काठमाडौं–सरकारले मास्क प्रयोग नगर्ने तीन लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ। फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छोड्नाका साथै जरिवनासमेत गरेको हो।
अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने सात हजार ६ सय सवारी साधन र करीब १९ हजार चार सय यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको गृह मन्त्रालयका प्रवक्ता, सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए।
यस्तै तोकिएको निर्देशन विपरीत हालसम्म सवारी चलाउने करीब एक लाख ३७ हजार दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनलाई होल्ड गर्नाका साथै जोरबिजोर प्रणाली नमान्ने पाँच हजार तीन सय सवारी साधनलाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले कोभिड–१९ को बढ्दो संक्रमण नियन्त्रणका लागि जारी निर्देशनको कडाइपूर्वक कारबाही गर्ने कार्य निरन्तर जारी रहेको जनाएको छ। सरकारले कोभिड–१९ नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रहसमेत गरेको छ।
गृह मन्त्रालयले यातायातमा जोरबिजोर प्रणालीको पालना गर्ने, अनिवार्यरुपमा माक्सको प्रयोग गर्नेलगायत निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन सबैलाई निर्देशनसमेत दिएको छ।