ललितपुर- नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले अझसम्म नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र जानकारी लिन सकेको छैन। ‘ग्राउण्ड स्टेश’न अर्थात् सूचना प्रवाह गर्ने माध्यम नेपालमै पहिलो पटक निर्माण गरिए पनि नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या हुँदा हालसम्म यसले आफ्नै कार्यालयबाट जानकारी लिन नसकेको हो।
नाष्टले भूटान, जापान, बङ्गलादेश आदिको भूउपग्रहसँग दैनिक समन्वय गरी सूचना र तस्बिर लिने काम गरिरहेको छ। तर, आवश्यक प्रविधिको अभावमा कारण नेपालले तस्बिर प्राप्त गर्न नसकेको नाष्टका अधिकारीहरु बताउँछन्। उनीहरु भन्छन्, ‘उचित रेडियोको अभावमा आफ्नै सूचना प्रवाह गर्ने माध्यमबाट भू–उपग्रहको सूचना र तस्बिर लिन ढिलाइ भएको हो।’
पुरानै प्रविधि आवश्यक
नाष्टको प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालका अनुसार, आवश्यक पर्ने रेडियो उपकरण अफ्रिकीबाहेक अन्य मुलुकमा छैनन्। ‘आवश्यक पर्ने रेडियो खरिद प्रक्रियामा हामी लागिरहेका छौँ। साथै नेपाली स्याट–१’ बाट प्रवाह हुने सम्पूर्ण जानकारी हासिल गर्न सदस्य देशहरुसँग समन्वय गरी अघि बढिरहेका छौँ,’ ढकाल भन्छन्।
नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलका अनुसार, नाष्ट कार्यालयमा हालः भएको रेडियोले सूचना प्रवाह गर्दैन। ‘रेडियो सङ्केतमा फ्रिक्वेन्सी म्याचिङ भएको छैन, म्याचिङका लागि पुरानो ढाँचाको रेडियो आवश्यक छ,’ ढुङ्गानाले भने, ‘तर पुरानो ढाँचाको रेडियो उपकरण निर्माण बन्द भएकाले समस्या सिर्जना भएको छ।’
भू–उपग्रह सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ। यसको आयु तीन महीनादेखि तीन वर्षसम्मको हुने बताइएको छ। नाष्टका वैज्ञानिकहरुका अनुसार, यहाँस्थित ग्राउण्ड स्टेशनबाट सङ्कलन गरिने तस्बिर व्यावसायिक काममा त्यति प्रयोग गर्न मिल्ने खालेको भने हुने छैन।
‘नेपाली स्याट–१’ ले केही समयअघि जापानबाट पहिलोपटक सूर्य र पृथ्वीका साथै चीन र भारत सीमा क्षेत्रको समेत तस्बिर पनि कैद गरिसकेको बताइएको थियो। अमेरिकास्थित भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट १५ महिनाअघि ‘नेपाली स्याट–१’ का साथै श्रीलङ्काको भूउपग्रह ‘रावण–१’ र जापानको भू–उपग्रह ‘युवुसु’ पनि एकैसाथ प्रक्षेपण गरिएको थियो। ती भू–उपग्रह पृथ्वीबाट ४०० किलोमिटर माथि अन्तरिक्षमा रहेका छन्।
नेपालीस्याट–१ भू–उपग्रहबाट हरेक जानकारी हासिल गर्न पाँच मेगा पिक्सलको क्यामेरा जडान गरिएको छ। नेपाल सरकारले सन् २०१७ देखि उक्त भू–उपग्रह निर्माणको योजना अघि बढाएको थियो।
विसं २०७६ वैशाख ४ गते प्रक्षेपण गरिएको सो नेपाली स्याट–१ ले करिब दुई महिनापछि असार २ गतेदेखि पृथ्वीको परिक्रमा सुरु गरेको थियो। पृथ्वीको परिक्रमा गर्नुपूर्व सो भूउपग्रह डेढ महिनासम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रह्यो।
उक्त भूउपग्रह पहिलोपटक पृथ्वीमा छाडिएको दिन नाष्टको श्रोतागण कक्षमा जापानबाट जापानी अन्तरिक्ष अन्वेषण संस्था (जाक्सा)ले प्रत्यक्ष प्रसारण गरेको थियो। सो दिन नाष्टमा प्रत्यक्ष प्रसारण गराउन जाक्साका केही विज्ञ पनि नेपाल आएका थिए।
नेपालीले बनाएको भू–उपग्रह
सो भू–उपग्रहको निर्माणका लागि संयुक्त राष्ट्रसङ्घले स्पेस टेक्नोलोजी इञ्जिनियरिङमा विद्यावारिधि गरेका आभाष मास्के र नेपालको इलेक्ट्रिकल तथा कम्युनिकेशन इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठलाई जापानको ‘वर्ड–थ्री’ परियोजनाअन्तर्गत छात्रवृत्तिसहित विभिन्न व्यवस्थापनमा सहयोग गरेको थियो। ‘नेपाली स्याट–१’ नामक भू–उपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीक चिह्न अङ्कित छ।
सो भू–उपग्रह प्रक्षेपण भएपछि पहिलो चरणमा भूटान र त्यसपछि नेपाललाई जानकारी दिइएको नाष्टका अन्तरिक्षयान प्रविधि (एरोस्पेस) इञ्जिनियर मिलनकुमार न्यौपानेले जानकारी दिए। तीनवटै भू–उपग्रह २० मिनेटको अन्तरमा नेपाल, श्रीलङ्का र जापान गरी क्रमैसँगै प्रक्षेपण भएका थिए। एक किलो ३०० ग्राम तौल तथा एक हजार घनत्व आकार भएको भू–उपग्रहमा छ वटा ब्याट्री जडान गरी सूर्यको तापबाट चल्ने बनाइएको छ।
वास्तवमा एउटा भूउपग्रहले सबै काम गर्न सक्छ तर नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू–उपग्रह ‘न्यानो’ स्याटलाइट भएकाले यसबाट वातावरण परिवर्तन, सहरी क्षेत्रको व्यवस्थापन, शैक्षिक अध्ययनन र अनुसन्धानमा मात्र जोड पुग्ने देखिन्छ। नेपाली वैज्ञानिकका अनुसार ‘नेपाली स्याट–१’ले एक पटक पृथ्वीको परिक्रमा गर्न ९० मिनेट लगाउँछ। लगभग ४० हजार भू–उपग्रहले मात्र पूरै पृथ्वीको परीक्षण गर्ने सामर्थ्य राख्छन्।
भू–उपग्रह सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ। यसको आयु तीन महीनादेखि तीन वर्षसम्मको हुने बताइएको छ। नाष्टका वैज्ञानिकहरुका अनुसार, यहाँस्थित ग्राउण्ड स्टेशनबाट सङ्कलन गरिने तस्बिर व्यावसायिक काममा त्यति प्रयोग गर्न मिल्ने खालेको भने हुने छैन।