएको हुन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट